सकारात्मक विचारले तनावमुक्त जीवन

शुक्लाफाँटा नगरपालिका– १० झलारीका जयबहादुर ऐर निरोगी, हसिलो, फुर्तिलो देखिनुहुन्छ । तनावमुक्त जीवनशैली अपनाउँदा उहाँको जीवनमा परिवर्तन आएको हो ।

दैनिक बिहानको नित्यकर्म सकेर उहाँले योगा गर्नुहुन्छ । तनाव सिर्जना गर्ने कार्यबाट टाढा बस्नु हुन्छ । निरोगी हुनुको रहस्य खोतल्दै उहाँले भन्नुभयो, “शरीरलाई निरोगी राख्नका लागि सन्तुलित भोजनको सेवन गर्नु आवश्यक छ, तनावबाट मुक्त हुनका लागि सकारात्क सोच अपनाउनुपर्छ ।” यिनै कुरालाई जीवनमा लागू गर्दा निरोगी हुन सकेको उहाँ निर्धक्कसँग बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “तनावबाट बच्नका लागि जीवनशैली परिवर्तन गर्न आवश्यक छ, तनावको मुख्य कारण आधुनिक जीवनशैली अपनाउनु पनि हो, तनावको मुख्य कारण नै मनमा आउने नकारात्मक सोच जिम्मेवार रहेको छ ।”

योग साधनामा लामो समयदेखि लाग्दै आउनुभएका यज्ञराज जोशी नकारात्मक विचारबाट आपसी व्यवहारमा कटुता आउने, क्रोध बढ्ने, वैरभावको विकास हुने, एक अर्काप्रति घृणाको भावना पैदा हुने गरेको बताउनुहुन्छ ।

“नकारात्मक विचारबाट दृष्टिकोण र व्यवहार नकारात्मक बन्दछ”, उहाँले भन्नुभयो, “जसले गर्दा मनमा तनाव पैदा हुन्छ, तनावका कारणले मानसिक र शारीरिक बिरामी हुने सम्भावना बढेर जान्छ ।” योग साधना र ध्यानले मनोबललाई मजबुत गरी तनावबाट मुक्ति पाउन सकिने उहाँले बताउनुभयो ।

“योग र ध्यानले मनमा एकाग्रता बढ्न गई सकारात्मक विचार चल्न सुरु हुन्छ, यसका लागि सात्विक भोजन, राम्रो सङ्गत र सकारात्मक चिन्तन हुनु जरुरी छ”, उहाँले भन्नुभयो । मनमा चल्ने नकारात्मक विचारले क्रोध बढ्न गई झैँ–झगडा हुने, तनाव सिर्जना हुने, अनिन्द्रा हुनेलगायतका समस्या देखापर्ने गरेको उहाँले उल्लेख गर्नुभयो ।

“मनमा तनाव भएमा लागुऔषधको अम्मलीको सिकार हुने गरेको कुरा समाजमा देखेका र सुनेका छौँ”, उहाँले भन्नुभयो, “जसका कारण धनसम्पत्ति गुमाउने सँगै जीवन बर्वाद हुने गरेको छ, परिवारलाई समेत यस कार्यले तनावमा पार्ने गरेको छ ।”

“तनावका कारण परिवारलाई असल मार्गमा डो¥याउन नसक्दा घरका युवा लागुऔषधको दुव्र्यसनी बनेका छन्, जेल जीवन बिताउन बाध्यछन्”, उहाँले भन्नुभयो, “असल समाज निर्माण गर्नका लागि ध्यान, एकाग्रता, योग, नैतिक शिक्षाको आवश्यकता छ ।”

भारतको राजिस्थान प्रान्तको मान्ट आबुस्थित प्रजापति ब्रह्मकुमारी विश्वविद्यालयबाट प्रवचन दिनका लागि शुक्लाफाँटा नगरपालिकाको झलारी आइपुगेका भगवान् भाइले मनमा चल्ने नकारात्मक विचार, शङ्का, इष्या, घृणा, अभिमानका कारण मानवमा क्रोध आउने बताउनुभयो ।

“क्रोधका कारण आपसी मनमुटाव, सम्बन्धमा चिसोपन, मानसिक र शारीरिक समस्या हुने गर्दछ”, उहाँले भन्नुभयो, “सकारात्क चिन्तन नै क्रोधमुक्त बनाउने सञ्जीवनी बुटीका रुपमा रहेको छ, आध्यात्मिक ज्ञानले आपसी भाइचारा, स्नेहको विकास गरी खराब कार्य पनि राम्रो देख्ने हुन जान्छ, जसबाट क्रोध मुक्त हुन सकिन्छ ।” उहाँ भन्नुहुन्छ, “क्रोध मुर्खताबाट प्रारम्भ भएपश्चात् सकिन्छ, त्यसलाई मनलाई एकाग्र बनाई ध्यान गर्नु जरुरी छ, यसले आत्मबललाई मजबुत बनाउँछ ।”


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *