‘औषधि, खानपान र व्यायामको सन्तुलनले मधुमेह नियन्त्रणमा आउनसक्छ ’

चितवन, २ मङ्सिर (रासस) ः मधुमेहका बिरामीहरुले औषधि, खानपान र व्यायामको सन्तुलन कायम गर्नसकेमा लामो आयु जीउन सक्ने चिकित्सकले बताएका छन् ।

स्वस्थ खानपान र नियमित व्यायामले मधुमेह रोगबाट बच्न सकिने जनाउँदै उहाँहरुले मधुमेह भइसकेपछि पनि औषधि, खानपान र व्यायामको सन्तुलन मिलाएर सहज जीवनयापन गर्न सकिने सुझाव दिनुभयो ।

चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिष्ट (हर्मनरोग विशेषज्ञ) डा सौरव खतिवडाले मधुमेह वयस्क मानिसलाई मात्रै नभएर युवालाई पनि लाग्ने जनाउँदै जीवनशैली परिवर्तन गरेर सहज जीवनयापन गर्नुपर्छ भन्नुभयो । औषधि, खानपान र व्यायामले मधुमेहलाई नियन्त्रणमा राख्न सकिने उहाँले सुझाव दिनुभयो । “गर्भावस्था, शल्यक्रियाको समय र अन्य औषधिका कारणले हुने मधुमेह पछि निको भएर जाने भए पनि यीबाहेकका प्रायः मधुमेह पूर्णरुपमा निको हुँदैनन् ।” उहाँले भन्नुभयो, “यो बढ्दै जाने रोग हो । यसलाई औषधि, खानपान र व्यायामले नियन्त्रणमा राख्न सक्छौँ ।”

उहाँका अनुसार नेपालका १० देखि २० प्रतिशत जनसङ्ख्यामा मधुमेहको समस्या रहेको अनुमान गरिएको छ । मधुमेहका बिरामी आफँै सचेत भएर रोगलाई नियन्त्रणमा राख्नुपर्ने बताउँदै डा खतिवडाले भन्नुभयो “खानपानलाई नियन्त्रणमा राख्नुपर्छ, व्यायाम गर्नुपर्छ, औषधि नियमित खानुपर्छ ।”

औषधि र इन्सुलिन लिइरहनुभएका बिरामीले सही तरिकाले औषधि खान र इन्सुलिन लगाउन उहाँले सुझाव दिनुभयो । डा खतिवडाले भन्नुभयो, “चिनीको मात्रा उच्च वा न्यून भयो भने के कारणले यस्तो भएको हो भन्ने कुरा पत्ता लगाउनुपर्दछ ।”

मधुमेहका बिरामीले पनि सामान्य एकजना व्यक्तिले खाने सन्तुलित खाना नै खान सक्ने बताउँदै डा खतिवडाले भन्नुभयो, “खानामा कार्बाेहाइड्रेडको मात्रा नियन्त्रणमा राख्नुपर्छ । मुख्यरुपमा सजिलै चिनी निस्किने खालको कार्बाेहाईड्रेड नभएको खाना खानुपर्छ । बिहान, दिउँसो र बेलुकीको खानामा म यति कार्बाेहाइड्रेड भएको खान्छु भन्ने निश्चित गर्नुपर्दछ । कहिले बढी खाने कहिले कम खाने गर्नु हुँदैन ।” मधुमेहका बिरामीलाई दुईदेखि तीन पटक अन्न खान सुझाव दिँदै उहाँले अन्य समयमा पनि थोरैथोरै तर कम अन्नयुक्त खानेकुरा खान सुझाउनुभयो ।

कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरका कन्सल्टेन्ट फिजिसियन डा देवनारायण जैसीले मधुमेहका बिरामीलाई पनि शरीरमा सुगरआवश्यक पर्ने बताउनुभयो । उहाँले मधुमेहका बिरामीको शरीरमा पनि सुगर चाहिने तर आवश्यकताभन्दा बढी हुन नहुने बताउनुभयो । उहाँले भन्नुभयो “मधुमेहका बिरामीको शरीरलाई सुगर चाहिंदै नचाहिने भन्ने होइन, तर आवश्यकताभन्दा बढी हुनु हुँदैन । सुगर भनेको शरीरका लागि इन्धन हो ।” सुगरको मात्रा बढी भएर शरीरले त्यसको व्यवस्थापन गर्न नसकेपछि समस्या आउने उहाँले बताउनुभयो ।

पहिलेपहिले ४० वर्षपछि मधुमेह रोग देखिन्छ भन्ने गरिएको भए पनि हिजोआज जीवनशैलीमा परिवर्तन आएपछि कम उमेरमै मधुमेह देखिन थालेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो “खानपानका कारण कलिलो उमेरमै मोटोपनको समस्या, व्यायाम नगर्ने जस्ता कारणले हिजोआज २५–३० वर्षदेखि नै मधुमेहको समस्या देखिने गरेको छ । यसको मुख्य कारण जीवनशैली नै हो ।”

बुबाआमालाई मधुमेह छ भने त्यस्तो व्यक्तिलाई मधुमेह हुने सम्भावना बढी हुने जनाउँदै उहाँले अनियन्त्रित रुपमा बाहिरी खाना धेरै खाने, व्यायामको कमी हुने व्यक्तिहरुलाई मधुमेह हुने सम्भावना पनि बढी हुने बताउनुभयो ।

धेरैजसो मधुमेहको समस्या नियन्त्रण गर्न सकिने बताउँदै उहाँले भन्नुभयो, “घरमा तयार पारिएको सन्तुलित खाना ठिक्क मात्रामा खाने, जङफुड नखाने, बोसो र चिल्लोयुक्त खाना नखाने, नियमित व्यायाम गर्ने हो भने धेरैजसो मधुमेहबाट बच्न सकिन्छ ।”

मधुमेह लागिसकेपछि शरीरको तौल घट्दै जाने जनाउँदै उहाँले भन्नुभयो, “पटक पटक पिसाब लाग्नु, धेरै भोक लाग्नु, मुख सुक्दै जानु, हातखुट्टा झम्झमाउनु, कमजोर महसुस हुनु भनेको मधुमेहका लक्षण हुन् । यस्तो लक्षण देखिएमा तुरुन्त रगत परीक्षण गराउनुपर्दछ ।”

गर्भवतीलाई पनि मधुमेहको जोखिम हुने डा जैसीको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले २४ देखि २८ हप्ताको बीचमा गर्भवतीको मधुमेह परीक्षण गर्ने गर्दछौँ । गर्भवती हुनुभन्दा पहिले नै तौल बढी छ, मोटोपना छ, यसभन्दा पहिलाको गर्भावस्थामा पनि मधुमेह भएको छ भने दोस्रो गर्भावस्थामा मधुमेह हुने सम्भावना बढी हुन्छ ।” गर्भावस्थाको सुरुआती चरणदेखि नै मधुमेह परीक्षण गराउन उहाँले सुझाव दिनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *