दामनमा पाँच हजार किलो स्याउ उत्पादन

थाहा नगरपालिकास्थित दामनमा रहेको शितोष्ण बागवानी केन्द्रले स्याउको बिरुवा पनि उत्पादन गरेको छ । बागवानीमा फुजी, गाला, रेड डेलिसियस, गोल्डेन डेलिसियस स्याउको नयाँ र पुराना गरेर करिब पाँच हेक्टर जमिनमा ५७५ स्याउका बोट रहेको जनाइएको छ । बागवानी प्रमुख रवि केसीले ती बोटबाट यस वर्ष करिब पाँच हजार किलो स्याउ उत्पादन भएको बताउनुभयो ।

स्याउ उत्पादनभन्दा पनि बिरुवा उत्पादन गरेर किसानबाट स्याउको उत्पादन गराउनु लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँदमा हिमपात राम्रो भएमा उत्पादन राम्रो हुनसक्ने र हिमपात नभएमा उत्पादनमा ह्रास आउँछ । स्याउ राम्रो फलाउनका लागि थोरै जमिनमा धेरै बिरुवा लगाउने प्रविधि अपनाएर स्याउको बिरुवा रोपिएको प्रमुख केसीले बताउनुभयो ।

राम्रो उत्पादनका लागि हिमाली जिल्लाहरूमा मात्र रोप्न सकिने अथवा समुद्री सतहदेखि दुई हजारदेखि चार हजार मिटर उचाइमा हिमपात हुने स्थानमा राम्रोसँग उत्पादन दिन सक्ने उहाँले जनाउनुभयो । बागवानीले हालसम्म वार्षिक पाँच हजार स्याउको बिरुवा किसानलाई वितरण गर्नका लागि उत्पादन गर्दै आएको उहाँको भनाइ छ । स्याउलगायत अन्य फलफूलका बिरुवा उत्पादनका लागि वार्षिक रु १० लाख लागत लाग्ने प्रमुख केसीले जानकारी दिनुभयो ।

स्याउका बिरुवामा फूल खेल्ने मौसम असिना पर्ने भएकाले असिनाबाट जोगाउन जाली लगाइएको प्रमुख केसीले बताउनुभयो । स्याउ फूल खेलेपछि फल पाक्न पाँच महिना लाग्ने र फूल खेल्ने समयमा हिमपात धेरै भएमा फल राम्रो हुने उहाँले जनाउनुभयो ।

विसं २०५० देखि नै परीक्षणको लागि स्याउको बिरुवा लगाएको बताउँदै उहाँले ईटाली, साइप्रस र बेल्जियमबाट आयात गरेको उच्चतम जातका स्याउ विसं २०७३ मा बागबानीले आफ्नो बगानमा परीक्षणको निम्ति ल्याएको प्रमुख केसीले बताउनुभयो । बिरुवा लगाएको पहिलो वर्षमा नै यी जातका स्याउका बोटमा फल लागेको उहाँले जानकारी दिनुभयो । एउटा बोटमा करिब १० केजीसम्म फल फल्ने र यी जातका स्याउको बिरुवाको औसत आयु २० देखि २५ वर्षकोसम्म हुने उहाँको भनाइ रहेको छ ।

यसका अतिरिक्त सो बागबानी केन्द्रमा धेरै ब्लक बनाइ अनेकौं जातका जापानी नासपाती, आरु, हलुवाबेद, कटुस, दाँते ओखर, आरु बखडा, आरु, फुल मात्र फूल्ने आरु र किबिका बिरुवा पनि रहेको बागबानीले जनाएको छ । हाल यहाँ सो बागवानीमा अत्यधिक बिरुवाहरुको माग भइरहेको बागवानी केन्द्र दामनले जानकारी दिएको छ । किसानलाई वितरणको लागि बागबानीले करिब २० हजार जति फलफूलका बेर्ना बनाइएको बताइएको छ ।

यसबाहेक यहाँ मौसम अनुसारका कत्रिम विषादीरहित तरकारीको उत्पादन अनि शपथ दरमा बिक्रीवितरण पनि हुने गरेको बागनीले जनाएको छ । आलुको बीउ, फलफूल, तरकारी, बेर्ना बिक्रीवितरणबाट यस बागवानी फार्मले प्रत्येक वर्ष २० देखि २५ लाखसम्म राजस्व सङ्कलन गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।

समुद्री सतहदेखि सात हजार ६२० फिट उचाइमा रहेको थाहा –४ दामनमा पर्ने क्षेत्रफलका हिसाबले नेपालको सबैभन्दा ठूलो शितोष्ण बागवानी फार्म तथा नर्सरी केन्द्र (७६ हेक्टर वर्ग किमी) को स्थापना विसं २०२२ मा भएको थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *