जाडोयामभर नियमित दाउरा सङ्कलनमा सहज

चिसोको समयभर आगो ताप्ने प्रयोजनका लागि रसुवाका जङ्गलबाट दाउरा सङ्कलन गर्न सहज बनाइएको छ । जिल्लाको माथिल्ला बस्तीमा चिसो बढ्दै गएका कारण कठ्याङ्ग्रिने जनजीवनलाई सहज बनाउन दाउरा सङ्कलनलाई प्राथमिकता दिइएको हो ।

जिल्ला विपद् व्यवस्थापनको अनुरोधमा लाङ्टाङ राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उत्तरी हिमाली क्षेत्रका बासिन्दालाई मात्र नियमित दाउरा सङ्कलनको छुट दिएको हो । दाउरा सङ्कलनका लागि शुल्क नलाग्ने बताइएको छ ।

नियमितरूपको दाउरा भने जाडोको समय अर्थात् आगामी फागुन १५ सम्मका लागि मात्र आगो ताप्ने प्रयोजनका लागि सुके, ढलेको तथा बोटमै सुकेका हाँगाबाट दैनिक सङ्कलन गर्न दिने निकुञ्ज तथा वन प्राविधिकले सहमति दिएका हुन् ।

दाउरा सङ्कलन गर्न वनजङ्गल पस्दा वन्यवन्तुलाई हाहु गरेर तर्साउने वा मार्ने काम गर्न नपाइने वन प्राविधिकले स्पस्ट पारेका छन् । हरियो खाले कुनै पनि वनस्पति काट्न वा मास्न नपाइने बताउँदै वन क्षेत्रका अधिकारीले तोकिएको भन्दा फरक तरिकाले गैरकानुनी कार्य गरेको पाइएमा नियमानुसार कारबाही हुनेसमेत जनाइएको छ ।

निकुञ्जका वन प्राविधिक नितेन्द्र सिंहले स्थानीय उपभोक्ता समितिको सिफारिसका आधारमा प्रत्येक हप्ता–हप्तामा मात्र दाउरा सङ्कलनका लागि उपभोक्ता जङ्गल जान पाउने प्रावधान परिमार्जन गरिएको जानकारी दिनुभयो । उहाँले बढ्दो चिसोपनलाई मध्यनजर राखी जिल्ला विपद् व्यवस्थापन समितिको अनुरोध र आफ्ना उपभोक्ताको आवश्यकता परिपूर्ति गर्न प्रतिघर परिवार दैनिक एक–दुई भारी दाउरा सङ्कलनमा छुट गरिएको बताउनुभयो ।

दाउरा सङ्कलनको निहुँमा काँचो वनस्पति काट्ने, वन्यजन्तु वा पक्षी मार्ने, तर्साउने गरेको पाइएमा कारबाही हुने जनाइएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख अनिल रेग्मीले भने वन डिभिजनको कार्यक्षेत्रमा पर्ने सबै वन समुदायमा हस्तान्तरण भइसकेको बताउनुभयो । स्थानीय उपभोक्ताले परम्परागतरूपमा जे–जति वन पैदावार उपभोग गर्दै आएका छन् ती वस्तु उपभोगमा हालसम्म रोकतोक नभएको उहाँले स्पष्ट पार्नुभयो ।
जिल्लाका भू–भागमध्ये लाङ्टाङ निकुञ्ज क्षेत्रको नौकुण्ड गाउँपालिकाअन्तर्गत यार्सा, ग्राङ्मर, सिङ्वन्दी, चोरेचो, संयुल, लोकिल, कालिका गाउँपालिकाअन्तर्गत लोकिल, राम्चे, ग्राङ, गुम्वुडाँडा, स्याउबारी, गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत ठाडे, धुञ्चे, नागुङ, चन्दनबारी, भार्खु, ठुलोस्याफ्रु, बृद्विम, लाङ्टाङ, टिमुरेको खैदीसमेतका क्षेत्र जाडोले प्रभावित हुने गरेको बताइएको छ ।

यसैगरी डिभिजन वन कार्यालयको इलाका क्षेत्रमध्ये उत्तरगया गाउँपालिकाको तिरू, आमाछोदिङ्मो गाउँपालिकाको हाकु, नेसिङ, ग्रे, स्यो, गोल्जुङ, गतलाङ, तातोपानी, सिम्बु, टेचाङ्चे गोसाइँकुण्ड गाउँपालिकाको थुमन तथा नाकथलीसमेतका स्थान हिमपात एवं जाडो प्रभावित क्षेत्र भएको सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले बताउनुभयो ।

यी क्षेत्रमा चिसोपन बढिसकेको र मौसममा केही परिवर्तन आउँदा साथ हिमपात हुनसक्ने र गाउँले जनजीवन कठ्याङ्ग्रिने भएकाले डिभिजन वन तथा निकुञ्ज कार्यालयबाट दाउराको व्यवस्थापन गराउने र असहाय ज्येष्ठ नागरिक तथा गरिब महिला एवं बालबालिकाका लागि न्यानो कपडा व्यवस्था मिलाउन सरोकारवाला निकायलाई अनुरोध गरिसकिएको उहाँले बताउनुभयो ।

आगो ताप्ने काम घर बाहिर खुला ठाउँमा गर्न, नियमित तातोपानी पिउन, बालबालिका र ज्येष्ठ नागरिकलाई तातो स्थानमा राखी जाडोयाममा हुनसक्ने रूघाखोकी, निमोनियाजस्ता रोगप्रति सावधान रहन अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *