‘उपचार नपाई ज्यान गुमाउन नपरोस्’

काठमाडौँ पुरानो बानेश्वरस्थित ‘फ्रन्टलाइन अस्पताल’को सघन उपचार कक्ष ९आइसियु० मा गङ्गाबहादुर कार्की उपचाररत हुनुहुन्छ । उहाँको बोल्नका लागि मुख त चल्छ तर हात, गोडा नचलेको एक वर्षभन्दा बढी भयो ।

सङ्खुवासभा खादँबारी–६ का ३५ वर्षे कार्कीले यसैगरी पछिल्लो एक वर्ष कतारको अस्पतालमा बिताउनुभयो । तीनवर्षे कामदार भिसामा कतारको टे«डिङ एन्ड कन्ट्र्याक्टिङ गु्रपमा पुग्नुभएको उहाँले कामदारका रूपमा १३ महिना बिताएपछि सवारी दुर्घटनामा पर्नुभयो । दुर्घटनापछि ‘ट्रमाटिक पाराप्लेजिया’ भएको उहाँको शरीर ‘स्पाइनल इन्जुरी’का कारण त्यसयता राम्रोसँग चलेको छैन । दुर्घटनापछि कम्पनीले कतारमै एक वर्ष त उपचार ग¥यो तर अब थप उपचार नसक्ने भन्दै नेपाल पठाएपछि फ्रन्टलाइन अस्पतालको आइसियूमा उहाँ उपचाररत हुनुहुन्छ ।

“विसं २०७८ कात्तिक २६ मा दुर्घटनापछि एक वर्ष त कम्पनीले उपचार खर्च व्यहो¥यो, तर अब थप उपचार गर्न नसक्ने भन्दै नेपालस्थित दूतावासलाई जानकारीबिना नेपाल पठाइदियो”, उहाँको सहयोगार्थ खटिनुभएका कुमार घिमिरेले भन्नुभयो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन०का उपाध्यक्षसमेत रहनुभएका घिमिरेले उपचारका लागि हाल आर्थिक सहयोग जुटाउनेसम्मको काम गरिरहनुभएको छ ।

पहाडी जिल्ला सङ्खुवासभाबाट परिवारको खर्च जुटाउन खाडी मुलुक पुग्नुभएका उहाँका दुःख कतार पुगेको केही समयदेखि नै सुरु भयो । उहाँ २०७६ साल मङ्सिरमा कतार पुग्नुभयो । छ महिनापछि सुत्केरी हुन नसक्दा उहाँको श्रीमतीको निधन भयो । त्यसबेला कोरोना महामारीले नेपालमा लकडाउन थियो । सीमा नाका र अन्तर्राष्ट्रिय हवाई उडान बन्द थिए । फलस्वरुप कार्कीले नेपाल फर्केर श्रीमतीलाई अन्तिम बिदाइ गर्न पाउनुभएन ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा काठमाडौँ थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा ल्याइए पनि श्रीमतीको उपचारका क्रममा मृत्यु भएको कार्कीको भनाइ छ । श्रीमती गुमाउनुको पीडामाथि आफू चल्नै नसक्ने गरी बिरामी हुँदा दुईजना अबोध बालकको भविष्य अन्योलले उहाँलाई झन् पिरोलेको छ । “जेठो छोरो १० वर्षको भयो तर सुस्तःमनस्थितिको छ, सात वर्षको कान्छो अझै बुझ्ने भएको छैन”, आइसियु कक्षको शय्याबाटै उहाँले भन्नुभयो, “म आफैँ उपचारको अभावमा अबोध बालकलाई छाडेर जानुपर्ने हो कि भन्ने चिन्ताले बढी सताउन थालेको छ ।”

पहाडी जिल्ला सङ्खुवासभाको सामान्य परिवार त्यसमाथि कमजोर आर्थिक अवस्थाका कारण कार्कीले आफ्नै उपचार गराउनसक्ने हैसियत छैन । उहाँको उपचारमा खटिनुभएका डाक्टर चक्रराज पाण्डे कार्की निको हुन कम्तीमा एक वर्ष अझै उपचार गराउनुपर्ने बताउनुहुन्छ । त्यतिञ्जेलसम्मका लागि ठूलो आर्थिक सहयोग आवश्यक पर्छ । तर कार्कीको बैंकमा आफ्नै शरीर निको पार्ने गरी कमाएको पैसा छैन ।

“अहिले जसोतसो सहयोगस्वरुप प्राप्त भएको रकमले उहाँको उपचार भइरहेको छ”, कार्कीको उपचारमा खटिरहनुभएका घिमिरेले भन्नुभयो, “उपचार गर्न धेरै समय लाग्ने भएपछि पैसा पनि धेरै चाहिन्छ, अब आर्थिक सहयोगका लागि अपिल गर्नुको विकल्प छैन ।”

कार्कीको उपचारका लागि बीमा बापतको रकम अझै प्राप्त भएको छैन भने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयमा क्षतिपूर्तिका लागि माग गरिएको छ । तर हालसम्म कतारको सम्बन्धित कम्पनी, बीमा रकम तथा सरकारले दिने क्षतिपूर्तिको कुनै सहयोग प्राप्त नभएको कार्कीको भनाइ छ । एक वर्षभन्दा बढी समय अस्पतालको शय्यामा बिताउनुभएका कार्कीसँग सरकारले निको हुने गरी सहयोग गरिदिन्छ कि भन्ने आशा भने अझै पनि मनमा छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *