एक दशकमा पनि शीतभण्डार निर्माण पूरा भएन

रामपुर (पाल्पा), ७ भदौ (रासस)ः कृषिजन्य उत्पादनलाई दृष्टिगत गर्दै शीतभण्डार निर्माणको प्रक्रियाले स्थानीयवासी औधी खुसी भए । आफ्नै गाउँघरमा उत्पादन हुने तरकारी, फलफूललगायत विभिन्न कृषिजन्य पदार्थ सुरक्षित भण्डारण गर्न पाउने भएपछि उनीहरुले उत्पादन वृद्धि गर्ने सोच पनि बनाए ।

गाउँमा तरकारी, फलफूललगायत बालीनालीको उत्पादन धेरै हँुदा भण्डारण गर्ने सुविधा हुने भएपछि कृषिमा उत्साह बढ्दै गयो । भण्डारणको अभाव झेलेका स्थानीयवासीले बीउ बिजन तथा खाद्यान्नका लागि कृषि उपज सुरक्षितसाथ राखेर बेमौसमी समयमा धेरै फाइदा गर्ने अपेक्षा गरेका थिए तर निर्माण व्यवसायीको लापरबाहीले अहिलेसम्म काम सम्पन्न नहुँदा एक दशक अघिको स्थानीयवासीको उत्साह निराशामा परिणत भएको छ ।

तानसेन नगरपालिका–७ बाघखोरमा निर्माणाधीन अवस्थामा रहेको शीतभण्डारको अहिलेसम्मको कार्य प्रगति २७ प्रतिशत मात्रै भएको पाइएको छ । उक्त भवन १८ महिनाभित्र निर्माण गर्ने लक्ष्य रहे पनि निर्माणमा ढिलासुस्तीले एक दशक हुँदा पनि कार्यप्रगति २७ प्रतिशत मात्रै हुनु सबैका लागि लाजमर्दो अवस्था छ । दुई हजार मेट्रिकटन क्षमताको भण्डारण गृह अहिले अलपत्र जस्तै बनेको छ । ठूलो क्षमताको भण्डारण गृह समयमा नै निर्माण नहुँदा बेलाबेलामा स्थानीयवासीले काम सम्पन्न गर्न सम्बन्धित निकायलाई दबाब दिइरहेका छन् ।

बहादुर सिं लामाको हिमदुङ एन्ड थोकर र रामप्रसाद भट्टको जय रक्तकाली जेभीले विसं २०६९ फागुन २३ गते ठेक्का सम्झौता गरी ०७१ जेठ ३० गते भित्र निर्माणको काम सम्पन्न गर्ने जनाएको थियो। सम्झौताअनुसार तोकिएको समयमा नै काम नभएपछि नगरपालिकाले तीन पटकसम्म योजनाको म्याद थप गरेको थियो । भारतीय राजदूतावासको रु चार करोड ९९ लाख ९१ हजार नौ सय पाँचको लागत तथा उक्त नगरपालिकाको सहयोगमा शीतभण्डार निर्माण थालिएकोे हो । ठूलो लगानीमा थालनी भएको संरचना लामो समयसम्म पनि निर्माण हुन नसक्दा बेवारिसे जस्तै बनेको स्थानीयवासी विन्दू केसी बताउनुहुन्छ । “तानसेनमा दुई हजार मेट्रिकटन क्षमताको शीत भण्डारण गृह बन्नु महत्वपूर्ण कुरा हो, यसबाट स्थानीयवासीले राम्रो सुविधा उपभोग गर्न पाउनेछन् तर निर्माणको गति सुस्त हुँदा अझै पनि भण्डारणका लागि अन्यत्र बजारमै निर्भर हुनुपर्ने अवस्था कायमै छ”, उहाँ भन्नुहुन्छ ।
कृषि उपज सुरक्षित राख्न भण्डारण गृह अति आवश्यक रहेको हुँदा सम्बन्धित निकायले ढिलै भए पनि निर्माणको कामलाई अगाडि बढाएर काम सम्पन्न गर्नुपर्नेमा कृषक माधव न्यौपाने जोड दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “उत्पादित कृषि उपज भण्डारण गृहको अभावमा बजारमा कहिलेकाहीँ घाटा बेहोरेरै बिक्री गर्नु परेको छ, भण्डारण गर्ने सुविधा भयो भने महँगो मूल्यमा पछि बजारमा बिक्री गर्न पाइन्छ, बिउ बिजन सुरक्षित साथ राख्न पाइन्थ्यो, त्यसैले बाँकी निर्माणको काम अगाडि बढाउनुपर्छ” ।

भारतीय दूतावासको पहलमा नगरपालिका र निर्माण व्यवसायी बहादुरसिं लामाबीच नगरपालिकाले जरिवाना नलगाउने र निर्माण व्यवसायीले मूल्यवृद्धि नखोज्ने सहमति भएको थियो । निर्माण व्यवसायीले मूल्याङ्कनको रु ५० लाख आफूहरुले भुक्तानी नपाएको जिकिर गरेको छ भने नगरपालिकाले निर्माण कम्पनीलाई हालसम्म रु दुई करोड १६ लाख भुक्तानी दिएको जनाएको छ । नगरपालिकाले विसं २०७५ माघ ८ गतेसम्म पूर्वनिर्धारितबमोजिम समयमा काम नभएपछि क्षतिपूर्तिबापत रु ४८ लाख २२ हजार ५५ रकम बुझाउन व्यवसायीलाई पत्राचार गरेको थियो । नगरपालिकाले पुरानो ठेक्का तोडेरै भए पनि निर्माणको कामलाई अगाडि बढाउने प्रवक्ता यादव सिं कार्की बताउनुहुन्छ ।

पाल्पासहित छिमेकी जिल्लाहरु रुपन्देही, गुल्मी, अर्घाखाँची, स्याङ्जालगायत स्थानमा उत्पादन भएका कृषिजन्य सामग्री भण्डारण गर्न उक्त शीत भण्डार निर्माण अगाडि बढाइएको हो । गाउँघरमा उत्पादन भएका कृषि उपज शीत भण्डारको समस्याले कृषकले बजार नपाउँदा कुहाएरै फाल्नुपर्ने अवस्था अहिले पनि छ ।भण्डारणका लागि पोखरा या भैरहवा नै जानुपर्दा गाडी ढुवानी खर्च, लैजाने ल्याउने समस्याले लागत उठाउनै कृषकलाई धौधौ पर्छ । तानसेन पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, रुपन्देहीका लागि पायक पर्ने ठाउँ हो । जिल्ला सदरमुकाम तानसेनमा निर्माणाधीन रहेको शित भण्डार अलपत्र हुनु जिल्लावासीका लागि लाजमर्दो विषय बनेको छ । शीत भण्डारणका सम्बन्धमा बेलाबेलामा विभिन्न सञ्चारमाध्यममा समाचार आइरहेका छन् । ठूलो धनराशि खर्चेर सुरु गरिएको काम उद्देश्यअनुसार पूरा नहँुदा यस सम्बन्धमा धेरैले टीकाटिप्पणी गरिरहेकै हुन्छन् । नागरिकले सुविधा उपभोग गर्न नपाउँदा यहाँको शीत भण्डार निर्माणको ढिलाइले व्यापक चर्चा पाइरहेको हुन्छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *