सुनसान छन् बागलुङका घरबास

गलकोट, १८ साउन (रासस) : बर्खा लागेपछि बागलुङका घरबास (होमस्टे) पाहुनाविहीन बनेका छन् । असार–साउनमा बागलुङमा पर्यटकको आगमनसमेत ह्वात्तै घटेको छ भने घरबास सञ्चालकसमेत खेतीपातीको काममा व्यस्त भएका छन् ।

बागलुङका पर्यटकीय सम्भावना भएका गाउँमा पछिल्लो समय घरबास कार्यक्रम निकै प्रभावकारी छ । बर्खामा पर्यटकको आगमनमा कमी हुनु, ग्रामीण सडक समस्याग्रस्त हुनु र बाढीपहिराका घटनामा वृद्धिका कारण घरबासमा कमैमात्र पर्यटक पुग्न थालेका हुन् । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण दुई वर्ष थला परेका घरबास कोरोनापछि राम्रै चलेको पाइएको छ । असारपछि भने जिल्लामा राम्रै नाम कमाएका घरबास सुनसान छन् ।

बर्खामा घरबासमात्रै होइन, जिल्लाका पर्यटकीयस्थल तथा होटल व्यवसायसमेत सुनसानजस्तै छन् । जिल्लाको चर्चित घरबासमध्येको अतिथि सत्कार घरबास भकुण्डे, किकल्टा घरबास ताराखोला, काठेखोला गाउँपालिकास्थित धम्जाको बेलढुङ्गालगायत घरबाससमेत बर्खा लागेपछि सुनसानजस्तै
छन् ।

अहिले बर्खा लागेपछि कमै मात्रमा घरबासमा पाहुना आउने गरेको भन्दै भकुण्डेस्थित अथिति सत्कार घरबासका सञ्चालक अप्सरा थापाले भदौपछि मात्रै घरबासमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने बताउनुभयो ।

“फाट्टफुट्ट पाहुना आएका छन्, तर बर्खामा सडकको अवस्था नाजुक छ, हिँडेर आउनसमेत समस्या हुन्छ, हाम्रो घरबासमा पर्यटक चैत, वैशाख र असोज, कात्तिकमा बढी आउँछन्”, घरबास सञ्चालक थापाले भन्नुभयो, “बर्खामा घरबासका सञ्चालकसमेत कोदो रोप्ने चटारोमा हुन्छन्, बर्खामा दृश्यावलोकनसमेत गर्न नपाइने भएकाले कममात्रै भकुण्डेमा पाहुना आउने गरेका छन् ।”

यो सयम घरबासका लागि समेत खासै राम्रो सिजन नभएको बताउँदै बागलुङको काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालक गोपाल श्रीषले अब दशैँ–तिहारको सिजनलाई घरबासले तयारी थालेको बताउनुभयो ।

“घरबासमा पूरै अग्र्यानिक उत्पादन खुवाउने गरिन्छ, अहिले आलु थन्क्याउने चटारोसमेत छ, बाँकोको सिन्की बनाउने कामसमेत भइरहेको छ”, श्रीषले भन्नुभयो, “दशैँ–तिहारको सिजनमा आउने पाहुनालाई अग्र्यानिक उत्पादन खुवाउनका लागि आजैदेखि सङ्कलन तथा भण्डारणमा जुटेका छौँ, अहिले स्थानीय खसीबोका, कुखुरासमेत तयारी गरिएको छ ।” श्रीषले पाहुनालाई खुवाइने अग्र्यानिक उत्पादनमा जोड दिँदै यहाँका किसानले भाङ्गो, आलु र सिन्की भण्डारण गरिरहेको बताउनुभयो । जिल्लामा रहेका २८ सामुदायिक घरबासमध्ये अधिकांश पाहुना एक दर्जन घरबासमा पुग्ने गरेका छन् ।

भौगोलिकरूपमा सुन्दर, ताल, झरना तथा दृश्यावलोकन भएको स्थानका घरबास राम्रोसँगै चलेका छन् भने सञ्चालकले समेत मनग्य आम्दानी गर्दै आएका छन् । ताराखोलाको ठूलोहिले घरबासमा जङ्गली रातो च्याउको जोहो भइरहेको र अर्नाकोट घरबासमा बाकोको सिन्की बनाउने काम चलिरहेको छ । ताराखोलामा उत्पादन भएको जङ्गली रातो च्याउको स्वाद लिनकै लागि घरबासमा पाहुना पुग्ने गरेका छन् भने ताराखोलाको किकल्टा घरबासमा सिस्नोको परिकार खानका लागि पाहुना त्यहाँ पुग्ने गरेका
छन् ।

जिल्लाको चर्चित पर्यटकीय गन्तव्यका रूपमा रहेको ढोरपाटन उपत्यका आसपासमा खुलेका आधा दर्जन घरबाससमेत अहिले सुस्ताएका छन् । जिल्लाका अधिकांश घरबासका सञ्चालक खेतीपातीको काममा व्यस्त हुने गरेका छन् । अठ्ठाइस सामुदायिक घरबासमध्ये रेशको माहुरी झरना घरबास, अर्नाकोट घरबास, किकल्टा घरबास, तोरीखोला घरबास तथा अतिथि सत्कार घरबासमा बढी मात्रमा पहुना पुग्ने गरेका छन् । सबै घरबासका आफ्नो अग्र्यानिक स्वाद तथा कला संस्कृति रहेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *