नयाँ वर्ष मनाउँदै चेपाङ समुदाय

चितवन, २१ भदौ (रासस)ः लोपोन्मुख चेपाङ (प्रजा) समुदायले नयाँ वर्ष (न्वागी) मनाउँदै छन् । हरेक वर्ष मध्य भदौमा यो समुदायले पर्व मनाउने गर्दछ । उनीहरुले यस पर्वलाई छोनाम पनि भन्ने गर्दछ ।यसवर्ष भदौ २२ गते उक्त पर्व मनाइँदै छ । संविधानसभा सदस्य तथा नेपाल चेपाङ सङ्घका पूर्वकेन्द्रीय सदस्य गोविन्दराम चेपाङले चेपाङको यो सामुदायिक सांस्कृतिक पर्व भएको बताउनुभयो । उहाँले भन्नुभयो “यो हाम्रो नयाँ वर्ष हो । यस दिन पान्दे झाँक्री बोलाएर पूजा गरी कन्दमूल, फलफूल, तरकारी, घैया धानआदि खाने गरिन्छ ।” यसै दिन पितृहरुको सम्झनामा पूजा गरिने जानकारी दिँदै उहाँले भन्नुभयो “हामी यस दिन देवीदेवतासँग रोगव्याधी नलागोस् भनेर आशीर्वाद लिने गर्दछौँ । भाकल भए त्यसको समेत पूजा गर्दछौँ ।”

घैया धानलाई टाउकोमा राखेर आशिस लिने गरिन्छ । सोही दिन पुराना भाकाका गीत, झ्याउरे गीत गाएर नाचगान गरी रातभर रमाइलो गर्ने परम्परा छ । पछिल्लो समय धेरै चेपाङले धर्म परिवर्तन गरेसँगै विगतको जस्तो पर्व रमाइलो हुन छाडेको गुनासो गर्दै उहाँले भन्नुभयो “९० प्रतिशत चेपाङ क्रिश्चियन बनेपछि भाषा, धर्म, संस्कृति जोगाउन मुस्किल भयो । यो पर्व अहिले लोपुन्मुख अवस्थामा पुगेको छ ।”

सङ्घका बागमती प्रदेश सचिव लक्ष्मण चेपाङले यो समुदायले भूयार र न्वागी गरी दुई वटा पर्वलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो “खेती लगाउने समयमा भूयार र खेती थन्काउने बेलामा न्वागी मनाउने गरिन्छ ।” फागुन र चैतमा रोपेका बाली साउन÷ भदौमा तयार भएपछि चढाउने गरिन्छ । प्रकृतिलाई पूजा गर्दै नयाँ खेती भित्र्याउने गरिन्छ । मुख्यरुपमा यतिबेला पिँडालु, निबुवा, घिरौँला, कागुनो, तामा, घैया धान भित्र्याएर भगवान्लाई चढाइ खान सुरु गरिने सचिव चेपाङले बताउनुभयो ।

राप्ती नगरपालिकाको चार किल्लाका पहलमान चेपाङले न्वागी पुरानो परम्परा र संस्कृति भएको बताउनुभयो । उहाँले भन्नुभयो “यो हाम्रो ठूलो पर्व हो । घरघरमा हामी खुसीयाली साटासाट गरेर यो पर्व मनाउँछौँ । कतिपयले यो पर्व समूहगत रुपमा पनि मनाउँछन् ।” चेपाङ समुदायलाई आफ्नो बारीमा उब्जनी भएको अन्नले छ महिना पनि खान पुग्दैन । जे जति उत्पादन हुन्छ, यसलाई निकै सम्मान दिएर पूजा गरेर मात्रै खाने चलन रहेको छ । पहलमानले भन्नुभयो,“न्वागी पूजा नगरेसम्म अन्न जुठो हुन्छ, चोख्याएर मात्रै खान्छौँ ।” धर्म परिवर्तनका कारण पछिल्ला दिनमा पर्व मनाउनेको सङ्ख्या घटेको उहाँको भनाइ थियो ।

पहलमानले भन्नुभयो “हाम्रो धर्म र संस्कृतिलाई सबै मिलेर जोगाउनु पर्छ ।” पहाडी क्षेत्रमा रहेका लोपुन्मुख यो जाती धेरैको आफ्नै जमिन समेत छैन । वनमा फलेका कन्दमूल खाएर कतिपयले जीविका टार्नुपर्ने बाध्यता छ । शिक्षाको अभावमा बाल्य अवस्थामा नै विवाह हुने गरेकाले जन्मिएका बालबालिका र आमाको स्वास्थ्य अवस्था जटिल हुने गरेकाले यो जातिका लागि सरकारले प्राथमिकतामा राख्नुपर्ने उनीहरुको माग थियो ।

यस वर्षबाट चेपाङ समुदाय बसोबास गर्ने चितवन, मकवानपुर र धादिङ जिल्लामा बागमती प्रदेश सरकारले पहिलो पटक सार्वजनिक बिदा दिएको छ । नेपालका चितवन, मकवानपुर, धादिङ र गोरखामा यो जातीको बसोबास बढि छ । छिटफुट २४ जिल्लामा चेपाङ समुदाय बस्ने गरेको सङ्घले जनाएको छ ।
विसं २०६८ को गणनाअनुसार नेपालमा यो जातीको सङ्ख्या ६८ हजार तीन सय ९९ पुगेको छ । तीमध्ये चितवनमा यो सङ्ख्या २८ हजारभन्दा बढी छ । पछिल्लो जनगणनाको सङ्ख्या आइसकेको छैन । जिल्लाको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिकाको पहाडी क्षेत्रमा यो जातीको बाक्लो बसोबास छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *