झापामा कृषकलाई रु चार करोड अनुदान

कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७८÷७९ मा जिल्लाका कृषकलाई रु चार करोड अनुदान उपलब्ध गराएको छ ।

जिल्लाका विभिन्न एक सय ३३ कृषि फार्म, कृषि सहकारी र कृषकलाई रु चार करोड दुई लाख नौ हजार अनुदान रकम उपलब्ध गराइएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।

प्रदेश सरकारमार्फत रु दुई करोड १३ लाख ९१ हजार आठ सय १०, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्पmत रु एक करोड ६७ लाख ६९ हजार आठ सय ६० र सङ्घको सशर्ततर्फको रु २० लाख ४७ हजार तीन सय ३० जिल्लाका ती कृषि फार्म, कृषि सहकारी र कृषकलाई उपलब्ध गराइएको हो ।

कृषि ज्ञान केन्द्रले जिल्लामा सञ्चालन गरेको विभिन्न कार्यक्रमबाट तीन हजार तीन सय ९० कृषक परिवार लाभान्वित भएका छन् । प्रदेश सरकारमार्फत आएको कार्यक्रमबाट पाँच सय ६७ महिला र पाँच सय १३ पुरुष गरी एक हजार ८०, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत आएको कार्यक्रमबाट एक सय ७८ महिला र एक सय ९७ पुरुष गरी तीन सय ७५, सङ्घ सशर्तबाट ५३ महिला र ५४ पुरुष गरी एक सय २७ तथा माटो तथा मल परीक्षण प्रयोगशालामार्फत एक हजार आठ सय आठ कृषक परिवार लाभान्वित भएका हुन् । लाभान्वित हुनेमा दलित एक सय १३ परिवार, जनजाति तीनसय ५५ र विपिन्न तीन सय ३८ परिवार रहेको कार्यालयले जनाएको छ ।

दुई लाख १७ हजार मेट्रिकटन खाद्यान्न बचत

यता झापामा आव २०७८÷७९ मा दुई लाख १७ हजार चार सय ८६ मेट्रिक टन खाद्यान्न बचत भएको छ । जिल्लामा एक लाख ५९ हजार दुई सय २० हेक्टरमा धान, मकै, गहुँ, कोदो, फापरलगायतका अन्नबाली लगाएको थियो । त्यसबाट सात लाख २६ हजार एक सय १५ मेट्रिक टन खाद्यान्न उत्पादन भएको कार्यालयले जनाएको छ ।

खानयोग्य कुल उत्पादन चार लाख सात हजार तीन सय ५७ मेट्रिकटनमध्ये जिल्लामा वार्षिक खपत हुने एक लाख ८९ हजार आठ सय ७१ मेट्रिक टन कटौती गरी दुई लाख १७ हजार चार सय ८६ मेट्रिक टन खाद्यान्न बचत भएको कार्यालय प्रमुख विष्टले बताउनुभयो ।

कार्यालयले माटो सुधारका लागि माटो नमूना विश्लेषण छ सय, माटो परीक्षण घुम्ती शिविर छ, माटो परीक्षण शिविर नौ, मलको नमूना विश्लेषण ३०, माटो व्यवस्थापनसम्बन्धी सचेनामूलक घुम्ती तालिम १० सञ्चालन गरेको छ । ती कार्यक्रमबाट एक हजार पाँच सय २८ कृषकको माटो सुधारको प्रयास गरिएको छ ।

जिल्लामा गरिएको नमूना माटो परीक्षणबाट माटोको अवस्था कमजोर रहेको पाइएको छ । सङ्कलित माटोको नमूना परीक्षण गर्दा ७८ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ कम, ८० प्रतिशतमा नाइट्रोजन कम, ५३ प्रतिशतमा फस्फोसर कम र ६५ प्रतिशतमा पोटास कम मात्रा रहेको पाइएको कार्यालयले जनाएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *