📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

🕒 June 10, 2024 ✍ न्युज नेपाल संबाददाता

पूर्वीनवलपरासी — कावासोतीस्थित छिपछिपे सहकारीको रकम हिनामिना आरोपमा पक्राउ परेका १० मध्ये सात जनालाई जिल्ला अदालत पूर्वी नवलपरासीले पुर्पक्षका लागि थुनामा पठाएको छ । अदालतले तीन जनालाई धरौटीमा छाडेको छ ।

न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले आइतबार सहकारीका व्यवस्थापक योगेन्द्र पाण्डे, पूर्वसचिव नगेन्द्रबहादुर रिमाल, संजीवकुमार महतो, कृष्णप्रसाद ज्ञवाली, ढुण्डीराज गौतम, विकास सापकोटा, शिवलाल लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो । सहकारीका हालका अध्यक्ष गोपीकृष्ण शर्मा र कोषाध्यक्ष सुनीताकुमारी न्यौपानेलाई जनही साढे २ लाख तथा सहकारी कर्मचारी तीर्थराज कैनीलाई १० लाख धरौटी तोकिएको छ ।

यही जेठ २० मा जिल्ला सरकारी वकिलको कार्यालयले राप्रपाकी सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । छिपछिपेको १६ करोड ५८ लाखभन्दा बढी हिनामिना गरेको आरोप उनीहरुमाथि छ । उनीहरुविरुद्ध रकम असुल उपर, हर्जना र कैद सजायको समेत माग गरेर मुद्दा दर्ता भएको थियो । दुई महिनाअघि छिपछिपे सहकारीका ४ सयभन्दा बढी सेयर सदस्यले रकम हिनामिना गर्नेबिरुद्ध प्रहरीमा उजुरी दिएका थिए । प्रहरीको छानबिनअनुसार छिपछिपेका २३ सय ९४ जना बचतकर्ताको रकम हिनामिना भएको छ । अधिकांश बचतकर्ता ज्यालादारी मजदुर, कृषक र साना व्यवसायी हुन् ।

छिपछिपेको सदस्य नभई सांसद बस्नेतले आफू अध्यक्ष रहेको बर्दियाको कृष्णसार रिसोर्टमा सहकारीको ९६ लाख रुपैयाँ लगानी गरेको पाइएको छ । पुर्पक्षकालागि थुनामा रहेका रिमाल सांसद बस्नेतका ज्वाई हुन् । उनैले विनाधितो यो रकम लगेर रिर्सोटमा लगानी गरेका हुन् । रिसोर्टकी अध्यक्ष सांसद बस्नेत भएका कारण उनीविरुद्ध पनि सहकारीको रकम हिनामिना र ठगी अपराधमा मुद्दा दर्ता भएको हो । सहकारीका सेयर सदस्य र नियमित बचतकर्ताबाहेक अन्यलाई ऋण दिन नपाइने सहकारी ऐनमा व्यवस्था छ ।

प्रहरी हिरासतमा रहेका अभियुक्तहरुको हकमा आइतबार जिल्ला अदालतले पहिलो निर्णय सुनाएको हो । अन्य आरोपित सांसद बस्नेतसहित २५ जना फरार छन् । फरार प्रतिवादीका हकमा आइतबार नै अदालतबाट ३५ दिने म्याद जारी भएको जिल्ला न्यायाधिवक्ता हरि घिमिरेले बताए । छिपछिपे सहकारीको रकम हिनामिनाका मुख्य योजनाकार व्यवस्थापक पाण्डे भएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । बर्दिया घर भएका पाण्डेले सात वर्षसम्म आफै सहकारीको अध्यक्ष र व्यवस्थापक रहेर काम गरेका थिए ।

रिमाल र पाण्डेले चितवनमा रहेको सनराइज सहकारी र बर्दियाको नमस्ते सहकारीको पनि बचत हिनामिना गरेको अनुसन्धानका क्रममा खुलेको छ । रिमाल छिपछिपे सहकारीमा सञ्चालक समिति सचिव रहँदा सनराइज सहकारीमा अध्यक्ष थिए भने पाण्डे सनराइजको सचिव थिए । – कान्तिपुर