दुर्गम गाउँमा पुनको कृषि क्रान्ति

गलकोट २४ असार (रासस)ः कलिलै उमेरमा ढोरपाटन नगरपालिका–५ पाखापानीका हिमालकुमार पुनलाई आर्थिक समस्याले इराक पु¥यायो । विसं २०६४ मा एसएलसी पास गर्नुभएका उहाँको क्याम्पस पढ्ने सपना आर्थिक अभावका कारण अधुरै रह्यो । काठमाडौँमा क्याम्पस पढ्न जानुभएका पुन कमाउनका लागि इराक पुग्नुभयो । सानै उमेरमा आर्थिक समस्याका कारण इराक पुग्नुभएका उहाँलाई इराक पुगेपछि मात्रै थाहा भयो इराक नेपालीका लागि प्रतिबन्धित देश हो भनेर । दुई वर्षकालाई त्यहाँ पुग्नुभएका पुनलाई इराकले साढे सात वर्ष भुलायो । त्यहाँ काम निकै गाह्रो भए पनि अर्थोपार्जन भने राम्रै भएको उहाँको भनाइ छ ।

“पढ्ने निकै रहर थियो तर काठमाडौँको खर्च थान्नै धौ धौै भएकाले मध्यमवर्गी परिवारका कारण समस्यामा म परेँ”, पुन भन्नुहुन्छ, “कलेज पढ्ने काम अधुरै राखेर इराक हानिए, इराक गएपछि मात्रै थाहा भयो यहाँ आउन निषेध गरिएको रहेछ तर आइसकेपछि कमाउनु त प¥यो, दैनिकजसो गोला बारुदका बीचमा बल्लतल्ल बाँचेर आइयो, नेपालमा आएपछि विदेश नजाने सोचका साथ व्यावसायिक क्षेत्रमा पाइला चालेको हुँ तर जाँगर गरे युरोपमा बगाइने पसिना यही यही बगाए कमाउन सकिने रहेछ ।” एकतीस वर्षीया उहाँ इराकमा साढे सात वर्ष दुःख र ज्यानको बाजी नै लगाएर भए पनि कमाइ राम्रै भएको बताउनुहुन्छ । “इराकमा मासिक रु एक लाखदेखि एक लाख ५० हजारसम्म कमाइ थियो तर के गर्नु आफ्नै अगाडि धेरै साथीको ज्यान गयो तर आफू भने बाँचेर आइयो”, विगत समरण गर्दै पुन भन्नुहुन्छ, “विदेशबाट आएपछि आफ्नै जग्गा सदुपयोग गरेर किबी खेती गर्न थालँे त्यसलगत्तै बहुआयामिक व्यावसायिक सोचका साथ व्यवसायमा तल्लीन छु ।”

विसं २०६६ मा इराक जानुभएका पुनले इराकबाटै भाइ मानसिंहलाई बारीमा कोदो मकै मासेर किबीका बिरुवा लगाउन सुझाउनुभएको थियो । उहाँले विदेशमा निकै दुःख भएको भन्दै भाइ पुनलाई किबीखेतीतर्फ विदेशबाटै आर्कषित गराउनुभयो । भाइ मानसिंह पेसाले स्वस्थ्यकर्मी हुनुहुन्छ । उहाँको आफ्नै क्लिनिक छ । फुर्सदको समयमा मानसिंह दाइको व्यवसायमा साथ दिनुहुन्छ । विसं २०७६ मा विदेशबाट फर्केर आउँदा उहाँको साढे नौ रोपनी जग्गामा किबीका बिरुवा हुर्किरहेका थिए । तीनसय किबीका बिरुवा रु १५० का दरले खरिद गरेर मानसिँहले रोपिसक्नुुभएको थियो ।

आफू विदेशबाट फर्केर आएपछि बहुआयामिक व्यावसायिक काम गर्ने सोचका साथ अगाडि बढेको पुन बताउनुहुन्छ । विसं २०७६ बाट उहाँले स्वरोजगार बहुउद्देश्यीय कृषि तथा पशु फर्म स्थापना गरेपछि ७५ वटा बाख्रा पाल्दै आउनुभएको छ । उहाँको फर्ममा क्रस बोयर जातका बाख्रा तथा बोका छन् । पुनले मासुको उत्पादन बढाउनका लागि सबै बाख्रालाई बोयर बनाउने उद्देश्य राख्नुभएको छ । उहाँको आफ्नै १०० रोपनी जग्गा छ । तीन स्थानमा ३५ रोपनी, ४७ रोपनी र १८ रोपनी जग्गामा पुनको कृषि तथा पशुपालन हुँदै आएको छ । अठार र ३५ रोपनी जग्गा उहाँको पुख्र्यौली सम्पति हो भने ३५ रोपनी जग्गा इराकमा कमाइएको रकमले हालै खरिद गरिएको हो ।

पुनले हालै मात्र १० रोपनी जग्गामा व्यावसायिक केराखेती सुरु गर्नाका साथै व्यावसायिकरुपमा खरायो पालन र अकबरे खुर्सानी खेतीको समेत सुरुआत गर्नुभएको छ । स्थानीय जातको मुङ्ग्रे जातका ४०० केराका बोट लगाइएको र मकै तथा कोदो हुने खेतबारीमा अहिले किबी र केराखेती फष्टाउने क्रममा छ । स्वरोजगार फर्मबाट बोका र किबी बिक्री गरेर आम्दानी हुन थालेको छ । “एउटै व्यवसायबाट मनग्य आम्दानी नहुँदो रहेछ, बहुउद्देश्यीय काम गर्दा आम्दानी बढी हुने देखियो, अहिले विस्तारै किबी र बाख्रापालनबाट सफलता हासिल गर्दै आएको छु”, पुन भन्नुहुन्छ, “आफूले आफ्नो फर्मलाई प्रयोगशाला बनाउँदै आएको छु, विकट गाउँमा कृषि प्राविधिकको अभावै छ तर आफैँले परीक्षण गर्ने र सफलता पनि प्राप्त गर्ने गरेको छु ।”

जग्गा खरिद, आधुनिक बाख्रा फर्म विस्तार, किबीको थाक्रालगायतको व्यवस्थापनका लागि रु एक करोड बढी लगानी गरिसकेको उहाँ बताउनुहुन्छ । गत वर्ष पहिलोपटक चार क्विन्टल किबीको फल बिक्री गर्नुभएका उहाँको फर्ममा २५ खरायो, ५० वोट एबोकाडो र दुई रोपनी जग्गामा अकबरे खुर्सानी खेती गरिएको छ । “आगामी वर्षदेखि पूरै फर्मबाट वार्षिक रु दश लाखदेखि १२ लाख आम्दानी गर्ने लक्ष्य छ, मैले कामदार राखेकोे छैन, बुबाआमा र भाइले केही सघाएका छन्, बिहान ५ बजेदेखि बेलुकासम्म आफैँ खटेको छु, विदेशमा गर्ने दुःख सम्झँदा यहाँको दुःख केही लाग्दैन”, पुन भन्नुहुन्छ ।
नेपालमा कृषि पेसा गर्नेलाई सरकारले हेरेन भनेर बस्ने दिन गएको बताउँदै आफ्नो व्यवसयाय सञ्चालन गरे विस्तारै सहयोग आउने उहाँको विश्वास छ । कृषि ज्ञान केन्द्रबाट किबीको थाक्रोका लागि रु एक लाख ५० हजार र पशु विज्ञ केन्द्रबाट बाख्राको आधुनिक खोरका लागि रु एक लाख पाँच हजार अनुदान प्राप्त गरेको पुन बताउनुहुन्छ । चरन क्षेत्रको राम्रो सम्भावना भएकाले वर्षमा ५० देखि १०० खसी÷बोका बिक्री गर्नसके युरोप तथा अमेरिकाको कमाई गाउँमै गर्न सकिने उहाँको भनाइ छ । पुनका ८४ वर्षीय बाबा पूर्णबहादुर र आमा नरमलाले व्यवसायमा उत्तिकै साथ तथा सहयोग गर्नुभएको छ । पुनकी श्रीमती विज्ञान सङ्कायमा काठमाडौमा स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ । श्रीमतीलाई समेत आफ्नै व्यवसायमा लगाउने सोच बनाएको उहाँ बताउनुहुन्छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *