कञ्चनपुरका लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारले अव्यवस्थित बसोबासीको दिगो समस्या समाधानका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।
संयुक्तरुपमा घोषणापत्र जारी गर्दै अव्यवस्थित बसोबासीको चलन भोगमा रहेको जग्गाको यथाशीध्र जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउनका लागि कार्य अगाडि बढाइने जनाइएको छ । पाँच प्रतिशतभन्दा कम राजस्वको व्यवस्था गरी जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने जारी गरिएको घोषणापत्रमा उल्लेख गरिएको छ ।
“पुर्खौंदेखि स्वामित्वको जग्गा नभएका सुकुम्बासी परिवारलाई एकीकृत आवासको व्यवस्था गर्ने, कुनै पनि परिवारलाई उठिबास वा विस्थापनमा पार्ने कार्यको अन्त्य गर्ने गरिने छ”, घोषणा पत्र जारी गर्दै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार नारायणप्रकाश साउदले भन्नुभयो, “बसोबासको विकल्प नहँुदा सडक सीमा जोखिम क्षेत्र वा संरक्षित क्षेत्रमा बस्दै आइरहेकालाई उचित विकल्पसहितको व्यवस्थापन गरिने छ ।”
उहाँका अनुसार अति गरिब, विपन्न, दलित, एकल महिला र सीमान्तकृत भूमिहीन परिवारका लागि आवास निर्माण गरी जीविकोपार्जनका कार्यक्रम सञ्चालन गरिने छन् । वर्षौंदेखि पीडा खेप्दै आएका सुकुम्बासी, बाढीपीडित, सीमान्तकृत नागरिकको समस्या भूमि आयोगद्वारा सामाधान गरिने छ । उन्नत जातका अन्नबाली, तरकारी बाली, तेलहन, दलहन, फलफूल खेतीका लागि आवश्यक प्रविधि हस्तान्तरण गरिने प्रदेशसभाका उम्मेदवार ओमविक्रम भाटले बताउनुभयो ।
“कृषिउपजलाई बजारीकरण गर्नका लागि सरकारी खरिद केन्द्र निर्माणसँगै शीतभण्डार निर्माण गर्ने प्रतिबद्धता गरेका छौँ”, उहाँले भन्नुभयो, “प्रतिबद्धताअनुसार विजयी भएमा पूरा गर्छौं ।” कृषि क्षेत्रलाई व्यावसायिक, यान्त्रीकरण, उद्योगसँग जोडेर रोजगारीका अवसर सिर्जना गरी गरिबी न्यूनीकरणमा टेवा पु¥याउने कार्यक्रम सञ्चालन गरिने उहाँले उल्लेख गर्नुभयो ।
तरकारीको आयात निरुत्साहित गर्नका लागि हरेक नागरिकको घरमा करेसाबारी बनाउका लागि प्रविधिसँगै आवश्यक बीउबिजनको व्यवस्था गर्नका लागि कार्यक्रम सञ्चालन गरिने छ ।
शिविरमा बस्दै आएका परिवारको जीविकोपार्जनका लागि जग्गाको व्यवस्था गरी सामूहिक कृषिमा संलग्न गराइने प्रतिबद्धता गरिएको भाटले बताउनुभयो । “वर्षौंदेखि थाती रहेको आरक्ष विस्थापितको समस्या समाधान गर्नका लागि नेपाल सरकारसँग जग्गा र आवास निर्माणका लागि पहल गरिने छ”, उहाँले भन्नुभयो, “आरक्षका कारण बेदकोट नगरपालिका वडा नं ७, ९ र ११ को भूमिसम्बन्धी समस्या समाधानका लागि विशेष पहल गरी समस्या समाधान गर्छौं, जुन कुरा प्रतिबद्धतापत्रमा उल्लेख गरेका छौँ ।”
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षित जीवजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि फेसिङ तारजालीको व्यवस्था गरिने जारी प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार रमेश लेखकका अनुसार विगतका चुनावमा गरिएको प्रतिबद्धताअनुरुप दोधारा चाँदनी नगरपालिका जोड्न महाकाली नदीमा पक्की पुल निर्माणको कार्य पूरा भसकेको छ ।
जिल्लालाई देशकै त्रिदेशीय नाकाको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छौँ उहाँले भन्नुभयो, “यसलाई पूरा गर्ने वचनबद्धता गरेका छौँ, दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्ने, मझगाउँ विमानस्थल निर्माणको कार्यलाई टुङ्गोमा पु¥याई हवाई यातायात सञ्चालन गर्छौं, त्यसका लागि कार्य अगाडि बढाइएको छ, महाकाली करिडोर निर्माणका लागि अगाडि बढाइने छ, जिल्लाभित्रका धार्मिक, पर्यटकीय क्षेत्रको विकास गर्नका लागि अगाडि बढाउँछाँै ।”
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का गठबन्धनका साझा उम्मेदवार वीना मगरका अनुसार सीमा क्षेत्रलाई व्यवस्थित गर्ने, बेलौरी छोटी भन्सार कार्यालयको स्तरोन्नति गरी भन्सारका रुपमा विकास गर्ने, हुलाकी राजमार्ग निर्माणको कार्यलाई पूरा गर्ने, बेलौरी कलुवापुर राजमार्ग निर्माणको कार्यलाई टुङ्गोमा पु¥याउने, कृषिलाई आधुनिकीकरण गर्ने, अव्यवस्थित बसोबासीलाई जग्गाको स्वामित्व प्रदान गर्ने कार्यलाई मुख्य चुनावी एजेण्डाका रुपमा अगाडि सारिएको छ ।

Leave a Reply