पाण्डेय छैटौँ पटक, गैरे पहिलो पटक चुनावी मैदानमा

सोमप्रसाद पाण्डेय छैटौँ पटक चुनावी मैदानमा हुनुहुन्छ । उहाँ २०५१ सालदेखि पाल्पाबाट चुनाव लड्दै आउनुभएको छ । यसपाली उहाँले सिद्धबाबाको बाटो निर्माणलाई चुनावी मुद्दा बनाउनुभएको छ ।

“सिद्धबाबाको बाटोमा सुरुङमार्गको योजना अगाडि बढेको छ”, पाल्पा क्षेत्र नं २ मा पाँच दलिय सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रहनुभएका पाण्डेयले भन्नुभयो, “यो क्षेत्रको विकासका लागि मेरो उम्मेदवारी हो ।”

विगतमा व्यवस्था परिवर्तनका लागि लडेको उल्लेख गर्दै उहाँले यो निर्वाचनले विकास र समृद्धिको रेखा कोर्ने उल्लेख गर्नुभयो । पाल्पाको क्षेत्र १ मा २०५१ सालदेखि नै एमालेका उम्मेदवार विजयी हुँदै आएका छन् । क्षेत्र नं २ मा २०५१, २०५६, २०७० र २०७४ मा सोमप्रसाद पाण्डेय विजयी हुनुभएको थियो । उहाँ त्यतिवेला एमालेमै हुनुहुन्थ्यो । विसं २०६४ मा नेकपा माओवादीकी लीला सोमैसँग उहाँ पराजित हुनुभएको थियो ।

यस्तै पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बन्नुभएका नेकपा (एमाले) का ठाकुर गैरेले समग्र पाल्पाको एकीकृत विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । राष्ट्र र राष्ट्रियताका सवालमा आवाज उठाउँदै आउनुभएका उहाँले पनि चुनावी प्रतिबद्धतामा सिद्धबाबाको बाटो निर्माणलाई उल्लेख गर्नुभएको छ ।

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाण्डेय र गैरले घरदैलो अभियानलाई तीव्र पारेका छन् । पाल्पाको विकासको खाका लिएर आएको भन्दै दुवैजनाले मतदाता रिझाउन थालेका छन् । प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य गरी ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यो निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धा पाण्डेय र गैरेकै बीच हुने देखिन्छ । सदरमुकाम तानसेन नगरपालिकासहित बगनासकाली, रिब्दीकोट, रैनादेवी र तिनाउ गाउँपालिका यो निर्वाचन क्षेत्रभित्र पर्दछन् ।

क्षेत्र नं १ मा भने यस पटक एमालेबाट नारायणप्रसाद आचार्य र नेपाली कांग्रेसबाट ज्ञानबहादुर गाहाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दुवैको चुनावी एजेण्डा ‘विद्युतीकरण’ रहेको छ । निस्दी गाउँपालिकाका तीन वडामा अहिले पनि विद्युत् पुगेको छैन । यहाँका नागरिक टुकीमाथि निर्भर छन् ।

एमाले उम्मेदवार आचार्य भन्नुहुन्छ, “हाम्रै पहलमा विद्युत् विस्तार गरेका हौँ ।” सबै क्षेत्रमा विद्युत् विस्तार गरी उज्यालो निस्दी बनाउने योजना रहेको उहाँको भनाइ छ ।

यहाँका वडामा सामुदायिक विद्युतीकरणमार्फत बिजुली बाल्न सुरु गरिए पनि सर्वसुलभ र सहज नभएको कांग्रेस उम्मेदवार गाहाको भनाइ छ । “राष्ट्रिय प्रसारण लाइनमा जोडेर जनतालाई सहज विद्युत् आपूर्ति गराउने योजना छ”, उहाँ भन्नुहुन्छ, “विकास र समृद्धिको खाका लिएर चुनावी मैदानमा होमिएको छु ।” रामपुर नगरपालिकासहित रम्भा, निस्दी, पूर्वखोला र माथागढी गाउँपालिका क्षेत्र नं १ मा पर्दछन् ।

प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्रमा २३ जनाको उम्मेदवारी परेको छ । प्रदेशसभाको चार क्षेत्रमा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा क्षेत्र १ मा राजनीतिक दल र स्वतन्त्र गरी १० तथा २ मा १४ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ छ दल र चार स्वतन्त्रका साथै क्षेत्र नं २ मा ११ दल र तीन स्वतन्त्रले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नं १ प्रदेशसभा (क) र (ख) मा पाँच÷पाँच जनाले तथा क्षेत्र नं २ प्रदेशसभा (क) मा सात र (ख) मा पाँच जना उम्मेदवार छन् ।

पाल्पाको दुवै निर्वाचन क्षेत्रमा गरी सात स्वतन्त्र उम्मेदवार छन्् । “लामो समयदेखि दलहरुले नेतृत्व गरेर पनि पाल्पाको विकास भएन”, क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवार रहनुभएका उपेन गैरे भन्नुहुन्छ, “विकास नहुनुको मुख्य कारण भ्रष्टाचार हो ।” उहाँ इन्जिनियरिङ पेसामा आबद्ध हुनुहुन्छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *