सिद्धनाथ महादेव मन्दिर अस्तित्वको सङ्कटमा

शिवभक्तिको महिमा गाइने साउनको महिना छ । भक्तजन पुकारा गर्दैछन्, ‘हे भोलेबाबा..! हे शिवशङ्कर..! हाम्रो उद्धार गर ।’ तर महोत्तरीको भङ्गाहा नगरपालिका–५ सिद्धपुरस्थित सिद्धनाथ महादेव मन्दिर आफैँ अस्तित्वको सङ्कटमा छ । बडहरी र रातु नदीको सङ्गम (दोभान)स्थित यो प्राचीन शिवालय वर्षेनीको कटानबाट अस्तित्वको सङ्कटमा परेको हो ।

साउन लागेपछि भोलेबाबालाई गाईको दूध, पवित्र जल र बेलपत्र चढाउन पुग्नुभएकी छिमेकी बस्ती पलारकी सियानकीदेवी बाँतरले भन्नुभयो, “ खै अहिले हजुरसँग दःुखको के पुकारा गराँैं ? तपाइँ आफैं अस्तित्वको सङ्कट झेल्दै हुनुहुन्छ, आउने वर्ष यहाँ आउँदा हजुरलाई सुरक्षित देख्न पाउँ ।”

मन्दिरमा दर्शन र जलपूmल चढाउन पुग्ने भक्त अहिले आफ्नो दुःख बिर्सेर भगवान शिवकै सुरक्षाको चिन्ता गरिरहेका त्यहाँ भेटिन्छन् ।

मन्दिरमा जलपूmल चढाएर बडहरी नदीको बाढीले ढालेको मन्दिरको डिलमै उभिएर छिमेकी बस्ती मदनपट्टीकी श्रद्धालु सुशीला यादवले पनि सियानकीको जस्तै चिन्ता व्यक्त गर्नुभयो । सियानकी र सुशीलामात्र नभएर मन्दिरमा भगवान शिवलाई पवित्र जल, बेलपत्र चढाउन पुगेका सयौँ श्रद्धालु मन्दिरको डिल बाढीले झारेको देखेपछि विह्वल बन्दछन् ।

रातु र बडहरी नदीको सङ्गमस्थित यो ३०० वर्ष पहिले पत्ता लागेको मन्दिर पछिल्ला केही वर्षयता वर्सेनि दुबै नदीको बाढीले कटान गर्दै लगेपछि अब मन्दिर नै ढल्ने चिन्ताले यहाँका सर्वसाधारण चिन्तित बनेका हुन् ।

नदी किनारको २५÷३० बिघाभन्दा बढीको चउर माझमा रहेको यो मन्दिर अहिले वर्षेनिको नदी कटानले असुरक्षित बनेको छ । मन्दिर परिसरमै नदीको पानी बग्न थालेपछि अब जुनसुकै बेला मन्दिर ढल्ने वा बग्ने स्थिति बनेको सिद्धपुर बस्तीका सर्वसाधारण बताउँछन् । रातु र बडहरी नदीमा आउने बर्खे भेलले मन्दिरको उत्तर र पश्चिम डिल ढलिसकेको छ । पूर्व र दक्षिणतर्फको मन्दिर परिसरको चउर अतिक्रमण गरिएपछि अब मन्दिर सानो कोप्चोमा ठिङ्ग उभिएको देखिन्छ । नदी नियन्त्रणका लागि तटबन्ध नबन्दा र अतिक्रमण हटाउन कतैबाट पहल नहुँदा मन्दिरको बिजोग भएको नजिकैको अर्को बस्ती पलारका ७५ वर्षीय चौठी बाँतरले गुनासो गर्नुभयो ।
करिब ३०० वर्षअघि एकजना दुधारीबाबा नाउँका साधुले सपनामा पाएको सन्देसअनुसार खोजी गर्दै जाँदा घना जङ्गलबीच शिवलिङग फेला पारेर त्यसको प्रतिष्ठा गरेर सिद्धनाथ माहादेव नामाकरण गरेका यहाँका बुढापाका बताउँछन् । “दूधारीबाबाले पत्ता लगाएर प्रतिष्ठा गरेपछि यो मन्दिरमा सर्वसाधारणले पूजाआराधना सुरु गरेका हाम्रा बाजेले बताउनुभएको हो”, आपूm सानो छँदा बाजेले मन्दिरबारे बताएका कुरा सम्झदै पूर्व प्रशासक भङ्गाहा–२ सिङ्ग्याहीको बखरीटोलका ६० वर्षीय जिवछसिंह थारुले भन्नुभयो, “यो प्राचीन धार्मिक धरोहरको अहिलेको विजोग हेर्दा मन अड्याउने ठाउँ देखिन्न ।”

विगतमा वृृहत्तर जनकपुर क्षेत्र विकास परिषद, तत्कालिन जिल्ला विकास समिति र भङ्गाहा गाविस (नगरपालिका बन्नुपूर्व) ले बेलाबेलामा योजना बनाएको बताए पनि ठाउँ÷ठाउँमा बालुवा थुपार्न बाहेक केही नगरेको सिद्धपुरका बासिन्दाको गुनासो छ । हुँदाहुँदा अब त सबैतिरको बेवास्ताले मन्दिर रहने नरहने स्थितिमा पुगेको सिद्धपुरका सामाजिक कार्यकर्ता शङ्कर साहले चिन्ता व्यक्त गर्नुभयो ।

महाशिवरात्री र साउन महिनाभरि यहाँ लाग्ने धार्मिक मेलाको ठेक्का लगाएर नगरपालिकाले आम्दानी राख्ने गरेपनि टाढाटाढाबाट आउने श्रद्धालु दर्शनार्थीका लागि खानेपानी, बासस्थान (धर्मशाला) र प्राथमिक उपचारसम्मको पनि कुनै व्यवस्था नगरिएको सिद्धपुरका बासिन्दाको रोष छ । “अब त मन्दिर मात्र होइन, बडहरि नदीले सीतापुर धतियाटोल र सिद्धपुर बस्तीनै लाने डर छ, घरकै छेउमा नदी बग्न थाल्यो” भङ्गाहा–५ सीतापुरका सामाजिक, राजनीतिक कार्यकत्र्ता शोभित खत्वेले भन्नुभयो ।

यसैबीच भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले भने मन्दिर सुरक्षाका लागि वर्सेनि केहीनकेही गरिँदै आइएको बताउनुहुन्छ । तर नगरपालिकाको सीमित स्रोत साधनले दीर्घकालिन सुरक्षाका उपाय अवलम्बन भने गर्न नसकिएको उहाँको स्वीकारोक्ति छ । यसका लागि सङ्घीय र प्रादेशिक सरकारले समेत पहलकदमी लिइदिनपर्ने साहको माग छ । “कुरा त सुनैकै हाँै नि, काम भएपो भयो भन्ने बुझ्नु”, सिद्धपुरका ७० वर्षीय सोगारथ साहले भन्नुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *