कनकाईको प्राथमिकता कृषिमा

झापाको कनकाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ । आज यहाँ आयोजित ‘स्थानीय आवश्यकता र बजेटको प्राथमिकता’ विषयक साक्षात्कार कार्यक्रममा नगरले अन्य क्षेत्रको तुलनामा सबैभन्दा बढी बजेट कृषि क्षेत्रमा छुट्याएको नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो ।

“यो वर्ष पूर्वाधार विकासमा कम बजेट छुट्याएका छौँ”, उहाँले भन्नुभयो, “कृषि उत्पादनमा नगरलाई आत्मनिर्भर बनाउने योजना छ ।” नगरपालिकाले आगामी आवका लागि रू दुई करोड ५० लाख बजेट विनियोजन गरेको छ । कृषि पकेट क्षेत्र, कृषि औजार, मल बीउ व्यवस्थापन, चक्लाबन्दी खेती, अर्गानिक खेती, पशुपक्षी, सामूहिक खेतीलगायत कार्यक्रममा उक्त रकम खर्च हुने जनाइएको छ ।

नगरप्रमुख पोखरेलले आगामी पाँच वर्षभित्र नगर क्षेत्रमा रहेका विपन्नको घर निर्माण गर्ने योजना रहेको सुनाउनुभयो । “जसको जमिन छ, तर सुरक्षित घर छैन, उनीहरुको घर बनाउने योजना छ”, उहाँले भन्नुभयो, “मेयर आवास कार्यक्रमअन्तर्गत काम भइरहेको छ ।”

नगरको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रमा बजेट छुट्याइए पनि कृषिमा बढी बजेट छुट्याइएको नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले बताउनुभयो । “कृषिका माध्यमबाट रोजगारी सिर्जना गरेर विदेशिइरहेका युवालाई स्वदेशमै टिकाउने हाम्रो मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो, “त्यसकारण पनि कृषिलाई प्राथमिकता दिइएको हो ।”

नगरका नौवटै वडालाई सिलिङ बजेट दिइएकाले वडाको प्राथमिकताका आधारमा वडागत बजेट बाँडफाँट हुने उहाँको भनाइ छ । हालको बजेट अनुमानित मात्र भएकाले सुधारका पक्षलाई आत्मसात् गरेर कार्यान्वयनमा लगिने जनाइएको छ ।

कार्यक्रममा नगरका आवश्यकता, समस्या र आगामी योजानाका बारेमा चर्चा गरियो । कार्यक्रममा नगरमा सरोकार राख्ने विभिन्न १६ वटा बुँदामा प्रश्न राखिएको थियो । कार्यक्रममा नगरपालिकका जनप्रतिनिधिले आफ्ना भावि योजनाका बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा महिला सदस्य अरुणा सुब्बाले महिला सवलीकरण र सीप विकासको क्षेत्रमा काम गरिने बताउनुभयो । त्यस्तै, वडाध्यक्ष सुशीलकुमार पोखरेलले सामाजिक विकासका लागि वडाले विशेष कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । जिल्ला समन्वय सदस्य सन्तोष शोरेनले धनी र गरीबको बीचमा रहेको असमान शिक्षाको खाडल अन्त्य गर्न नगरपालिका लाग्नुपर्नेमा जोड दिनुभयो । वडाध्यक्ष बलराम राईले पयर्टन प्रवद्र्धन र सामाजिक रुपान्तरणमा वडाको बजेट केन्द्रित हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहभागी वडाध्यक्ष युजराज चम्लागाईं, रोशन सुवेदी, दीर्घबहादुर थापा, लीलाबहादुर कटुवाल, कार्यपालिका सदस्य नवलकिशोर दत्त, महिला सदस्य निर्मला खड्का, राधाकुमारी विश्वकर्मा, सावित्रादेवी बर्देवा, कल्पना विश्वकर्मा, वडासदस्य भगन टुडू लगायतले आआफ्ना वडाका भावी योजनाका बारेमा जानकारी गराउनुभएको थियो । नगरपालिकाले अगामी आर्थिक वर्षका लागि रू ९० करोड ६१ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *