आज घोडेजात्रा: यस्ता छन् घोडे जात्रा रोचक तथ्यहरु

आज चैत्र कृष्ण औँसी। अर्थात घोडेजात्रा पर्व। आज काठमाडौँ उपत्यकामा विशेष कार्यक्रम आयोजना गरि घोडेजात्रा मनाइंदै छ। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने यो पर्वको आफ्नो छुट्टै महत्व र मान्यता रहेको छ।

घोडे जात्रा अत्यन्त पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीन कालदेखि काठमाडौँ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । यो दिन काठमाडौँको टुँडिखेलमा हजारौँ सर्वसाधारणकाबीच नेपाली सेना र नेपाल प्रहरीले घोडे जात्रा विशेष परेड, कृत्य अनि अभ्यासहरू प्रदर्शन गर्ने गर्छन् ।

यस्तै घोडे जात्राकै दिन बिहानै नेपाली सेनाले जुद्धसडकस्थित रेवन्त पीठमा बोकाको बली दिएर जात्रा सुरु भएको जनाउ दिने गर्छन् । यसरी जनाऊँ दिएपछि क्रमशः दिउँसो टुँडिखेलमा घोडा र घोडसवारका विभिन्न कलाकौशलहरूको प्रदर्शनी सुरु हुन्छ । साथै घोडे जात्राका दिनमा गरिने प्रदर्शनको तयारी नेपाली सेना अनि नेपाल प्रहरीले महिनौँ अगाडिदेखि अभ्यास गरेका हुन्छन्।

यस्तैगरि जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ।

आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ ।

घोडा र मानिसको सम्बन्ध
घोडा, घोडचढी, घोडसवार, यात्रा, अनि युद्धजस्ता मानव सभ्यताको इतिहासमा घोडा र मानवबिचको सम्बन्ध रहेको छ। इतिहासका पानामा निरन्तर व्याख्या गरिएकै छ । साथै युरोप, अमेरिका, मध्य पूर्वी एसियादेखि लिएर संसारभर गाडीहरूको आविष्कार नहुँदा घोडा भरपर्दो र छिटो सवारीको माध्यम थियो ।

यस्तैगरि विश्वका प्राचीन ठूल्ठूला युद्धहरू चाहे त्यो महाभारत युद्ध होस्, नेपोलियन बोनापार्टको युद्ध होस् या मङ्गोल कन्क्वेष्टहरू सबैमा आफ्नो साम्राज्य र पहिचानको त्यो बखत घोडाको अधिकतम प्रयोग भएको थियो । अर्को तिर सनातन संस्कारमा घोडाको स्थान र महत्व दर्शाएको पाइन्छ। घोडा अर्थात् ‘अश्व’लाई अत्यन्त महत्त्वपूर्ण जीवको रूपमा लिइएको छ । वैदिक सनातन संस्कारमा सबैभन्दा पुण्य प्राप्त हुने महान् यज्ञ, ‘अश्व मेघ यज्ञ’ हो, जसमा सयौँका सङ्ख्यामा घोडाहरूलाई स्वतन्त्र गरिन्छ । ती घोडाहरू जहाँ–जहाँसम्म पुग्छन् त्यहाँ शान्ति, सौहार्द्यता र आनन्द रहने विश्वास गरिन्छ ।

काठमाडौँको अत्यन्त मौलिक जात्राका रूपमा घोडे जात्रा युगौँ युगान्तदेखि काठमाडौँको टुँडिखेलमा अविच्छिन्न अनि निरन्तर रूपमा प्रदर्शन गरिँदै आएको छ ।

काठमाडौँ र पाटनको घोडे जात्रा
परापूर्व कालमा टुँडिखेलको पूर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव बस्तीमा प्रवेश गरी दुःख दिने र बालबालिकाहरू खाइदिने गरेको जनविश्वास रेहको पाइन्छ । यस्तो घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्न अनेक उपायहरू खोज्न थाले । त्यसै क्रममा उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको र त्यसैको विजय उत्सवका रूपमा घोडे जात्रा मनाउने परम्पराको सुरुवात भएको किंवदन्ती छ ।

तत्कालिन समयमा काठमाडौँ, भक्तपुर र पाटन फरक–फरक राज्य थिए । मनहरा र बाग्मती नदीले राज्यको सीमाको काम गरेको थियो । मल्लवशकै सबैभन्दा शक्तिशाली राजा मानिने प्रताप मल्ल काठमाडौँका राजा थिए । उनले विसं. १६९८ देखि १७३१ सम्म अविच्छिन्न ३३ वर्ष शासन गरे । राजा प्रताप मल्ले पाटनमा गृहयुद्ध गराउन विद्रोहीहरूलाई हात लिए । यसपछि कमजोर भएका पाटनका राजा श्री निवास मल्ललाई हातमा लिएर प्रताप मल्ले भक्तपुरको नाला भन्ने ठाउँमा कब्जा पनि गरेका थिए ।

यस्तै उपत्यकाका अन्य राज्यहरूसँग राम्रो सम्बन्ध नभएका राजा प्रताप मल्लको पाटनका राजा श्री निवास मल्लसँग पनि ठुलै मनमुटाब थियो । उति बेला पाटनका नागरिकहरू घोडे जात्रा हेर्न काठमाडौँ आउने, काठमाडौँका नागरिकहरू मछिन्द्रनाथको रथयात्राका लागि जावलाखेल जाने र अन्य थुप्रै जात्राहरू मिलेर गर्ने चलन थियो ।

पाटनको बालकुमारी क्षेत्रमा आजको दिन स्थानीय घोडाहरूलाई मदिरा खुवाएर चढ्ने चलन र मदिराको नशामा रहेका घोडाहरू हिँडेको अनि कुदेको हेरेर रमाइलो मान्ने चलन निकै रोचक तथ्य रहेको छ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *