नवौँ राष्ट्रिय खेलकुदः आइटिएफ तेक्वान्दो शनिबारदेखि

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि यहाँ सुरु हुने आइटिएफ तेक्वान्दोको सबै तयारी पूरा भएको छ । सदरमुकामस्थित बाङ्गेचौर कर्भडहलमा सञ्चालन हुने सो खेलका लागि पूर्वाधार र व्यवस्थापकीय तयारीका काम सकिएको जनाइएको छ ।

खेलस्थल सुधार, सामग्री व्यवस्थापन, साजसज्जादेखि खेलाडी, प्राविधिकलाई आवाससम्मको प्रबन्ध भइसकेको आइटिएफ तेक्वान्दोका केन्द्रीय सचिव एवं बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार मध्याह्न विशेष समारोहमा प्रतियोगिता शुभारम्भ गरिनेछ । त्यसअघि सांस्कृतिक झाँकी, बाजागाजासहित खेलाडी, प्राविधिक, आयोजक र खेलप्रेमी सम्मिलित ¥यालीले बागलुङ बजार परिक्रमा गर्नेछ ।

“उद्घाटन समारोहलाई भव्य र आकर्षक बनाउने तयारीमा छौँ, जिल्लाको पहिचान झल्काउने झाँकी तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिनेछ”, नगरउपप्रमुख खड्काले भन्नुभयो, “जिल्लामा पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेकाले यो हाम्रा लागि गौरव र आत्मसम्मानको विषय हो ।”

प्रतियोगिता व्यवस्थापनका लागि नगरप्रमुख वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा गठित ५१ सदस्यीय समिति व्यवस्थाकीय तयारीका काममा सक्रिय छ । कभर्डहलसँगै खुला मैदानमा पनि प्रतियोगिता सञ्चालन हुने जनाइएको छ । कात्तिक २ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका गरी दुई सय ५० खेलाडीले भाग लिनेछन् ।

खेलाडीसहित ४५ रेफ्री, प्रत्येक टिमका प्रशिक्षक, अफिसियल, प्राविधिकलगायत गरी झण्डै तीन सय ५० जना प्रतियोगितामा सहभागी हुनेछन् । अधिकांश टिमका खेलाडी र प्राविधिक बिहीबार नै जिल्लामा आइसकेको प्रतियोगिता व्यवस्थापन समितिले जनाएको छ ।

गण्डकी प्रदेशका आइटिएफ प्रशिक्षक आकाशचन्द्र घर्तीमगरले प्रतियोगितामा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनमा प्रतिस्पर्धा हुने बताउनुभयो । विभिन्न उमेर र तौल समूहका खेलाडीले खेलमा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षक घर्तीमगरका अनुसार हरेक टिमबाट २५ खेलाडीले प्रतियोगिता खेल्नेछन् । आइटिएफ तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

नवौँ राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरा भए पनि जिल्ला तहमासमेत खेलस्थल तय हुँदा स्थानीय खेल पदाधिकारी र खेलप्रेमी उत्साहित छन् । जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष लोकेन्द्र केसीले प्रतियोगिताले खेलसँगै जिल्लाको पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने बताउनुभयो ।

खेलाडीलाई नजिकका गन्तव्यस्थल घुमाउन समितिले सहजीकरण गर्ने उहाँको भनाइ छ । “राष्ट्रिय खेलकुदअन्तर्गतको प्रतियोगिता बागलुङमा आयोजना हुनु हाम्रा लागि महत्वको विषय हो, व्यवस्थापन र आतिथ्यतामा जिल्लाले कुशलता देखाउने मौका आएको छ”, उपाध्यक्ष केसीले भन्नुभयो, “देशभरबाट खेलाडी आउँदा जिल्लाको चिनारी बढ्छ, आन्तरिक पर्यटन प्रवद्र्धन हुन्छ ।”

प्रदेशका अरु जिल्लालाई पनि राष्ट्रिय खेलकुद प्रतियोगिताको अपनत्व दिलाउन राष्ट्रिय खलेकुद परिषद्ले पोखरा बाहिरसमेत खेलस्थल छनोट गरेको हो । चार दशकपछि पोखरामा दोस्रोपटक आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बागलुङसहित धवलागिरि क्षेत्रका तीन जिल्लामा चार खेल हुँदैछन् । म्याग्दीमा महिला भलिबल, तेक्वान्दो र पर्वतमा कराते प्रतियोगिता आयोजना गरिएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *