नवलपुरका मौरीपालक किसान यतिबेला मह काढ्न व्यस्त

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका मौरीपालक किसान यतिबेला मह काढ्न व्यस्त छन् । हिउँदे यामको मह काढ्ने समय अहिले चलिरहेको छ । यस यामको मह काढ्ने समय कात्तिक महिनादेखि सुरु हुन्छ ।

जिल्लाका किसानले कात्तिक महिनामा दाङमा चराउन लगेको मौरीको मह काढेर सकेका छन् । अहिले जिल्लाभित्र नै चराउन राखिएका घारबाट मह काढ्न सुरु भएको छ । नवलपुरमा तोरी ढिलो फुल्ने भएकाले पहिलो चरणमा चरणका लागि किसानले मौरी चरनका लागि अन्य जिल्लामा लैजाने गर्दछन् । पश्चिम नवलपरासीबाट दाङ, कपिलवस्तु, प्यूठानसम्म नवलपुरबाट मौरी चराउन लैजाने गरिएको छ । अन्यत्र चरनका लागि लगिएका मौरी अहिले जिल्लामा नै चरनका लागि तोरी फुलेपछि ल्याइएको नेपाल मौरीपालक महासङ्घ नवलपुरका अध्यक्ष यदुनाथ कँडेलले बताउनुभयो ।

थोरै लगानीबाट व्यवसाय सुरु गर्न सकिने र अन्य व्यवसायभन्दा सहज हुने भएपछि नवलपुरमा मौरीपालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ । बर्सेनि यो व्यवसायमा लाग्ने किसानको सङ्ख्या क्रमशः बढ्दै गएको अध्यक्ष कँडेलले बताउनुभयो । उहाँका अनुसार जिल्लामा अहिले झण्डै डेढ सय किसान मौरीपालन व्यवसायमा आबद्ध छन् । व्यावसायिकरूपमा बाहेक थोरै घार मौरी पाल्ने किसानको सङ्ख्यासमेत धेरै रहेको उहाँको भनाइ छ ।

महको प्रयोग स्वाथ्यका लागि लाभप्रद भएकाले यसको माग बढ्दै गएको छ । कोभिड–१९ महामारीपछि महको खपत झन् बढेको छ । “महको माग बढ्दै गएको छ, यो मौरीपालक किसानका लागि खुशीको कुरा हो, यसले उत्पादित महको बजारीकरणमा समस्या हुँदैन, कोभिड–१९ पछि महको खपत झन् बढेको छ, किसान उत्साहित छन्”, अध्यक्ष कँडेलले भन्नुभयो ।

नवलपुरका आठ स्थानीय तहमध्ये देवचुली नगरपालिकामा मौरीपालन गर्ने किसानको सङ्ख्या धेरै छ । देवचुलीका कतिपय किसान विगत २७ वर्षदेखि मौरीपालन व्यवसाय गर्दै आएको अध्यक्ष कँडेलले बताउनुभयो । मौरीपालन व्यवसायबाट मनग्य आम्दानी लिँदै आएको विगत दुई दशकअघिदेखि मौरीपालन गर्दै आउनुभएका राजेन्द्र रावलले बताउनुभयो । आफूले उत्पादन गरेको महको बजारीकरणमा समस्या नभएको उहाँले बताउनुभयो ।

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको अनुदानमा उहाँले मह प्रशोधन केन्द्रसमेत स्थापना गर्नुभएको छ । करिब रु ३३ लाखको लागतमा प्रशोधन केन्द्र स्थापना गरेपछि उत्पादित महलाई प्रशोधन गरेर बजार पु¥याउन थप सहयोग मिलेको रावलले बताउनुभयो । एक घारबाट सुरु गरेको मौरी एक सय घार बढी पुगेको उहाँको भनाइ छ । एउटा घारबाट वार्षिक ४० देखि ६० केजीसम्म मह उत्पादन हुने उहाँले बताउनुभयो ।

कावासोतीका मौरीपालक किसान चण्डिका लामिछानेका अनुसार मौरीपालनबाट पर्याप्त आम्दानी लिन सकिने भए पनि चरनको भने समस्या हुने गरेको बताउनुभयो । स्थानीयरूपमा चरनको समस्या हुँदा विभिन्न ठाउँमा लैजानुपर्ने बाध्यता छ । तोरी फुल्ने समयमा केही सहज भए पनि अन्य याममा भने चरनका लागि समस्या हुने गरेको उहाँले बताउनुभयो । फूल खेल्ने बोटबिरुवा लगाउने क्रम घट्दै जाँदा चरन क्षेत्र साँघुरो हुँदै गएको लामिछानेले बताउनुभयो । “तोरी फुल्दा केही समय चरण सहज हुन्छ, तर कतिपय फूल खेल्ने रैथाने बाली लगाउने क्रम घट्दो छ, यसले मौरी चरनको क्षेत्र साँघुरिँदै गएको छ”, उहाँले भन्नुभयो ।

रुदिलो, फापर, फिलिङ्गे, सिलाम, सूर्यमुखी, धनियाँ, ज्वानो, मेथी, चिउरीजस्ता मौरीले रस पाउने बोटबिरुवा चरनका लागि ठिक हुने भए पनि कतिपय बोटबिरुवा पाउनै छाडिएको र किसानले खेती गर्नसमेत छाड्ने गरेकाले मौरीपालक किसानलाई समस्या हुने गरेको लामिछानेले बताउनुभयो ।

नेपाल मौरीपालक महासङ्घ नवलपुरका अध्यक्ष कँडेलका अनुसार यस वर्ष जिल्लामा करिब ३० मेट्रिक टन मह उत्पादन हुने अनुमान गरिएको छ । उत्पादित मह स्थानीय बजारदेखि नजिकका सहरमा खपत हुने गरेको उहाँले बताउनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *