पुरानै एजेन्डामा मत माग्दै उम्मेदवार

ढोरपाटन, २८ कात्तिक (रासस) ः आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै बागलुङमा उम्मेदवारले आफ्ना घोषणपत्र तथा प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

उम्मेदवार घोषणापत्र बोकेरै मतदातासाग भोट माग्न सहरदेखि गाउँ बस्तीमा पुगेका छन् । मतदाता रिझाउन उनीहरुले घोषणापत्रमा महत्वकाङ्क्षी र परम्परागत कार्यक्रमलाई बढी जोड दिएको पाइन्छ ।
मतदाता रिझाउन घोषणापत्र लिएर गाउँगाउँमा पुगेका उम्मेदवारले नयाँ एजेण्डा देखाउन सकेका
छैनन् ।

पुरानै एजेण्डा समेटिएको घोषणापत्रले मतदातालाई विश्वास दिलाउन सकेको छैन । स्थानीय टीकाराम शर्माले अहिलेसम्म उम्मेदवारले सार्वजनिक गरेका घोषणापत्रमा मतदाता झुक्याउने र भोट फुत्काउनेबाहेक अरु एजेण्डा समावेश नभएको बताउनुभयो ।

शर्माले भन्नुभयो, “मैले सबै दलका उम्मेदवारको घोषणापत्र हेरे, पढेँ, तर कुनै पनि नयाँ योजना पाइन, सबै पुराना योजना समेटेका छन्, घोषणापत्रमा वर्षौंदेखि काम हुन नसकेका योजना पनि राखेको देखियो, यो सबै मतदाता झुक्याउने मात्रै भयो, पहिलेको एजेण्डा जे थियो अहिले पनि त्यही छ, यो त सिधै मतदाता झुक्याउने उपाय भयो नि, यहाँ शिक्षा, स्वास्थ्यको अवस्था निकै दयनीय छ, एजेण्डा भने ठूलाठूला मात्रै छन्, पहिला साना काम गरे पो जनताले पनि पत्याउँछन् ।”

शर्माले जनताले गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगार चाहेको भन्दै यस्ता विषयलाई कम प्राथमिकता दिएको बताउनुभयो । उम्मेदवारले ल्याएका चुनावी एजेण्डामा नयाँपन पटक्कै नदेखिनुले सबै उम्मेदवार परम्परागत मात्रै रहेछन् भन्ने देखाएको उहाँको भनाइ छ । चुनावी एजेण्डा सबै दलका एउटै रहेको भन्दै ती योजनासमेत पुरा नगर्ने उहाँ बताउनुहुन्छ ।

“अहिलेका घोषणापत्रमा एउटा पनि नयाँपन छैन, सबै पुराना छन्, अघिल्लो पटक भोट माग्न आउँदा पनि यही सुनाउँथे, अहिले पनि यही सुनाउँछन्”, उहाँले भन्नुभयो, “हामी मतदाता उनीहरुको योजना मात्रै सुन्ने भइयो, विकास देख्न र उपभोग गर्न पाइने भएन, एउटै योजना गछौँ भनेको वर्षौं भयो तर अहिले पनि उही एजेण्डा सुनाएर भोट माग्छन् ।”

ढोरपाटन–२ का दिपक खत्रीले उम्मेदवारको एजेण्डामा गरिब, दुःखी र अपाङ्गता भएका व्यक्ति मुद्दा समावेश हुन नसकेको बताउनुभयो । उहाँले वर्षौंदेखि स्वास्थ्य, शिक्षा, रोजगार र यातायातका विषयलाई प्रमुख एजेण्डा बनाए पनि अवस्था कति पनि फेरिन नसकेको बताउनुभयो । निर्वाचित हुने उम्मेदवारले एजेण्डाअनुसार काम नगर्दा जनताले विश्वास गर्न छाडिसकेको उहाँको भनाइ छ ।

“चुनावकाबेला निकै महत्वकाङ्क्षी योजना सुनाएर भोट माग्छन्, चुनाव जितेपछि कता हराउँछन्, मैले थाहा पाउने भएदेखि अहिलेसम्म जति पनि चुनाव भए नेताहरुको एजेण्डा स्वास्थ्य, शिक्षा, रोजगार नै भयो, तर काम गरेको भने केही देखिँदैन”, खत्रीले भन्नुभयो, “सडकको अवस्था हेर्नुस् कस्तो छ, शिक्षाको हालत उस्तै, रोजगारको त झन के कुरा गरौँ दिनदिनै युवा विदेश पलायन भइरहेका छन्, यहाँका कुनै पनि नेताले एउटा पनि युवालाई रोजगार दिएका छैनन्, बरु पासपोर्ट बनाइ दिएर विदेश पठाएका छन् ।”

उहाँले एजेण्डाअनुसारको काम भएको भए पश्चिम बागलुङमा न्यूनतम विकासका पूर्वाधार निर्माण भइसक्ने बताउनुभयो । एउटा सामान्य योजना पूरा गर्न वर्षौं लाग्ने र पटकपटक चुनावमा उही एजेण्डा लिएर आउने गरेको उहाँको भनाइ छ । खत्रीले भन्नुभयो, “एजेण्डा राम्रो लिएर के गर्ने काम गर्दैनन्, चुनावैपिच्छे एउटै एजेण्डा हुन्छ, एउटा योजना पूरा गर्न वर्षौं लगाउँछन्, चुनावका बेला आएर हामीहरुलाई अनेक आश्वासन दिन्छन्, काम गर्दैनन् ।”

स्थानीय पवित्राकुमारी विकले आफूहरु वर्षौंदेखि खानेपानीको समस्या भोगिरहेको भन्दै चुनावका बेला आश्वासन मात्रै दिने गरेको बताउनुभयो । उहाँले हरेक चुनावका बेला घरघरमा पानी धारो निर्माण गरिदिने भन्दै घोषणापत्रमै लेखे पनि अहिलेसम्म काम भने गर्न नसकेको बताउनुभयो ।

“हामीहरु वर्षौंदेखि खानेपानीको अभावमा काकाकूल जस्तै बनेका छौँ, चुनावका बेला किताबमै एक घर एक धारा बनाउँछौँ भनेर लेखेका हुन्छन्, नेताले पनि हामी तपाईहरुका लागि काम गछौँ भन्छन् तर चुनाव सकिएपछि कहाँ लापत्ता हुन्छन्”, विकले भन्नुभयो, “अहिले पनि चुनाव आयो फेरि पनि त्यही कुरा गरेर भोट माग्छन् ।”


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *