‘अर्थतन्त्रका सूचकलाई बलियो बनाउनुपर्छ ’

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले देश विकासका लागि अर्थतन्त्रका साना–साना सूचकलाई बलियो बनाउँदै जानुपर्ने बताउनुभएको छ । नेपाल बार एशोसिएशन र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक पत्रकारलाई दिएको साताव्यापी व्यावसायिक कानुनसम्बन्धी तालिमको समापनमा उहाँले नेपालले खुला अर्थतन्त्रको नीति अवलम्बन गरेको स्मरण गराउँदै देशलाई दिगो विकासमा लैजान अर्थतन्त्रलाई थप चलायमान बनाउनुपर्ने धारणा राख्नुभयो ।

अर्थतन्त्रका स–साना विषयले देश, समाज विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस विषयमा सबै सचेत हुनुपर्ने आवश्यकता न्यायाधीश सिन्हाले औँल्याउनुभयो । अर्थतन्त्रमा हरेक शब्द–शब्दको गहिरो अर्थ हुने गरेको उल्लेख गर्नुहुँदै त्यसको अर्थ बुझ्न सकिएन भने अर्थको अनर्थ लाग्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले कानुन व्यवसायी वकालत गरेर पैसा कमाउने मात्र नभई समाजको अभियानकर्मी पनि भएको बताउनुभयो । “कानुन व्यवसायी भनेको अभियानकर्मी पनि हो, व्यवसायीले पैसा कमाउने ध्येयमात्रै राखेको पनि हुँदैन”, उहाँले भन्नुभयो, “उनीहरूको समाजप्रतिको दायित्व पनि हुन्छ ।”

कार्यक्रममा एशोसिएशनका महासचिव अन्जिता खनालले आगामी दिनमा पनि सेजनसँगको सहकार्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । “आठदिने तालिम पूर्ण होइन, यो कार्यक्रमले सञ्चारकर्मीहरू विषयमा विज्ञ बन्नुहुन्छ भन्ने होइन”, उहाँले भन्नुभयो, “यस्ता तालिमले सञ्चारकर्मीले उठाउने विषय कानुनीरूपमा कसरी जोडिन्छन् भन्ने जानकारी लिन केही सहयोग भएको छ ।”

कार्यक्रममा सेजनका अध्यक्ष जनार्दन बरालले सेजन र बारले आगामी दिनमा पनि क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । आठ दिने तालिममा बैंक तथा वित्तीय कानुन, विदेशी लगानी, अन्तर्राष्ट्रिय व्यापार, बीमा, वित्तीय कारोबार तथा करार, कर, बौद्धिक सम्पत्ति, आमसञ्चारसम्बन्धी कानुन, सार्वजनिक खरिद कानुन, कर्पोरेट, धितोपत्र बजारसँग सम्बन्धित ऐनका बारेमा विभिन्न कानुन व्यवसायीले प्रशिक्षण दिनुभएको थियो ।

तालिममा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, सविता भण्डारी बराल, डा गान्धी पण्डित, मातृका निरौला, शिवप्रसाद रिजाल तथा अधिवक्ता अमरजिवी घिमिरे, सज्जनबरसिंह थापा, भरतकुमार लकाई, राजकुमार सुवाल, सन्तोष तिवारी, सेमन्त दाहाल, दीपक घिमिरे, धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले तालिम दिनुभएको थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *