नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका ः गण्डकीले सबै खेलमा भाग लिने

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका २६ खेलमा गण्डकी प्रदेशले भाग लिने भएको छ । ट्रायथलनबाहेक सबै खेलको छनोट सकिएकाले आगामी असोज १ गतेदखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।

सबै खेल विधामा गरी गण्डकीबाट सात सय १६ खेलाडीले प्रतिस्पर्धामा भाग लिने परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार छनोटमा परेका खेलाडीलाई १५ दिन विशेष र १५ दिन बन्द प्रशिक्षणमा राख्ने तयारी भइरहेको छ ।“बन्द प्रशिक्षणका लागि बजेट प्रबन्ध गर्न प्रदेश सरकारसँग माग गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “खेलाडीले व्यक्तिगतरूपमा पनि अभ्यास थालिसकेका छन् ।” पोखरा बाहिर हुने खेलका लागि सम्बन्धित जिल्लामै बन्द प्रशिक्षण राखिने उहाँले बताउनुभयो ।

मन्त्रालयबाट बजेटको सुनिश्चितता हुनासाथ बन्द प्रशिक्षण र प्रतियोगिताको अरु तयारीले तीव्रता पाउने सदस्यसचिव गुरुङले उल्लेख गर्नुभयो । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ राष्ट्रिय खेलुकद प्रतियोगिता सञ्चालन हुँदैछ ।

प्रतियोगितामा एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्न्यास्टिक, कबड्डी, भारोत्तोलन, सुटिङ र पौडी समावेश छ । यस्तै ह्यान्डबल, जुडो, कुस्ती, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, चेस, खोखो, कराते, आइटीएफ तेक्वान्दो, सेपाकटाक्रो, गल्फ, फुल कन्ट्यान्ट कराते, आर्चरी, फेन्सिङ, साइक्लिङ, ट्रायथलन, रग्बी र प्याराग्लाइडिङ प्रतियोगिता हुनेछ । ठेलो र क्यानोइङलाई भने प्रदर्शनी खेलका रूपमा राखिएको जनाइएको छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीयसहित गैरआवसीय नेपाली सङ्घ (एनआरएन) टिमले प्रतिस्पर्धा गर्नेछ ।

चार दशकपछि पोखरामा दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन लागेको हो । यसअघि राष्ट्रिय खेलकुदको दोस्रो संस्करण विसं २०४० चैत १२ देखि २० गतेसम्म पोखरामै आयोजना गरिएको थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *