सर्लाहीमा मात्रै सवारी साधन कारबाहीबाट ९० लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक कार्यालय सर्लाहीले चालु आर्थिक वर्षको पाँच महिनामा सवारी साधन कारबाहीबाट रु ९० लाख २७ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार यसअवधिमा १२ हजार ५० वटा सवारी साधन कारबाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले पाँच महिनामा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २९ जनाको ज्यान गएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा दैनिक चार वटासम्म दुर्घटना हुने गरेको छ । यस अवधिमा जिल्लाका विभिन्न स्थानमा तीन सय ९७ वटा दुर्घटना भएका छन् भने दुर्घटनामा परेकामध्ये एक सय २५ जना गम्भीर घाइते भएका छन् ।

पछिल्ला तीन आर्थिक वर्षमा जिल्लामा दुर्घटना र त्यसमा परेर ज्यान गुमाउनेको सङ्ख्या लगातार बढ्दै गएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । आव २०७६/७७ मा एक सय ८४ वटा सवारी दुर्घटना भएकोमा ५० जनाको ज्यान गएको थियो । त्यस्तै आव २०७७/७८ मा ६ सय वटा सवारी दुर्घटना भएकामा ६२ जनाले ज्यान गुमाएको र आव २०७८/७९ मा आठ सय ४६ वटा सवारी दुर्घटना हुँदा ७९ जनाको ज्यान गएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लामा सडक र सवारी दिन प्रतिदिन असुरक्षित बन्दै गएको रौतहट सर्लाही यातायात प्रालिका अध्यक्ष राजकुमार मैनालीले बताउनुभयो । सवारी दुर्घटना न्यूनीकरण गर्न सरोकारवाला निकाय बढी जिम्मेवार बन्नुपर्ने नागरिक अगुवा शिवचन्द्र चौधरीको भनाइ छ ।

साँघुरा सडक, सडकको दुरावस्था, लापर्बाहीपूर्ण यातायात सञ्चालन र सवारी साधनको चापका कारण सवारी दुर्घटना हुने गरेको पाइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय मधेस प्रदेशका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो । उहाँका अनुसार सडकमा हुनुपर्ने सचेतना र सूचना पाटी, सडक लाइनिङसमेत नदेखिने अवस्थामा रहँदा दुर्घटनाको जोखिम बढेको हो ।

दुर्घटना न्यूनीकरणका सम्पूर्ण उपाय अवलम्बन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक कार्कीको भनाइ छ । उहाँका अनुसार दुर्घटना न्यूनीकरण गर्न सडकमै सचेतना कार्यक्रम चलाउनेदेखि विद्यालयमा ट्राफिक नियमसम्बन्धी कक्षा लिने गरिएको छ ।

दुर्घटना नियन्त्रण गर्न नियमित र आकस्मिक सवारी चेकजाँचसँगै ट्राफिक नियम विपरीत सञ्चालित सवारी साधनहरु र तिनका चालकहरुलाई नियमानुसार दण्ड तथा जरिवानासमेत गर्ने गरिएको उहाँले बताउनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *