चुनावी नारामै सीमित जीर्ण दोबिल्ला पुल

कुश्मा, ३० असोज (रासस) ः देश चुनावमय बनेको छ । राजनीतिक दलका उम्मेदवार आआफना नारा बोकेर गाउँ छिरेका छन् । मतदातामा चुनावलाई लिएर खासै उत्साह देखिँदैन । विगतमा उम्मेदवारहरुले दिएका वाचा चुनाव जितेपछि सम्झन छाडेकोमा मतदातामा असन्तुष्टि छ ।

“नेताहरुलाई अप्ठयारो लाग्दैन रहेछ”, फलेवासका सन्तोष भुसालले भन्नुभयो, “पर्वतको दक्षिण जोडने महत्वपूर्ण दोबिल्ला मोटरेबल पुल जीर्ण छ, मर्मत सम्भार गर्न नेतालाई धेरै पटक भनियो तर उनीहरुबाट कुनै सुनुवाइ नै हुनसकेन ।” मोदी खोलामा बनेको दोबिल्ला मोटरेबल पुलले कुश्मा र फलेवास नगरपालिकासँगै बिहादी, पैयूँ र माहाशिला गाउँपालिकालाई जोड्ने काम गरेको छ । पुल बन्नु पहिले यहाँका स्थानीयवासी अन्यत्र जिल्ला स्याङ्जा र कास्की भएर सदरमुकाम कुश्मा आइपुग्नुपर्ने बाध्यता थियो ।

“तत्कालीन समयमा पर्वतको ५५ गाविसमध्ये ३४ दक्षिण भेगमा पथ्र्यो”, रानीपानीका हरि न्यौपानेले भन्नुभयो, “कुश्मा पुग्न दुई दिनको बाटो, त्यो पनि अर्को जिल्ला भएर जानुपर्ने हुन्थ्यो, पछि दोबिल्लामा गाडी गुड्ने पुल र सडकको सहज पहुँच पनि बढ्यो ।”

नेपालमै नमूना सस्पेण्डेड मोडलमा निर्माण गरिएको यस पुलको भारवहन क्षमता १५ टन हो । तर डोजर, लोडर, बालुवा, गिट्टी बोक्ने टिपर लगायतका सवारीसाधन गुड्ने हुँदा पुल जोखिमपूर्ण बन्दै गएको स्थानीयवासीको गुनासो छ । “पुलका नटबोल्ट खुस्किएका छन् । पुलमा रहेका पाता उप्किएका, भासिएका र ठाउँठाउँमा खिया लागेको छ”, स्थानीय गौरब जिसीले भन्नुभयो, “केही समयअघि पुलमा विछ्याइएको फलामका पाताले धान्न नसक्दा टिपर दुर्घटनामा परेको थियो । धेरै पटक फलेवास र कुश्मा नगरपालिकामा मर्मत गर्न आग्रह ग¥र्यौ, तर, सुन्ने कसले ?”

केही महिनाअघि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पुलको स्थलगत अवलोकन गर्नुभएको थियो । उहाँले त्यति नै बेला पुल मर्मत सम्भारका लागि आवश्यक रकम उपलब्ध गराउने समेत बताउनु भएको थियो । तर, प्रदेशको बजेटमा दोबिल्ला पुलको कुरा कतै उल्लेख गरिएन । जनप्रतिनिधि चुनिएर पनि गए । पुलमा भेटिएका जिप चालक रामबहादुर नेपालीले भन्नुभयो, “ कसैले यसप्रति चासो देखाएनन, कति खेर पुल भत्केर खोलामा झरिने हो, ठेगान छैन ।”

जोखिमपूर्ण अवस्थामा रहेको पुल मर्मतमा तीनवटै सरकारले बेवास्ता गरेपछि अमृत जोशी स्मृति प्रतिष्ठान नेपालले दुई महिनाअघि सामान्य मर्मत गर्ने काम गरेको थियो । “हामीले सम्बन्धित निकायलाई दबाब दिन हप्ता दिन पुलका पुराना पाता फर्नेदेखि भाँचिएका फलामलाई जोडने काम ग¥यौँ, त्यसमा हाम्रो पाँच लाख रुपैयाँ खर्च भएको छ”, प्रतिष्ठानका सचिव माधव पौडेलले भन्नुभयो, “पुलको सामान्य मर्मत भन्दा पनि संरचना नै नयाँ बनउनुपर्ने देखिन्छ ।”

कुश्मा र फलेवास नगरपालिकाबीच यस दोबिल्ला पुलमा कसले लगानी गर्ने भन्नेमा विवाद देखिन्छ । खोलावारी कुश्मा र पारी फलेवास नगरपालिका छ । “दुई नगरपालिकाले एक अर्काको मुख ताक्ने परिपाटी देखाए”, कांग्रेसका युवा नेता ठाकुर रसाइलीले भन्नुभयो, “पुलको स्वामित्व र जिम्मेवारी दुबै पालिका मिलेर लिनुपर्ने हुन्छ ।”

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ र फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले पुल मर्मतका लागि नगरपालिकाले कुनै पनि बजेट नछुट्याइएको स्वीकार गर्नुभयो । दुबै जनाले जीर्ण दोबिल्ला पुल मर्मत गर्न गण्डकी प्रदेश सरकारलाई पत्र पठाउनेदेखि छलफल चलाउने काम भइरहेको बताउनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *