📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

यःमरिको स्वाद चाख्दै रमाए विदेशी पर्यटक

🕒 December 11, 2022

अष्ट्रेलियाबाट नेपाल भ्रमणमा आउनुभएकी कार्टलक्स र उहाँका पति ओमरान जोन भक्तपुरको ऐतिहासिक एवं सम्पदास्थल दत्तात्रय मन्दिरको डबलीमा बसेर महामाली नाच हेर्दा निकै मख्ख देखिन्थे ।

दत्तात्रय मन्दिर आसपमासमा शनिबार साँझ विद्युतीय बत्तीले झिलीमिली बन्दा देखिएको आकर्षक दृश्यमा भक्तपुर नगरपालिकाले प्रदर्शन गरेको सांस्कृति कार्यक्रमअन्तर्गत विदेशी पर्यटक महामाली नाच निकै चाख लिएर हेरिरहेका थिए भने नाचको तस्वीर लिन व्यस्त देखिन्थे ।

दत्तात्रय मन्दिर परिसरमा स्थानीयवासी दिउँसैदेखि लागेको भीड साँझ झन् बाक्लिँदै जाँदा मेला लागेको अनुभूति हुन्थ्यो । स्देशीहरूको त्यो भीडमा करिब ४० विदेशी पर्यटक पनि रुमलिँदै थिए । भक्तपुर नगरपालिकाले यहाँ प्रदर्शन गरेको विभिन्न सांस्कृतिक एवं परम्परागत नाच अवलोकन गर्दै यःमरि र अन्य नेवारी परिकारको स्वाद चाख्न व्यस्त देखिन्थे ।

अमेरिकन नागरिक अल्बर्ट स्टेन्टसहितका चार अमेरिकन नागरिक पनि माक प्याख र घिन्ताङघिसी नाच हेरे निकै मख्ख देखिन्थे । यहाँ भेला भएका अधिकांश विदेशी नागरिक यहाँको रात्रिकालीन समयमा प्रस्तुत गरिएका विभिन्न नाच हेरेर निकै रौसिएका थिए ।

रात्रिकालीन पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले शनिबार साँझ आयोजना गरेको सन्ध्याकालीन सांस्कृतिक पदयात्रा, यःमरि प्रदर्शनी, खाद्य उत्सव तथा सांस्कृतिक प्रस्तुतिमा स्वदेशी तथा विदेशी पर्यटक रमाएका हुन् ।

दत्तात्रय डबलीमा भक्तपुरका सांस्कृतिक परम्परा झल्कने नाच, भैल प्याँखः (भैरव नाच), माक प्याँख (बादर नाच), लाखे नाच, घिन्ताङघिसी नाच, बाँसुरी बाजा, नौमती बाजालगायतका विभिन्न बाजा एवं नाचको प्रस्तुतिले यहाँको कला, संस्कृति र परम्परालाई उजागर गरिरहेको देखिन्थ्यो ।
नगरपालिकाले आयोजना गरेको खाद्य उत्सवमा मन्दिर अगाडि रहेका स्टलमा राखिएको यःमरि, विभिन्न नेवारी परिकार, जुजुधौलगायतका परिकार किन्नेको भीड पनि उत्तिकै लागेको थियो । दत्तात्रय र भीमसेन मन्दिर अगाडि यःमरिका विभिन्न नामका परिकार स्टलमा सजिसजाउ थिए । २७ किलो चामलको पिठोमा बनेको छ फिट अग्लो यःमरिदेखि गणेश, कछुवा, हाँस, भाले, पोथी, धरहरा, शङ्ख, पुतली, गैँडालगायतका आकृतिमा बनेका यःमरिले यहाँको रौनक र यसको पहिचानलाई विभिन्न स्वरुपमा झल्काइरहेको थियो । भक्तपुरको हातले बुनेको प्रसिद्ध भादगाउँले टोपीदेखि यहाँ परम्पराग कोलबाट उत्पादित तोरीको तेल, जुजुधौसमेत स्टलमा बिक्रीका लागि राखिएका थिए ।

भक्तपुरको प्रसिद्ध दरबारस्क्वायरबाट सुरु भएको सन्ध्याकालीन सांस्कृतिक पदयात्रा, पोटरी स्क्वायर, पाँचतले मन्दिर, टौमढी, सुकुलढोका, दत्तात्रय, जेँला हुदै पुनः दत्तात्रय आएर प्रदर्शनीको अवलोकन गर्दै सांस्कृतिक नाचको प्रदर्शनी गरिएको थियो ।

भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा नगरपालिकाका उपप्रमुख रजनी जोशी, पर्यटन शाखाका प्रमुख गौतम लासिवा, जनप्रतिनिधि, कर्मचारी, स्वदेशी तथा विदेशी पर्यटकको उल्लेख्य सहभागितामा सुरु भएको पदयात्रा दत्तात्रयमा पुगेर खाद्य मेलाको अवलोकनपछि सांस्कृतिक नाचको प्रदर्शनसँगै सम्पन्न भएको थियो ।

कार्यक्रममा नगरप्रमुख प्रजापतिले सम्पदाको धरोहर भक्तपुरलाई सन्ध्याकालीन पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्वदेशी तथा विदेशी पर्यटकसमेतको सहभागितामा शनिबार पदयात्रा आयोजना गरेको बताउनुभयो । उहाँले कोरोना सङ्क्रमणका कारण स्थिर बनेको पर्यटनलाई चलायमान बनाउनु आवश्यक रहेको बताउँदै भक्तपुरमा आउने विदेशी पर्यटकको सङ्ख्या बढे पनि पुरानै लयमा फर्कन अझै समय लाग्ने बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरमा बाह्य तथा आन्तरिक पर्यटकलाई नाइट स्टेको रुपमा लैजाने नगरपालिकाको योजनालाई सफल पार्न यस्ता प्रदर्शनीलाई निरन्तरता दिने बताउनुभयो । कार्यक्रमका सञ्चालक एवं वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पर्यटन व्यावसायलाई आकर्षित गर्ने हेतुले आयोजना गरेको आन्तरिक तथा बाह्य पर्यटकसहित सहभागी गराई सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा गर्दै सांस्कृतिक महत्वको बोकेका सम्पदाहरूको परिचय दिएको बताउनुभयो । उहाँले यःमरिलगायत नेवारी परिकारको प्रदर्शनीले भक्तपुरको परिकारलाई पनि पर्यटकमाझ पस्कन सफल भएको जानकारी दिनुभयो ।