रासायनिक मल अभावबारे सरकारको ध्यानाकर्षण

सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरुले रासायनिक मलको अभावबारे किसानले भोग्दै आएका समस्या सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभाको आजको बैठकको विशेष समयमा सांसद अनिता देवकोटाले असारे बजेट सक्न अव्यवस्थित ढङ्गबाट खर्च गरिएको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो, “बजेट फ्रिज हुने बहानामा योजनामा असारमा मात्रै खर्च गर्ने जुन परिपाटी छ, त्यसले विकासको गतिलाई तीव्रता दिन सक्दैन, विकास दिगो हुन सक्दैन, आगामी वर्षमा बजेट फ्रिज हुनेबारे अब अहिलेदेखि नै सोच्नुपर्छ ।” किसानका लागि अभाव भएको मलको व्यवस्थापन गर्नुपर्ने उहाँको माग छ ।

सांसद भैरवसुन्दर श्रेष्ठले रासायनिक मलको अभावका कारण किसान चिन्तामा रहेको बताउँदै जतिसक्दो चाँडो मल व्यवस्थापनमा लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गोपीबहादुर सार्की अछामीले मोरङ जिल्लाका विभिन्न स्थानमा वर्षा र बाढीका कारण भएको क्षतिका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै अनावश्यक नदी कटानलाई रोक्न नदी ऐनको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

निजामती ऐन ल्याउन ढिला भएका कारण स्थानीय तहमा अनावश्यक कर्मचारी भर्ना गर्ने काम गरिएको भन्दै जतिसक्दो चाँडो ऐन ल्याउनुपर्ने माग गर्नुभयो ।

सांसद उदयबहादुर बोहराले सङ्घीयतालाई सबल बनाउन सङ्घले प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै देशमा बढ्दै गएको हत्या, हिंसा, महँगी, बेरोजगारीको समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

उहाँले राप्ती राजमार्गमा पटकपटक बजेटको व्यवस्था भए पनि सडक निर्माणको काम हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण
गराउनुभयो ।

सांसद शेखरकुमार सिंहले भन्नुभयो, “कृषिप्रधान मुलुकमा किसानले खेती गरिरहेको समयमा मल पाएको छैन, सरकारलाई कुनै चासो छैन ।” सरकारले एमबिबिएस कोटा घटाएको भन्दै त्यसको विरोध गर्नुभयो । जतिसक्दो चाँडो नागरिकता ऐन ल्याउनुपर्ने उहाँको भनाइ छ ।

सांसद प्रकाश पन्तले सामुदायिक क्याम्पसको सुधारका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै रोजगारमूलक शिक्षाको आवश्यकता औँल्याउनुभयो । सांसद खिमलाल देवकोटाले कास्कीस्थित फेवातालको अतिक्रमण रोक्नुपर्नेमा जोड दिनुभयो ।

सांसद भुवनबहादुर सुनारले भूमिहिन सुकुम्बासीलाई जमिनको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *