मदिरा कारोबारलाई व्यवस्थित गरिँदै

शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र मदिराको कारोबारलाई व्यवस्थित गरिने भएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि तयार गरी मदिराको कारोबारलाई व्यवस्थित गर्ने भएको छ ।

मदिरा तथा सुर्तिजन्य पदार्थको कारोबार नगरपालिकाको मुख्य बजार गर्जमनी चोकबाट कलुवापुर चौराहसम्मको पूर्व–पश्चिम राजमार्गको उत्तर–दक्षिण दुई सय मिटर बजार क्षेत्रबाहेक अन्य सार्वजनिकस्थलभन्दा पाँच सय मिटर टाढामात्रै गर्न पाइने भएको छ ।

मदिरा बिक्री वितरण, व्यवस्थापन तथा नियमन निर्देशिका, २०७६ का शर्त पालना गर्न व्यवसायीले मञ्जुर गरेको व्यवहोरा सम्बन्धित वडा कार्यालयबाट तयार पारिने स्थलगत मुचुल्कासँगै सिफारिसपत्रमा स्पष्टरूपमा उल्लेख भएको हुनुपर्ने व्यवसाय दर्ता शाखाका प्रमुख लक्ष्मीदत्त पाण्डेयले बताउनुभयो ।

व्यवसाय दर्ताका लागि निवेदन, मुचुल्का र सिफारिस साथ आएका व्यवस्थायीको स्थानको निरीक्षण गरेरमात्रै अनुमति दिइने उहाँले बताउनुभयो । “नगरपालिकासँग कानुनी प्रावधान नहुँदा विगतमा विद्यालय, स्वास्थ्य संस्था, मठमन्दिरजस्ता धार्मिक महत्वका स्थान नजिकै मदिराजन्य र सुर्तिजन्य कारोबार गर्ने पसल राखिए थिए”, उहाँले भन्नुभयो, “त्यसलाई व्यवस्थित गर्न कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको छ ।”

मदिराको सेवनले गर्दा सार्वजनिकस्थलमा हुने अवाञ्छित क्रियाकलाप, हो–हल्ला, झै–झगडालगायतका कार्य नियन्त्रण गरी कानुनी कारबाही गर्नका लागि कार्यविधिले मार्गप्रशस्त गरेको उहाँको भनाइ छ । प्रचलित कानुन र कार्यविधिबमोजिम व्यवसाय दर्ता नगरी मदिरा, सुर्तिजन्य र अन्य कारोबार गरेको पाइएमा नगरपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा सुविधा रोक्का गर्न सकिने कार्यविधिमा कानुनी प्रावधान राखिएको छ ।

“नेपाल सरकारको सहयोग लिई सरकारी निकाय तथा अन्य सार्वजनिक संस्थानबाट प्रवाह हुने सेवा सुविधा रोक्का गर्न सकिने प्रावधान कार्यविधिमा राखेका छौँ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रराज भट्टले भन्नुभयो, “तीन महिनाभित्र व्यवसाय दर्ता, नवीकरण नगरी व्यवसाय सञ्चालन गरेमा कार्यालयले कर तिर्न अटेर गर्ने व्यवसायीको व्यवसाय बन्द गरी लाग्ने कर, जरिवाना र अन्य दस्तुर प्रचलित कानुनबमोजिम असुलउपर गर्ने नियम बनाइएको छ ।”

कार्यालयले ऐन तथा कार्यविधिबमोजिम तिर्नुपर्ने, बुझाउनुपर्ने कर रकम दाखिला नगर्ने व्यक्ति वा संस्थाको नाम कार्यपालिकाबाट निर्णय गरी सार्वजनिक गर्ने उहाँको भनाइ छ । कार्यविधिबमोजिम एकपटक नगरपालिका कार्यालयमा एक प्रकारको व्यवसाय दर्ता भइसकेपछि त्यसमा तोकिएको दस्तुर लिई एकै प्रकृतिको व्यवसायबाहेक अन्य प्रकृतिको व्यवसाय थप गर्न नपाइने भएको छ ।

नगरपालिकामा रहेका व्यवसायीले प्रचलित श्रम ऐन तथा श्रम सङ्गठनसँग सम्बन्धित कानुनको पूर्णरूपमा पालना गर्नुपर्ने प्रावधान कार्यविधिमा राखिएको छ । व्यवसाय सञ्चालनका क्रममा उत्पादन हुने औद्योगिक, स्वास्थ्य, संस्थाजन्य र हानिकारक फोहरमैलाबाहेक साधारण फोहरमैला नगरपालिकाले तोकेको सेवाशुल्क लिई व्यवस्थापन गर्ने कुरा जारी गरिएको कार्यविधिमा उल्लेख गरिएको छ ।

कार्यविधि जारी भएपछि व्यवसाय दर्ता, नवीकरणका लागि सहजीकरण हुने छ । अभिलेख व्यवस्थापन गर्न सहज हुने छ । नगरपालिकामा दर्ता भई सञ्चालनमा रहेका विभिन्न प्रकारका व्यापार व्यवसाय गर्ने फार्म, उद्योगको सङ्ख्या एक हजार ४६ रहेको छ । यसमा कृषिजन्य तीन सय १९ र पशुजन्य ८१ रहेका छन्।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *