न्यायिक समितिको समय सानातिना विवादमा सकिन्छ । ती विवाद सिर्जना भएकै ठाउँमा जनप्रतिनिधिको रोहवरमा समाधान हुने खालका हुन । विवादको समय बढ्दै जाँदा समस्या गहिरिँदै जान्छ । व्यक्तिगत अहम बढ्छ । यसले समय र पैसा दुवै खर्च गराउँछ । यो समस्या निराकरणका लागि व्यक्तिगत गोपनीयता कायम राखेर व्यक्तिगत पीर मर्का सुन्ने र बस्तुगत अवस्थाका आधारमा मेलमिलाप गराउने वडा स्तरीय संयन्त्र दिगो हुन्छ ।
काठमाडौँ महानगरकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा भएको वडागत निरीक्षणका क्रममा उक्त विषयलाई प्राथमिकतामा राखेर छलफल गरिएको छ।
वडा नं. ५, ७, ८, ९, १०, २९ र ३० गरी ७ वटा वडामा मेलमिलाप कक्ष स्थापना र सञ्चालनको बस्तुगत अवस्था निरीक्षण गरिएको हो । यी वडामध्ये वडा नं. ५ ले अहिले बसिरहेको ठाउँबाट स्वास्थ्य क्लिनिक स्थानान्तरण गरेर मेलमिलाप कक्ष चलाउने योजना बनाएको छ ।
वडा नं. ७ मा कक्ष चलाउन कोठा छुत्याइएको छ भने फर्निचरलगायत सामग्री राखेर व्यवस्थित गर्न बाँकी रहेको छ । यस्तै वडा नंं. ८ को कार्यालय भवन साँघुरो भएकोले कक्ष चलाउन ठाउँ भाडामा लिनु पर्ने अवस्था छ । वडा नं. ९ मा कोठा छन् । कक्ष छुट्याएर सामग्री राख्नु पर्ने अवस्था छ । वडा १० ले सभा कक्ष छेवैमा रहेको कोठालाई मेलमिलाप केन्द्रका रुपमा चलाउन फर्निचर राखिसकेको छ । थप केही सामान थप गर्नु पर्ने अवस्था रहेको जनाइएको छ।
यस्तैगरि वडा नं. २९ आफैँ पनि वडा ३० मा रहेको भवनमा बसिरहेको छ । त्यो पनि साँघुरो छ । वडाले जनप्रतिनिधिहरुको कक्षलाई अल्पकालीन मेलमिलाप कक्षका रुपमा सञ्चालन गर्ने योजना बनाएको छ । वडा नं. ३० बसिरहेको भवन साँघुरो छ । वडाले पुरानो वडा भवन (यस अघि स्वास्थ्य क्लिनिक रहेको, अहिले वडा क्लिनिक स्वास्थ्य प्रवर्धन केन्द्रका रुपमा विकसित भएर सरेको) को एउटा कोठालाई मेलमिलाप केन्द्र बनाउने योजना बनाएको छ ।
यस अघि माघ २४ गते र फागुन ८ गते वडा २, ३, ४, ११, १३, १४, १५, १६ र २६ वडाको स्थलगत अवलोकन गरिएको थियो । अवलोकन गरिएका वडा हेर्दा मेलमिलाप कक्ष सञ्चालन गर्नका लागि सवै पूर्ण तयारी देखिएको थियो । अहिले ती वडाका महिला सञ्जालका संयोजक तथा सदस्यहरु केन्द्रको प्रभावकारी सञ्चालन सक्रियता बढेको जनाइएको छ ।

Leave a Reply