बन्द रहेका सीमानाका खोलिदिन अध्यक्ष तिमिल्सिनाको चिनियाँ पक्षलाई आग्रह

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चाडबाडका समयमा बन्द रहेका तातोपानी, केरुङ, कोरालालगायतका नाका खोल्ने कार्यमा सहयोग गर्न नेपाल भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय जनकाङ्ग्रेसका अध्यक्ष ली चान्शुलाई आग्रह गर्नुभएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज भएको भेटमा अध्यक्ष तिमिल्सिनाले विगतमा भएको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ सम्झौता कार्यान्वयन, हिमाल वारपार (केरुङ–काठमाडौँ) रेल सेवाको विस्तृत अध्ययन, कोभिडका कारण प्रभावित भएका चिनियाँ कम्पनीले कार्यान्वयन गर्दै गरेका नेपालका परियोजना पुनःसञ्चालनका लागि आग्रह गर्नुभएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

सो अवसरमा दुवै देशको भौगोलिक अखण्डता, शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमिकताको सम्मान गर्दै विगतमा दुवै देशकाबीचमा भएका सरसहयोग र घनिष्ठ सम्बन्धको चर्चा भएको थियो ।

आगामी दिनमा आपसीहितका विषयमा काम गर्ने, संसदीय सहयोग आदानप्रदान गर्ने र उच्चस्तरीय भ्रमण गर्ने विषयमा छलफल भएको थियो । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले विगतका उच्चस्तरीय भ्रमण र दुवै पक्षबीच भएका समझदारीको स्मरण गर्नुहुँदै दुई देशको सम्बन्ध सदियौँदेखि हिमाल जस्तै अटल र नदी जस्तै निर्मल रहेको बताउनुभएको थियो ।

उहाँले चीन नेपालको महत्वपूर्ण विकास साझेदार रहेकाले नेपालको समृद्धिमा पु¥याएको योगदानका लागि धन्यवाद दिनुभएको थियो । यस्तै उहाँले एक चीन नीतिको नेपाल पक्षमा रहेको र सुरक्षा चासोमा नेपाल प्रतिबद्ध रहेको जनाउनुभयो ।

चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष लीले अध्यक्ष तिमिल्सिनाले उठाउनुभएको विषयको समर्थन गर्दै सीमानाकामा देखिएको अवरोध खोल्नेलगायत अन्य काममा सहजीकरण गरिने आश्वासन दिनुभएको थियो ।

दुईपक्षीय वार्ता करिब एक घण्टा चलेको जानकारी दिँदै सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा पाण्डेले त्यसअवसरमा आपसी छलफलका क्रममा नेपालको संसद्को विकास तथा आपसी सहयोग आदानप्रदान सम्बन्धमा निरन्तर अघि बढ्ने कुरामा दुवैतर्फबाट प्रतिबद्धता व्यक्त भएको थियो । सचिवालयले चिनियाँ प्रतिनिधि मण्डलको नेपाल भ्रमण उपलब्धिमूलक र सुखद रहने अपेक्षासमेत गरेको थियो ।

दुईपक्षीय वार्तामा राष्ट्रियसभाको प्रतिनिधिमण्डलको तर्फबाट अध्यक्ष तिमिल्सिनाले नेतृत्व गर्नुभएको थियो भने चिनियाँ पक्षबाट राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष ली नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको थियो ।

नेपालकोतर्फबाट १८ सदस्यीय प्रतिनिधिमण्डलमा सांसदहरु देवेन्द्र दाहाल, गोपीबहादुर सार्की अछामी, रमेशजङ्ग रायमाझी, डा वेदुराम भुसाल, प्रमिला कुमारी, शेखरकुमार सिंह, तुलप्रसाद विश्वकर्मा, डा विमला राई पौड्याल, खिमलाल देवकोटा, राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँल, परराष्ट्र सचिवलगायतका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *