रास्कोटको नमुना बस्ती समुदायलाई हस्तान्तरण

कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा निर्माण भएका नमुना बस्ती समुदायलाई हस्तान्तरण गरिएको छ ।

नगरपालिकाले बाढीपहिरोको जोखिमका रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने योजनाअनुसार नमुना बस्ती निर्माण गरिएको हो । जोखिम बस्तीको पहिचान गरी सुरक्षित स्थानमा बस्ती सार्ने उद्देश्यले नगरकै नमुना बस्तीको निर्माणमा रास्कोट नगरपालिका वडा नं ७ का एक सय घर परिवार छनोट गरी नमूना बस्तीका घर निर्माण गर्ने लक्ष्य राखेको थियो । त्यसमध्ये ७३ नमुना घर निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

जोखिममा परेका बस्तीका सुरक्षित ठाउँको जग्गा खोज्दै एक वर्ष सकिएकोहो । सबैले एकैपटक घर निर्माण गर्नुपर्ने भएकाले दक्ष, अदक्ष कामदारको अभावले बस्ती निर्माणमा ढिलाइ भएको रास्कोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले बताउनुभयो । “एउटा घर बनाउन रु पाँच लाख आएको र त्यसैमा जग्गा खरिद गर्नुपर्ने, घर बनाउनुपर्ने भएकाले केही घर बनाउन सकिएको छैन”, उहाँले भन्नुभयो, “जतिले घर निर्माणको काम सके उहाँहरुको घरपरिवारलाई मात्र भुक्तानी दिएको छ ।”

कर्णाली प्रदेश सरकारले बजेट व्यवस्थापन गरेर बस्ती निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत बमको भनाइ छ । “सरकारी लगानीसँगै नागरिक स्वयंले खर्च गर्नुभएको छ । प्रदेश सरकारले नमुना बस्ती निर्माणका लागि प्रतिघरपरिवार पाँच लाखका दरले रु ५० करोड बजेट पठाएको थियो”, उहाँले भन्नुभयो, “तोकेभन्दा कमैले घर निर्माण भएकाले अहिले रु ३६ करोड पाँच लाख भुक्तानी भएको छ ।”

समुदायलाई नमूना बस्ती हस्तान्तरण गर्दै कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यो बस्तीलाई एकीकृत नमुना बस्तीका रुपमा विकास गरिएको बताउनुभयो । “बस्ती निर्माण गरेर मात्रै सबैथोक पुग्दैन अब यो बस्तीको आयस्रोत र बस्तीलाई उत्पादनमुखी बनाउनेतर्फ अग्रसर हुनुपर्छ”, उहाँले भन्नुभयो, “अब नमुना पर्यटकीय गाउँका रुपमा निर्माण गरेर होमस्टे सञ्चालन गर्ने योजना बनाउन आवश्यक रहेको छ ।”


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *