बीउ प्रशोधन केन्द्रले उत्पादकलाई सहज

वालिङ, २ भदौ (रासस) ः स्याङ्जाको वालिङ नगरपालिका–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले बीउ प्रशोधन थालेको छ ।

प्रशोधन केन्द्र सञ्चालनमा आएसँगै बीउ समूहद्वारा उत्पादित बीउको सफाइ गर्ने, ग्रेडिङ गर्ने, विषादी उपचार गर्ने र प्याकेजिङ गर्न थालिएको हो । गण्डकी प्रदेशभरिका एघार वटै जिल्लामा रहेका विभिन्न ७२ बीउ उत्पादन समूह, सहकारीमध्ये यहाँसम्म ल्याउन सम्भव हुने स्याङ्जासहित आसपासका समूहले उत्पादन गरेको बीउ प्रशोधन गरिने कृषि स्रोत केन्द्रका बाली विकास अधिकृत सुदीप रेग्मीले

बताउनुभयो ।

बीउबिजन प्रयोगशाला पोखरामा बीउ उत्पादनका लागि सूचीकृत भएका व्यावसायिक उत्पादक समूह सहकारीले उत्पादन गरेका खाद्यान्न तथा तरकारी बालीअन्तर्गत धान, मकै, गहुँ, दलहन, तेलहनका बीउको प्रशोधन गरिने उहाँले बताउनुभयो ।

“गुणस्तरीय बीउका लागि फल पाकेदेखि भण्डारणसम्मका निश्चित् मापदण्ड पूरा गर्नुपर्ने भएकाले गुणस्तर जोगाइराख्नका लागि किसानलाई समस्या छ”, उहाँले भन्नुभयो, “किसानले उत्पादन गरेको बीउको सफाइ गर्ने, ग्रेडिङ गर्ने, विषादीद्वारा उपचार गर्ने र प्याकेजिङ गर्ने प्रविधि, उपकरण नहुने भएकाले किसानको सहजताका लागि प्रशोधन केन्द्र स्थापना गरेका हौँ ।”

भर्खरैमात्रै सञ्चालनमा आएको प्रशोधन केन्द्रमा जडान गरिएको मेसिनले प्रतिघण्टा डेढ टन बीउ प्रशोधन गर्छ । “उत्पादन भएको बस्तुलाई किसानले खेत बारीबाट सिधँै प्रशोधन केन्द्रमा ल्याए हुन्छ”, उहाँले भन्नुभयो, “सफा गर्नेदेखि प्याकेजिङसम्मका सबै काम प्रशोधन केन्द्रमा जडान गरिएको मेसिनले गर्छ ।”

कृषि स्रोत केन्द्रले बीउ उत्पादक समूह सहकारीबाट उत्पादन हुने खाद्यान्न तथा तरकारी बालीको बीउको उत्पादन र मागको सन्तुलनको तथ्याङ्क बनाइएकाले बीउ उत्पादक र बिक्रेता तथा उपभोक्ताबीच समन्वयकारी भूमिका खेल्ने गरेको छ । प्रमाणित बीउ कार्यालयको नियमानुसार बिक्री गरेको खण्डमा बिक्री मूल्यको ५० प्रतिशत थप प्रोत्साहन अनुदान किसानलाई उपलब्ध गराइने उहाँले बताउनुभयो ।

बीउ उत्पादनका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका सक्रिय बीउ उत्पादक समूह, सहकारीललाई कार्यालयमार्फत पूर्वाधार निर्माण तथा क्षमता विस्तारका कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।

“बीउ उत्पादनलाई वृद्धि गर्दै गण्डकी प्रदेशलाई खाद्यान्न तथा तरकारी बालीमा आत्मनिर्भर बनाउनका लागि विभिन्न योजना अगाडि सारेका छौँ”, उहाँले भन्नुभयो, “अब कार्यालय आफैले पनि जग्गा भाडामा लिएर बीउ उत्पादन थाल्नेछ, बीउ उत्पादक समूह, सहकारीका किसानको क्षमता विकाससँगै उत्पादनको क्षेत्र विस्तारमा जोड दिइने छ ।”

बीउ उत्पादक समूह सहकारीका लागि सम्बन्धित ठाउँमै स–साना प्रशोधन उपकरणसहितको सुरक्षित भण्डारणका लागि पूर्वाधार निर्माण र क्षमता विकासमा कार्यालयमार्फत सहयोग गर्ने छ । कार्यालयले मेसिन जडानका लागि रु ५७ लाख र भवनका लागि रु ३५ लाख लगानी गरेको छ ।

बीउ सफा गर्नेदेखि प्याकेजिङ गर्नेसम्मका प्रक्रिया मेसिनमार्फत नै गरिने भएकाले आगामी वर्ष सुरक्षित भण्डारणका लागि भण्डार गृह बनाउने तयारीमा रहेको उहाँले बताउनुभयो । वालिङमै बीउ प्रशोधन केन्द्र स्थापना भई सञ्चालनमा आएसँगै सहजता भएको हरितज्योति एग्रोफर्म प्रालि वालिङका सञ्चालक शिवलाल डुम्रेले बताउनुभयो ।

फर्ममार्फत उत्पादन भएको गहुँमध्ये प्रशोधन गरी तीस क्वीन्टल नार्कबाट प्रमाणित बीउ भण्डारण गरी राखेको उहाँले बताउनुभयो । “बीउ प्रशोधनका लागि अन्यत्रै टाढा जानुपर्दा खर्च बढ्ने र झण्झटिलो हुन्थ्यो”, उहाँले भन्नुभयो, “यहीँ नजिकै प्रशोधन गर्न पाउने सुविधा भएसँगै बीउ उत्पादकलाई सहजता भएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *