समयमै विद्यालयको सामाजिक परीक्षण गर्ने न्यून

कैलालीका अधिकांश सामुदायिक विद्यालय समयमै सामाजिक परीक्षण गर्दैनन् । हरेक सामुदायिक विद्यालयले तोकेको समयमै सामाजिक परीक्षण गर्नुपर्ने भए पनि सङ्ख्यात्मकरुपमा कमै विद्यालयले समयमै गर्ने गरेका छन् ।

शिक्षा नियमावलीअनुसार भदौ मसान्तसम्म विद्यालयले सामाजिक परीक्षण प्रतिवेदन सरोकारवाला सामु सार्वजनिक गर्नुपर्ने हो । केही विद्यालयले पहिले गरे पनि अधिकांश विद्यालय भनेआज भोलि गरिरहेका छन् । दसैँ तिहार विदाका कारण केही ढिलो हुन गएको शिक्षा शाखाले जनाएको छ । गतकात्तिक मसान्तसम्म पनि सार्वजनिक सुनुवाइको प्रतिवेदन पेश नगरे सेवा सुविधा कटौती हुने प्रावधान रहेको छ ।

यस वर्ष हालसम्म टीकापुर नगरपालिकाअन्तर्गतका ३३ वटा सामुदायिक विद्यालयमध्ये तीन वटा विद्यालयले मात्र सामाजिक परीक्षण गरेका छन् । तीस वटा विद्यालयले अझै सामाजिक परीक्षण कार्यक्रम नगरेको टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले जानकारी दिनुभयो ।

“अहिलेसम्म तीन विद्यालयले सामाजिक परीक्षण सकेका छन्, हामीले कात्तिक मसान्तसम्म सक्न भनेका छौँ”, उहाँले भन्नुभयो, “समयमै गरिएन भने सामाजिक परीक्षणबापत आउने अनुदान रोकिन्छ ।” कैलालीको जानकी गाउँपालिकाका अधिकांश विद्यालयले सामाजिक परीक्षण कार्यक्रम गरिसकेका पालिकाले जनाएको छ । “थोरै विद्यालयले मात्र कार्यक्रम गर्न बाँकी छ । कात्तिक मसान्तसम्म बाँकी विद्यालयले पनि गरिसक्नुपर्नेछ”, शिक्षा अधिकृत धर्मानन्द कपाडीले भन्नुभयो, “यदि कात्तिक मसान्तसम्म पनि सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गर्न नसके तलब निकासा रोक्का गर्ने प्रावधान छ । भदौ मसान्तसम्म गर्ने प्रावधान छ तर हामीले कात्तिक मसान्तसम्म सक्न निर्देशन दिएका छौँ ।”

उहाँका अनुसार १३ विद्यालयले सार्वजनिक भेला गरिसकेका छन् । एक्काइस विद्यालयले सामाजिक परीक्षण गरिसकेका तर भेला गर्न बाँकी छ । जोशीपुर गाउँपालिकामा अधिकांश विद्यालयले सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरिसकेका पालिकाको भनाइ छ । गाउँपालिकामा २३ सामुदायिक विद्यालय रहेकामा करिब ७० प्रतिशत विद्यालयले सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरिसकेको र बाँकी विद्यालय पनि तयारी अवस्थामा रहेको जोशीपुर गाउपालिका शिक्षा शाखा अधिकृत सङ्ग्रामसिंह धामीले जानकारी दिनुभयो ।

“ तेइसमध्ये ७० प्रतिशतले गरेका छन् । बाँकीलाई ताकेता गरेका छौँ, अब गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “दसैँ तिहार बिदाका कारण समयमै गर्न ढिलाइ भएको छ । अब सक्नुहुन्छ ।” यस्तै कैलालीको लम्कीचुहा नगरपालिकामा ४६ सामुदायिक विद्यालयमध्ये जम्मा १६ वटा विद्यालयले मात्रसामाजिक परीक्षण सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेका छन् । बाँकी विद्यालयले सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा रहेको लम्कीचुहा नगरपालिका शिक्षा शाखा प्रमुख गौरीकान्त न्यौपानेले जानकारी दिनुभयो ।

कैलाली जिल्लामा जम्मा पाँच सय ६५ विद्यालय छन् । जिल्लामा रहेका यी सामुदायिक विद्यालयले मापदण्डअनुसार सामाजिक परीक्षण गर्नुपर्छ । अधिकांश विद्यालयले सामान्यरुपमा सामाजिक परीक्षण गर्छन् । परीक्षण गर्नुपर्ने वाध्यताले गर्ने गरेका अभिभावकको गुनासो छ । “अभिभावक भेला गरी सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गर्नुपर्छ, जसले विद्यालयको अवस्था थाहा हुन्छ, विद्यालयको आवश्यकता, समस्या र समाधानको खोजी भेलाबाटै गर्न सकिन्छ”, अभिभावक लक्ष्मी थापा भन्नुहुन्छ, “भेला अर्थपूर्ण हुनुपर्छ । सबै सरोकारवाला बोलाएर गर्ने विद्यालय निकै कम छन् । कार्यक्रमका लागि कार्यक्रम मात्र गर्नु भने हुँदैन ।”

अभिभावक परीक्षण, भेला जस्ता कार्यले शैक्षिक सुधार र शैक्षिक गुणस्तर वृद्धिमा सघाउ पुग्ने बताउँछन् । “विद्यालयमात्र होइन बालबालिकाको अवस्थासमेत थाहा हुन्छ”, अभिभावक रत्ना धामीले भन्नुभयो, “जसले सबैलाई जिम्मेवार बनाउँछ ।” सामुदायिक विद्यालयले यसरी सामाजिक परीक्षणलगायतका कार्य गरे पनि निजी विद्यालयको हकमा भने यस्तो ब्यवस्था लागू भएको देखिँदैन । निजी विद्यालयले पनि सामाजिक परीक्षण, भेलालगायतका कार्य गरी विद्यालयको शैक्षिक र अन्य अवस्थाबारे जानकारी दिन पालिकाले कडाइ गर्न आवश्यक रहेको अभिभावकको भनाइ छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *