लोप भयो बेठी लगाएर रोपाइँ गर्ने चलन

म्याग्दी र यस वरपरका क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने ‘बेठी’ परम्परा लोप भएको छ ।

सहरिया नयाँ पुस्तालाई मात्र होइन, ग्रामीण भेगका कृषकका छोराछोरीका लागि समेत ‘बेठी’ शब्द नौलो बनेको छ । ग्रामीण भेगका गाउँबस्तीमा नौमती घन्काएर असारे भाका गाउँदै रोपाइँ गर्ने चलन लोप भएपछि नयाँ पुस्ता बेठी परम्पराका बारेमा अनभिज्ञ छ । तीन दशकअघिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा दोहोरीसहित बेठी लगाउँदै धान रोपाइँ गरिन्थो । तर पछिल्लो समय बेठी इतिहासमा सीमित हुन पुगेको छ ।

वर्षौँअघिदेखि चल्दै आएको बेठी रोपाइँको चलन अहिले एकादेशको कथाजस्तो भएको स्थानीयवासी बताउँछन् । पहिले नै हिलो आली सकेर तयार पारेको पर्याप्त पानी पुग्ने खेत, तयारी अवस्थाको धानको बीउ, दर्जनौँ हलगोरु, सोही अनुपातमा बाउसे, रोपाहार अनि बाजागाजाको टोली भएपछि मात्र बेठीको रौनक सुरु हुन्थ्यो । मानव जीवन र हिलो माटोबीचको सम्बन्धको प्रतीकसमेत बन्दै आएका किसानले माटोको टीका थाप्नुपर्ने बेठीमा दर्जी समुदायले बाजा बजाउने र श्रमिकले आ–आफ्नो भूमिकाअनुसारको खेतमा काम गर्नुपर्ने चलन थियो ।

नौमती बाजाको तालमा रौसिँदै, असारे गीतको भाका हाल्दै, जोतेको हिलो माटोलाई लेदो बनाउन दाँदे लाउने, हिलो सम्याउने बाउसे, कोही पानीको मात्रा मिलाउने, कोही ब्याडमा बीउ काढ्ने, कसैले गरागरामा बीउका मुठा ओसारिदिने, रोपाहारले आपसमा उछिन र पाछिन गर्दै लहर मिलाएर बीउ रोपेको दृश्य निकै रोमाञ्चक हुन्थ्यो । सिमेभूमेको पूजा, ठूलो गरामा धान धेरै फलोस् भन्ने कामनासहित भकारी बाँधेर नाचसहित आपसमा हिलो छ्यापाछ्याप गर्दा दिनभरिको सबै थकान मेटिन्थ्यो । रोपाइँ सकेपछि भोज खाने चलन रहेकाले यसलाई किसानले पछिल्लो समय पर्वका रूपमा मनाउन थालेका थिए ।

बेनी नगरपालिका–२ बगरफाँटका ९८ वर्षीय खड्गबहादुर थापाका अनुसार बेठीको दिन आफ्ना चेलीबेटीलाई समेत बोलाएर रोपाइँ गर्ने चलन थियो । अरु बेला गरिएको रोपाइँमा खेताला पर्म र बोलाइएकालाई पैसा दिनुपर्ने भए पनि बेठीमा आएकाको पर्म तिर्नु पर्दैनथ्यो । तर रोपाइँ सकिएपछि माटोको टीका र धानको बीउको फूल लगाएर रोपाहार र चेलीबेटीलाई दक्षिणास्वरुप पैसा दिने चलन थियो । विसं २०२१ मा लागू भएको भूमिसुधार कार्यक्रमपछि गाउँ समाजमा सामाजिक प्रतिष्ठाका रूपमा हुनेखाने वा गाउँका धनीमानी वा मुखियाकै प्रतिष्ठा वृद्धिको माध्यमका रूपमा चल्दै आएको बेठीप्रथा २०४६ सम्म कायमै थियो ।

मुखिया, जिमुवाल, बाबुसाहेव आदिले रोपाइँमा समाजका मानिसलाई बोलाउने गरेपछि ज्याला र अन्य सुविधाको माग हुन थाल्यो । किसानले धनीमानीको क्षणिक रमाइलोको रूपमा बेठी परम्परालाई अथ्र्याउन थाले र क्रमशः समाजबाट बेठी प्रथाको अन्त्य भएको पाइन्छ । बेठी परम्परा विगतमा जुन हिसाबले थालनी गरिए पनि लोपोन्मुख संस्कृति भएकाले यसको संरक्षण गर्नु किसानको मात्र नभएर सरकारको समेत कर्तव्य भएको सरोकारवालाको भनाइ छ । असारको अन्तिम सातासम्म पनि म्याग्दीमा खासै उत्साहपूर्वक रोपाइँ हुनसकेको छैन । पर्याप्त वर्षा नभएकाले विगतका वर्षमा असारको तेस्रो हप्तासम्म रोपीसकिने खेत अहिले भने बाँझै छन् ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *