प्रहरी स्थानीयबीच झडप हुँदा पाँच घाइते

महोत्तरीको रामगोपालपुर नगरपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा बिहीबार पाँच जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार झडपमा नेपाल प्रहरीका दुई, सशस्त्र प्रहरीका दुई र एक जना रामगोपालपुर नगरपालिकाका नगर प्रहरी घाइते भएका छन् ।

रामगोपालपुर नगरपालिका–५ बस्ने डा पङ्कज चौधरीले पत्नी नेहा चौधरीलाई घरभित्र पस्न नदिएपछि उत्पन्न भएको विवादले उग्ररुप लिँदै आन्दोलनमा परिणत भएपछि रामगोपालपुरमा प्रहरी र स्थानीयबीच झडप भएको हो ।

औरही नपा–१ माइती भएकी नेहाले पतिविरुद्ध घरेलु हिंसा र दाइजोविरुद्धको मुद्दा दिएकामा मङ्सिर २६ गते महोत्तरी जिल्ला अदालतले संरक्षणात्मक आदेश जारी गर्दै नेहालाई घरभित्र प्रवेश गर्न दिन भनेपछि नेहा अदालतको पत्र लिएर पतिको घर रामगोपालपुर–५ मा पुगेपछि त्यहाँ ताल्चा लागेको थियो ।

ताल्चा लागेका घर अगाडि नै नेहाले धर्ना बसेपछि स्थानीयवासीले नेहालाई घरभित्र प्रवेश गराउनुपर्ने माग राख्दै आन्दोलन गर्न थालेका छन् । स्थानीयले रामगोपालपुरका नगरप्रमुखले नेहाका सासु, ससुरालगायत परिवारका व्यक्तिलाई लुकाएर संरक्षण दिइरहेको आरोप लगाउँदै नगरपालिका भवनमा तोडफोड, सडक जामलगायत कार्यक्रम गर्न थालेपछि आन्दोलनले उग्ररुप लिएको थियो भने प्रहरी र स्थानीयबीच पटक–पटक झडप भएको हो ।

यता प्रहरीले नेहाको पति डा पङ्कज चौधरीलाई पक्राउ गरी उनीविरुद्ध विवाहमा दाइजो लिएको मुद्दामा अनुसन्धान गरिसकेको तथा घरेलु हिंसा मुद्दाउपर पनि अनुसन्धान गरिरहेको अवस्थामा थप आन्दोलन गर्नु नपर्ने भन्दै प्रहरी प्रमुख कृष्ण पङ्गेनीले बिहीबार नगरपालिकाको भवन तोडफोड र सडकमा चक्काजाम गराएको आरोपमा नेहा चौधरी र उनका सहयोगी निहारिका सिंह राजपुतलाई पनि नियन्त्रणमा लिएको हो ।

अहिले रामगोपालपुरको अवस्था तनावग्रस्त रहेको छ भने त्यहाँ व्यापकरूपमा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको हो । नेहाले डा पङ्कजसँग गत फागुन महिनामा रु ५० लाख बढी दाइजो दिएर रु एक करोड बढी लागतमा विवाह गरेकी थिइन् । तर पतीले थप दाइजोका रूपमा काठमाडौँमा घर किनिदिन माइती पक्षसँग भन्नका लागि नेहालाई शारीरिक र मानसिक यातना दिँदै आएको र घरबाट समेत निकाला गरिदिएपछि नेहाले कानुनी बाटो अपनाएकी छिन् ।

तर अदालतको आदेशको पनि अवज्ञा गर्दै ससुराली पक्षले नेहालाई घरभित्र पस्न नदिएपछि विगत चार–पाँच दिनदेखि नेहा ससुराली घरको मूलढोकामा बस्दै आएकी छिन् र स्थानीयवासीले उनको न्यायका लागि आन्दोलन सुरु गरेको अवस्था छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *