रामपुरका धानबालीमा गवारोको समस्या

रामपुर, ७ भदौ (रासस): धानबालीमा गवारोको समस्या देखिएपछि पाल्पा रामपुरका जयनारायण श्रेष्ठ चिन्तित हुनुहुन्छ । उहाँले अहिले ‘एग्रोभेट’बाट विषादी ल्याएर प्रयोग गर्नुभएको छ । रोग निराकरण नहँुदा उहाँ चिन्तामा हुनुहुन्छ । करिब सात रोपनी जग्गामा लगाइएको धानबालीमा एकैपटक गवारोले सताउँदा धान पसाउनै नपाउने हो कि भन्ने समस्याले उहाँलाई पिरोलेको छ ।

“फेदमा बसेर गवारो कीराले धानको गुवो खाएर सरा नै मर्दै गएर पहेँलो भएको छ, करिब १० दिनअघिदेखि कीराले सताएको छ, हरियाली भएको धान एकाएक पहेँलिदै गएको छ, दुःखसँग गरेको खेती स्याहार्नै नपाइने पो हो कि भन्ने चिन्ताले सताइरहेको छ”, उहाँले गुनासो पोख्नुभयो । उहाँले बिहान उज्यालो भएपछि खेतमा कीरा मार्ने गरे पनि आजभन्दा भोलि झन् यसको समस्या फैलिँदै गएको बताउनुहुन्छ । उहाँका अनुसार विशेषगरी हाइब्रिड र गोरखनाथ जातको धानमा कीराको समस्या देखिएको छ ।

फणेश्वर गैरेको पनि करिब तीन रोपनी जग्गामा लगाइएको धानबालीमा गवारोले सताएको छ । गवारोको समस्या बढ्दै जाँदा उहाँ नियन्त्रणका लागि विषादी प्रयोग गर्ने तयारीमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै भरसक विषादी प्रयोग नगर्ने भनेको त झन् धेरै ठाउँमा यसको समस्या फैलियो, धान जति सखापै होलाजस्तो छ, बोट पहेँलिने क्रम बढेको छ, अब एग्रोभेटबाट विषादी ल्याएर प्रयोग गरिहाल्नुपर्ने भयो ।”

कार्यालयमा हिजोआज रामपुरका विभिन्न स्थानका कृषकले गवारोको समस्या लिएर आउने गरेको र न्यूनीकरणका लागि विषादी छर्कन सुझाव दिने गरेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिनुभयो ।

पाल्पाको रामपुर, तिनाउँ क्षेत्रमा धानबालीमा गवारो, माडी क्षेत्रमा ब्लाष्ट र खैरो रोगको समस्या देखिएको कृषि ज्ञान केन्द्र पाल्पाका बाली संरक्षण अधिकृत मिलन पाण्डेयले बताउनुभयो । उहाँका अनुसार नाइट्रोजनयुक्त मल बढी भएमा धानबालीमा विभिन्न रोेग तथा कीराले सताउने गर्दछ । विशेषगरी उपचार नगरिएको बीउ प्रयोगबाट रोग कीराको समस्या देखिएको हो ।

सन्तुलित मलखादको प्रयोग, धान काटिसकेपछि फेदमा हप्ता–दश दिनसम्म पानीले डुबाउने, धान रोपाइँ गर्ने बेला बीउको टुप्पा काटेर रोप्ने गरेमा विभिन्न रोग कीराबाट धानलाई बचाउन सकिन्छ । “अहिले महामारीका रूपमा रोग कीरा फैलिसकेको छैन, एक सय धानको गाँजमा १० वटामा कीराले आक्रमण गर्दैमा आत्तिहाल्नुपर्ने अवस्था रहँदैन, त्यो भन्दा माथि फैलिएमा भने उपचार तथा निगरानी गरिराख्नु पर्दछ”, उहाँले भन्नुभयो ।

धान पसाउने बेलामा यो कीराको प्रकोप फैलिएमा धानको बाला पोकटो रहन्छ । गवारो धानको महत्वपूर्ण पिराहा कीरा हो । विभिन्न प्रकारका गवारो कीराहरुमध्ये पहेँलो र सेतो गवारोले धानबालीमा मात्र नोक्सान गर्दछन् भने गुलावी गबारो र धर्के गबारोले अन्य बालीमा पनि नोक्सान गर्दछन् । बर्सेनि यी कीराबाट करिब १५ प्रतिशतसम्म नोक्सानी हुने गरेको अनुमान छ । माउ गवारो एकदेखि दुई सेमिसम्म लामो हुन्छ । यो पुतली वर्गका कीरा हो, जसको लार्भाले गुवो खाई नोक्सान पु¥याउँछ ।

गवारोको माउले पातको टुप्पोतर्फ तल्लो सतहमा अण्डा पार्दछ । अण्डाबाट लार्भा निस्की डाँठमा प्वाल पारेर प्रवेश गर्दछ र गुवो खाँदै तल वा माथि जान्छ । डाँठमा गवारोले पारेको प्वाल स्पष्ट देखिन्छ । सुरुको अवस्थामा गुवो तान्दा सजिलै फुत्त आउँछ, यो लक्षणलाई मृत गुवो भनिन्छ । पछिल्लो चरणमा गवारोले गुवो खाँदा सेतो वाला वा फोस्रो वाला देखिन्छ । यसपछि गवारोसँगैको अर्को सरा वा गाँजमा प्रवेश गरी नोक्सान पु¥याउँदछ ।

यसको व्यवस्थापनका लागि धान काट्दा सकेसम्म जमिनको सतह छुने गरी काट्ने, बाँकी रहेको सम्पूर्ण ठुटा निकाली जलाइदिने अथवा ठुटा डुब्ने गरी एक हप्तासम्म पानी जमाउने, धान रोप्ने बेलामा धानको बेर्नाको पातको टुप्पो तीनदेखि पाँच सेन्टिमिटर चुडेर नष्ट गर्नुपर्दछ । साथै माकुरा, लामासिङ्गे फट्याङ्ग्राजस्ता मित्र जीवको संरक्षण गर्ने, प्रकाश पासोको माध्यमबाट बयस्क पुतलीलाई आकर्षण गरी मार्ने गर्ने, सकेसम्म पकेट क्षेत्रभरि एकैपटक धान रोपाइँ गरिएमा गबारोबाट हुने नोक्सानी कम हुन्छ ।

हरेक वर्ष गवारोले नोक्सानी गर्ने ठाउँमा बीउदर बढाइ प्रतिएकाइ बिरुवाको सङ्ख्या बढाउँदा गवारोबाट हुने नोक्सानी घटाउन सकिन्छ । धान रोपाइँ गरेको महिना दिनमा परजीवी कीरा (ट्राइकोग्रामा)को प्रयोग गर्न सकिन्छ । पाँच सेमि गुणन गरी १० सेमि साइजको कार्डमा करिब २० हजार ट्राइकोग्रामा रहेको हुन्छ । एक हेक्टरका लागि १० वटा ट्राइकोकार्ड प्रयोग गर्नुपर्दछ ।

व्यासिलस थुरिनजीयन्सिस (विटी) तीन ग्राम प्रतिलिटर पानीका दरले मिसाइ छर्ने । गबारोको धेरै प्रकोप (१० प्रतिशतभन्दा बढी) भएमा रासायनिक विषादी कार्टाप हाइड्रोक्लोराइड चार प्रतिशत वा क्लोरान्ट्रानिलीप्रोल ०.४ प्रतिशत वा फिप्रोनिल ०.३ जीआर दानादार विषादी २५ केजी प्रतिहेक्टर वा क्लोरोपाइरिफस २० प्रतिशत इसी २ मिलि प्रतिलिटर पानी वा एसिफेट ७५ प्रतिशत एसपी १ मिली प्रतिलिटर पानीका दरले प्रयोग गर्न सकिन्छ । दानादार विषादी प्रयोग गर्दा खेतमा पाँच–आठ सेमि पानी पाँच दिनसम्म कायम रहनु पर्दछ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *