बागलुङमा जडीबुटी निकासी घट्दो

बलेवा, १२ साउन (रासस) ः प्राकृतिक उत्पादनमा निर्भर रहेको बागलुङमा जडीबुटी निकासी घट्दै गएको छ । अघिल्लो वर्षको तुलनामा जडीबुटी सङ्कलन र निकासी दुवै घटेको हो । कोरोना महामारीअघि फैलाउँदै गएको जडीबुटीको सङ्कलन र निकासी पछिल्लो दुई वर्षमा घटेको पाइएको छ ।

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार बागलुङबाट विभिन्न १९ प्रजातिका जडीबुटी सङ्कलन र निकासी हुने गरेको छ । कोरोना महामारीअघि ७० हजार किलोभन्दा बढी सङ्कलन तथा निकासी भएका जडीबुटी कोरोना महामारीपछि आर्थिक वर्ष २०७७÷७८ मा ६३ हजार पाँच किलो मात्रै सङ्कलन भएको थियो । उक्त जडीबुटीबाट डिभिजन वन कार्यालयले रु चार लाख ८७ हजार दुई सय ९० राजस्व सङ्कलन गरेको थियो ।

आव २०७८÷७९ मा त्यो सङ्ख्या अझै घटेको छ । बितेको एक वर्षमा ४५ हजार एक सय ५४ किलो मात्रै जडीबुटी सङ्कलन भएको छ । डिभिजन कार्यालयका अनुसार यो अवधिमा रु चार लाख ५४ हजार राजस्व सङ्कलन भएको छ । “सङ्कलन भएर राजस्व बुझाएका सबै जडीबुटी निकासी नै हुन्छन् भन्ने छैन, तर सरकारी वन र सामुदायिक वनबाट सङ्कलन हुने परिणाम पनि कोरोना महामारीपछि घटेको छ”, डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले भन्नुभयो, “प्राकृतिक उत्पादनमा भर परिएको छ, व्यावसायिक उत्पादन बागलुङमा छैन ।”

बागलुङमा सरकारद्वारा व्यवस्थित गरिएका वन क्षेत्र र सामुदायिक वन क्षेत्रबाट उक्त परिणाममा जडीबुटी सङ्कलन हुने गरेका छन् । यहाँ वन तथा पाखामा पाईने जडीबुटीको कारोवारमा निकै कम जनशक्ति प्रयोगमा आउने गरेका थिए । सर्वसाधारणलाई जडीबुटीको विषयमा जानकारी कम हुनु, उत्पादन बढाउन नसकिनु र प्राकृतिक उत्पादनमा मात्रै भर पर्नुपरेका कारण उत्पादनमै गिरावट आएको अधिकारीले बतातउनुभयो ।

“राजस्वको अङ्क हेर्दा धेरै फरक परेको नदेखिए पनि उत्पादन अङ्क निकै घटेको छ” अधिकारी भन्नुहुन्छ, “केही जडीबुटीको राजस्व बढी तिर्नुपर्ने भएकाले धेरै फरक नपरेको देखिएको हो ।” चोरी बाटोबाट निकासी भएको जडीबुटीको विषयमा भने सम्बन्धित निकाय बेखबर छन् । बागलुङबाट गत आवमा सेतो चिनी नौ हजार पाँच सय किलो, रातो च्याउ नौ सय ९० किलो, सुगन्धावाल एक हजार ३० किलो, पाषणवेद चार हजार चार सय किलो र ठुलो ओखती एक हजार तीन सय २० किलो निकासी भएको छ ।

त्यस्तै अल्लो, काकोली, चुल्ठे अमिलो, चिराइतो, कालोमुसली, पानी अमला, सिस्नो जरा, सुगन्धकोकिला, सतुवा, बोझो, नागबेली पाउडर, चुत्रो र वन लसुन सङ्कलन तथा निर्यात हुने गरेको सहायक डिभिजन वन अधिकृत मदन कँडेलले बताउनुभयो । सरकारले बागलुङमा गत आवमा मात्रै जडीबुटी विकास कार्यक्रमका लागि रु २२ लाख बजेट विनियोजन गरेको थियो । त्योमध्ये रु आठ लाख मात्रै खर्च भएको छ । व्यावसायिक जडीबुटी उत्पादनका लागि सर्वसाधारणको चासो कम रहेको, वनमा प्राकृतिक रुपमा पाइने जडीबुटी चोरी निकासी हुने र भइरहेको जडीबुटी अधिक प्रयोगले मासिने गरेका कारण वार्षिक उत्पादन घटेको हो ।

बागलुङमा जडीबुटीको भण्डारकै रुपमा रहेको ढोरपाटन शिकार आरक्षलाई प्रयोगमा ल्याउन नसकिएको सरोकारवाला बताउँछन् । यहाँ बर्सेनि सङ्कलन गरेर निकासी गर्न सकिने जडीबुटी खेर गइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो । “हामीलाई कुनै पनि कानुनी अधिकार दिएको छैन, आरक्षभित्र भएका सबै जडीबुटी संरक्षित छन्”, कँडेलले भन्नुभयो, “हामीले चार पाँचवटा जडीबुटी सङ्कलन र निकासीको प्रबन्ध गर्नुपर्छ भनेका छौँ, तर कानुनी बाटो बन्द छ ।”

आरक्ष क्षेत्रका जडीबुटी सङ्कलन र निकासी हुँदा बागलुङमा करोडौँ रुपैयाँ राजस्व भित्र्याउन सकिने सम्भावना छ । आरक्षका अनुसार यार्सागुब्बा, धुपी, जटामसीलगायतका बहुमूल्य जडीबुटी हरेक वर्ष खेर जाने गरेका छन् ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *