प्रतिभाको सम्मान चेतनाको सम्मान ः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिभाको सम्मान चेतनाको सम्मान भएको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले आज यहाँ आयोजना गरेको प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले सत्पात्रलाई सम्मान गर्दा राष्ट्रको शिर उच्च हुने बताउनुभयो । “नेपाली भूमि, ज्ञान भूमि हो, नेपाललाई चिनाउन अझै धेरै गर्न बाँकी छ, ज्ञान दर्शन र औषधि दर्शनलाई उद्घाटन गर्नु छ, प्राज्ञिक विमर्श, अध्ययन, अनुसन्धान गरी विश्वसामु ज्ञान पस्कन प्रतिष्ठानले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो ।

प्रतिष्ठानले गर्ने कविता महोत्सवले अन्तर पुस्तागत समूहलाई प्रोत्साहन गरेको उल्लेख गर्नुहुँदै उहाँले एक लाख २८ हजारभन्दा बढी शब्द सङ्ग्रह गरिएको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’, ‘तस्बिरमा नेपाल’ को अङ्ग्रेजी संस्करणजस्ता कृति प्रकाशन भइरहनुपर्ने बताउनुभयो । दुवै कृति आजै राष्ट्रपति भण्डारीले विमोचन गर्नुभएको थियो ।

‘सनातन संस्कृति कोष’, ‘नेपाल दर्पण’ जस्ता पुस्तक प्रतिष्ठानले प्रकाशनको तयारी गरेकामा पनि उहाँले सराहना व्यक्त गर्नुभयो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं प्रतिष्ठानका संरक्षक जीवनराम श्रेष्ठले लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय तयार भएको जानकारी गराउनुभयो ।

“प्रतिष्ठानले लेखक साहित्यकार परिचय कोश प्रकाशनको तयारी गरेको छ, प्राज्ञिक योजना पूरा गर्न सरकारले साथ दिन्छ, यसअघिका शब्दकोशको मोबाइल एप सार्वजनिक भएजस्तै आज विमोचन भएको प्रज्ञा बृहत् नेपाली शब्दकोशको पनि मोबाइल एप सार्वजनिक हुन्छ”, उहाँले भन्नुभयो ।

प्राज्ञिक क्षेत्रमा प्रतिष्ठानले उल्लेखनीय काम गरेको जानकारी गराउनुहुँदै मन्त्री श्रेष्ठले नवीन कृतिको प्रकाशन र यसअघि प्रकाशित भई बजारमा अप्राप्य बनेका पुस्तकको पुनःप्रकाशन गर्ने क्रमलाई पनि निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो । यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उहाँको भनाइ थियो ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको बहुलता सम्बोधन गर्ने गरी १० वटा पुरस्कार स्थापना गरेर प्राज्ञिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेका स्रष्टालाई सम्मान गर्ने गरिएको जानकारी गराउनुभयो । नेपालभित्र र बाहिर जहाँसुकै रहे पनि नेपालको प्राज्ञिक चिनारी विश्वमा पु¥याउने स्रष्टालाई स्थापित पुरस्कारबाट सम्मान गर्ने गरिएको उहाँले बताउनुभयो ।

“प्रतिष्ठानले १२ वर्ष लगाएर प्रज्ञा नेपाली बृहत् शब्दकोश ल्याएको छ, नेपालका विभिन्न मातृभाषीले प्रयोग गर्ने नेपाली शब्द पनि यहाँ समावेश गरिएको छ”, कुलपति उप्रेतीले भन्नुभयो । नेपालको प्राज्ञिक उन्नयनलाई सरकारले ठूलो सहयोग गरेको बताउनुहुँदै नयाँ गठन हुने प्राज्ञ परिषद्ले पनि रचनात्मक गतिविधिलाई निरन्तरता दिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ, सदस्य सचिव प्रा जगतप्रसाद उपाध्याय, साहित्य (पद्य, काव्य) विभाग प्रमुख प्रा डा हेमनाथ पौडेल, प्राज्ञ सभा सदस्य शशी लुमुम्बूलगायतले यसै वर्षदेखि संस्कृति, दर्शन र सामाजिक शास्त्र विषयमा पनि प्रज्ञा पुरस्कार स्थापना गरी आज पहिलोपटक वितरण गर्न पाएकामा खुसी व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रा विद्यानाथ उपाध्याय भट्टलाई नेपाल प्रज्ञा दर्शन शास्त्र, नरबहादुर दाहाललाई भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य, रामचन्द्र भट्टराईलाई नेपाल प्रज्ञा नेपाली साहित्य, डा नयनाथ पौडेललाई नेपाल प्रज्ञा सामाजिक शास्त्र, प्रा डा गोविन्दराज भट्टराईलाई नेपाल प्रज्ञा अनुवाद, खेन्पो ङ्वाङ वोसेर लामालाई नेपाल प्रज्ञा मातृभाषा (शेर्पा भाषा) साहित्य र शर्मिलाकुमारी चौधरीलाई नेपाल प्रज्ञा मातृ भाषा (थारु भाषा) पुुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको राशि रु पाँच लाख रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

यसैगरी राष्ट्रिय कविता महोत्सव २०७९ मा पहिलो हुने टीका आत्रेय (सुनसरी), दोस्रो हुने यात्रीप्रकाश पाण्डे (धादिङ), तेस्रो हुने सीता तुम्खेवा (भक्तपुर), किरण सिवा (सुनसरी) र कमलराज केसी (अछाम) लाई पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको राशि क्रमशः रु ५० हजार, रु ४० हजार रु ३० हजार रहेको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व दाहालले मन्तव्य व्यक्त गर्नुहुँदै विश्वको जुनसुकै स्थानमा गएर बसे पनि नेपालीको भाषा, साहित्य र संस्कृति एउटै हुने अनुभव सुनाउनुभयो । भारतमा पनि नेपाली साहित्यकारका रचना पढाइने उल्लेख गर्नुहुँदै उहाँले यसले दुई देशबीचको मैत्रीभाव अझ विकसित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।कविता महोत्सवमा पहिलो भएको कविताकी कवयित्री आत्रेयले सो अवसरमा कविता वाचन गरेर सुनाउनुभएको थियो।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *