पूर्वमुख्यमन्त्री राईलाई पराजित गर्दे किराँती विजयी

भोजपुरमा प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुदन किराँती प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले राईलाई दुई हजार तीन सय ८५ मतान्तरले पराजित गर्नुभएको हो ।

किराँती तेस्रो पटक सांसदमा विजयी हुनुभएको हो । उहाँले २८ हजार पाँच सय ७८ मत प्राप्त गर्नुभयो भने एमालेका राईले २६ हजार एक सय ९३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस क्षेत्रमा कूल एक लाख २३ हजार तीन सय ७९ मतदाता रहेकामा ६१ हजार आठ सय ३० जनाले मतदान गरेका थिए । तीन हजार एक सय ६८ मत बदर भएको थियो । भोजपुरमा प्रतिनिधिसभातर्फ १२, प्रदेशसभा (१) मा सात तथा प्रदेशसभा (२) मा छ उम्मेदवारले निर्वाचनमा भाग लिनुभएको थियो ।

भोजपुरमा प्रदेशसभा (१) मा एकीकृत समाजवादी पार्टीका उम्मेदवार एवं प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई विजयी हुनुभएको छ । उहाँले १६ हजार एक सय १० मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका हरिबहादुर राईले १२ हजार दुई सय २३ मत ल्याउनुभएको छ ।

यस्तै प्रदेशसभा (२) मा नेपाली कांग्रेसका जिल्ला सभापति विनोद वान्तवा १३ हजार पाँच सय ७९ मत ल्याउँदै विजयी बन्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेका खड्गबहादुर कार्कीले १२ हजार आठ सय ३८ मत मात्र प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । समानुपातिकतर्फको मतगणना शुक्रबारदेखि थालिने मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *