यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट ः कञ्चनपुर र डडेल्धुरा फाइनलमा भिड्दै

कञ्चनपुर र डडेल्धुरा यहाँ जारी वाइवाइ यू–१९ सुदूरपश्चिम छनोट प्रतियोगिताको फाइनलमा आज भिड्दै छन् । महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा डडेल्धुराले कैलालीलाई ६२ रनले तथा कञ्चनपुरले अछामलाई ३० रनले पराजीत गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

टस जितेर ब्याटिङ रोजेको कञ्चनपुरले निर्धारित ४० ओभरमा सम्पुर्ण विकेटको क्षतिमा मात्र ७८ रन जोड्न सफल भयो । कञ्चनपुरका लागि राहुल चन्दले २३ बलमा सर्वाधिक २५ रन बनाए । यस्तै अभिषेक थापाले १२ बलमा १४ रन तथा हेमन्त धामीले १० बलमा १३ रन बनाए ।

यसैगरी ७९ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको अछामले निर्धारित ४० ओभरको खेलमा १६ दशमलव पाँच ओभरमा सम्पुर्ण विकेटको क्षतिमा मात्र ४८ रन बनाउन सक्यो । उसका लागि हरिश धामीले १७ बलमा सर्वाधिक १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । उक्त खेलको म्यान अफ दी म्याच कञ्चनपुरका हेमन्त धामी घोषित भए ।

त्यसैगरी अर्को खेलमा डडेल्धुराले कैलालीलाई ६२ रनले पराजित ग¥यो । टस जितेर पहिला ब्याटिङ रोजेको डडेल्धुराले निर्धारित ४० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन बनायो । एक सय ४१ रनको लक्ष्य पछ्याएको कैलालीले २६ दशमलव एक ओभरमा सवै विकेट गुमाउँदै मात्र ७९ रन बनाउन सक्यो । डडेल्धुराका लागि कप्तान कैलाश ऐरले २१ बलमा २४ रन बनाए । यस्तै अरुणप्रकाश दानीले ३१ बलमा १७, विकास ऐरले अविजित रहँदै १८ बलमा १७, निर्मल पुन मगरले ३७ बलमा १६, दिपक बोहराले १७ बलमा १४ तथा सचीन साउदले २३ बलमा १४ रन बनाए ।

जवाफी ब्याटिङ गर्ने क्रममा कैलालीका लागि नरेन साउदले १४ बलमा १८, प्रवेश साउदले २४ बलमा २४, सन्दीप विष्टले ३९ बलमा १४ र दिनेश ओडले २७ बलमा १४ रन बनाए । उक्त खेलको म्यान अफ दी म्याच डडेल्धुराका कृष्ण विष्ट घोषित भए ।

जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले प्रदेशका सबै जिल्लाका टोलीबाट उत्कृष्ट खेलाडी छनोट गरेर सुदूरपश्चिम प्रदेशको टोली बनाइने बताउनुभयो । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा यही मङ्सिर सात गतेदेखि काठमाडौँमा वाइवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *