भत्किए चौतारी, पुरिए पोखरी, हराउँदै इतिहास

‘भरिया दाइले बिसाउने भारी सुन माया डाँडैको चौतारी’ कलाकार विष्णु खत्रीले गाउनुभएको यो गीत सुन्दा चौतारीको सम्झना दिलाउँछ । हुन पनि भारी बोकेर हिँड्नेहरु कतिबेला चौतारी पुगिएला र भारीको बोझ बिसाउँला भन्ने गर्दथे ।

भारी बोक्ने मात्र होइन, बाटो हिँड्ने बटुवासमेत चौतारी भेटेपछि थकानलाई विश्राम लिन्थे । बरपिपलको चौतारीमा बसेर थकित शरीरलाई विश्राम लिँदा छ्ुट्टै आनन्द आउँथ्यो त्यो बेला ।

अहिले ती इतिहास बोकेका चौतारी, पोखरी र पँधेरा बिरानो हँुदै गएका छन् । बरपिपलका रुख पनि बुढेसकाल लागेर सुक्दै गएका छन् । धोद्रा लागेका रुखले तिनै बटुवालाई कुरिरहेका छन् । कुनै बेला सञ्चारको विकास नहुँदा अगाडि हिँड्दै गरेको साथीले पछि आउँदै गरेको साथी भेट्न चौतारीमा कुरेर बस्ने प्रचलनसमेत थियो ।

एक दशक अगाडि बाटेमा देखिने चिटिक्क परेका चौतारी अहिले एकादेशको कथा बन्न थालेका छन् । विकास निर्माणको गतिसँगै भौतिक विकासमा दौडिरहेको हाम्रो समाज यतिबेला त्यतै अल्मलिँदा पुराना संरचना भत्किँदै जान थालेका हुन् ।

एक दशक अगाडि पर्वत सदरमुकाम कुश्मा आउनजान प्रयोग हुने पैदलमार्ग मोदीवेणी, मुडिकुवाअन्तर्गत सिर्सुवाको चौतारी बटुवाहरूको थकाइ मेट्ने स्थानका रूपमा चिनिन्थ्यो । कुश्माबाट भारी बोकेर फर्किएका भरिया मोदीवेणीको उकालो काटेर सिर्सुवाको चौतारीमा विश्राम लिँदा भारीको थकान बिर्सन्थे । डाँडाको चौतारीमा चल्ने चिसो हावाले उकालो चढ्दा पसिनाले भिजेको शरीरलाई शीतलता दिन्थ्यो ।

चौतारीमा बिसाइ मेट्नेहरूको सङ्ख्या बढ्दै जाँदा नजिकै रहेका होटल व्यवसायीको पनि व्यापार बढेको थियो । कुश्मा आउनेहरू बाटोमा पानी पर्दा मोदीवेणीमा रहेको ठाँटीमा ओत बस्न पाउँदा घरमै पुगेको आभास हुन्थ्यो । आज ती चौतारी, पाटीपौवा झाँडीले भरिएका स्थानीय थानेश्वर भुसालले बताउनुभयो । चौतारीका ढुङ्गा लेउ लागेका छन्, संरक्षण अभावमा छन् । यो त एउटा उदाहरण मात्र हो आज कैयौँ चौतारी यस्तै अवस्थामा पुगेको उहाँको भनाइ छ ।

बाटो आसपासका कुवा तथा पोखरी यतिबेला मोटरबाटोले पुरिएका छन् । पैदलयात्री हिँड्ने गाउँको गोरेटो बाटो सुनसानै भएका छन् । इतिहास बोकेका ती ढुङ्गे छपनी बिछ्याएका बाटा त्यस्तै अवस्थामा छन् । बाटो हिँड्दा पानी पर्दा घामले पौल्दा अनि कुनै गन्तव्यमा हिँडेका बटुवा साँझ पर्दा बास बस्ने ठाँटीमा कोही पुग्दैन, ती पुराना संरचना भत्किएका छन् ।

अहिले पाटीपौवा बन्न छाडेका छन्, विकासले फड्को मारेको हाम्रो समाजमा गाउँमा मोटरबाटो पुगेपछि हिलाम्मे भएका सडकमा यतिबेला गाडी गुडिरहेका छन् । हिलाम्मे बाटो भए पनि गाडीमा यात्रा गर्नुपर्ने गाउँलेको बाध्यता बनिसकेको छ । महाशिलाका वृद्ध झमनाथ अधिकारीले भन्नुभयो, “भौतिक विकाससँगै गाउँको इतिहास बोकेका गोरेटो बाटो चौतारी, पोखरी, पाटीपौवाको अस्तित्व हराउँदै गएको गयो ।”

पछिल्लो समय गाउँगाउँमा पर्यटन प्रवद्र्धनको धारणा आए पनि स्थानीय तहबाट यस्ता ऐतिहासिक संरचना पुनःनिर्माणको चर्चा चलेको पाइएको छैन । पूर्वाधार विकासका नाममा सडक सञ्जालको विकासलाई नै मुख्य विकास मानिँदै आएको पाइन्छ । आधुनिक विकाससँंगै बाउबाजेले स्थापना गरेका ती ऐतिहासिक संरचनाको प्रवद्र्धन हुन नसक्दा सङ्कटमा परेको स्थानीय पदमपाणि शर्माले
बताउनुभयो ।

“गाउँमा भएका यस्ता पुराना संरचना जोगाइराख्नु सबैको जिम्मेवारी हो”, उहाँले भन्नुभयो । त्यसैले सङ्कटमा परेका इतिहास बोकेको संरचना संरक्षणमा लाग्नुपर्ने देखिन्छ । वातवरणका दृष्टिकोणले पनि मानव सभ्यतासँग जोडिएका संरचना जोगाइ राख्नुपर्ने तपाईँ हामी सबैको दायित्व रहेको उहाँ बताउनुहुन्छ ।

पछिल्लो समय वातवरण संरक्षण अभियानअन्तर्गत डिभिजन वन कार्यालयद्वारा चौतारीपोखरी संरक्षण अभियान सञ्चालन गरिए पनि यस अभियानमा स्थानीयवासीको सहभागिता देखिँदैन । गत आर्थिक वर्षमा पर्वत जिल्लामा छवटा चौतारी र ११ वटा पोखरी निर्माण भएको डिभिजन वन कार्यालय पर्वतका प्रमुख विष्णु अधिकारीले बताउनुभयो ।

यस वर्ष पनि सामुदायिक वन क्षेत्रमा पानीका मुहान संरक्षण अभियानअन्तर्गत पोखरी निर्माण गर्ने तथा हरियाली प्रवद्र्वनका लागि चौतारी निर्माण अभियान सञ्चालन गर्ने डिभिजन वन कार्यालय पर्वतले जनाएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *