📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

🕒 April 22, 2025 ✍ न्युज नेपाल संबाददाता

नवलपुर । विदेशको कमाइ छाडेर आफ्नै गाउँ फर्किएर कृषिमा भविष्य खोज्ने धेरैमध्ये एक हुन्, नवलपुरको कावासोती–१७ का मिनबहादुर महतो। उहाँले मेहनत, धैर्य र दृढताले अहिले मेवाखेतीबाट राम्रो आम्दानी गर्दैहुनुहन्छ । मिनबहादुर मेवा खेति सुरु गर्नु अघि देखिनै कृषिमा लाग्नु भएको हो ।

तीन विघा जमिनमा उहाँले लगाएको रेड लेडी जातको मेवा अहिले पाकेर खेत पहेँलो भएको छ। बजारमा पठाउने चटारोले महतो अहिले व्यस्त हुनुहुन्छ । अहिलेसम्म उनले करिब ६० टन मेवा बिक्री गरिसकेका छन्, जसबाट १८ लाख रुपैयाँको आम्दानी भइसकेको छ।

महतोका अनुसार मेवाको बजारका लागि अहिले समस्या छैन । “विरगंजका व्यापारीहरूले मागअनुसार नै मेवा लिएर जान्छन्,“ उनी भन्छन्, “काठमाण्डौ र धरानतिर पनि माग थियो, तर सबै मेवा विरगंज खपत हुने गरेको छ ।“ मेवा प्रति किलो रु. ३० देखि ४० मा बिक्री हुने गरेको छ। उत्पादन भएको सबै जसो मेवा विरगंज पठाएको उहाँले बताउनुभयो । एक दुई पटक काठमाण्डौ समेत पठाएको भएपनि अहिले विरगंज मात्र पठाउने गरेको उहाँको भनाई छ ।

उहाँ भन्नुहुन्छ , “बिक्रीमा खासै समस्या छैन, फल पाक्दै छ र बजारमा पठाउँदै छु। अझै मेवा फल्ने भएकाले असारसम्म करिब २० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने आशा छ।”

महतोका अनुसार अहिलेको सिजनमा मेवा खेतीमा करीब १३ लाख रुपैयाँ खर्च भएको छ। यसमा मुख्यतया कम्पोष्ट मल, बीउ, सिंचाइ, प्याकेजिङ र कामदारको ज्यालामा खर्च भएको हो। खर्च घटाएर हालसम्म करिब पाँच लाख रुपैयाँको नाफा लिइसकेको उहाँ बताउनुहुन्छ ।

मेवाखेतीबाट महतोले २२ जनालाई रोजगारी समेत दिएका छन्। “गोडमेल, टिपाइ, प्याकेजिङ जस्ता काममा कामदारले ९ लाख रुपैयाँसम्म ज्याला बुझेका छन्,“ उहाँ भन्नुहुन्छ । आवश्यकता अनुसार घण्टाको आधारमा ज्याला दिने गरि कामदार परिचालन गर्ने गरेको उहाँको भनाई छ ।

असारसम्म मेवाको फल टिपिसकेपछि महतो सोही जमिनमा तरकारी खेती गर्ने योजनामा हुनुहुन्छ । हाल लगाएका बोटले अर्को वर्ष पनि फल त दिनेछन्, तर सानो हुने भएकाले नयाँ विरुवा लगाउनुपर्ने महतोको भनाई छ ।

कावासोती नगरपालिकाबाट मेवा खेतीका लागि रु. ३ लाखको अनुदान पाउनु भएका महतोले सुरुमा सोही जमिनमा खरबुजाखेती गर्नुभएको थियो । “खरबुजाबाट पनि राम्रै कमाइ भयो,“ उहाँ भन्नुहुन्छ “ मेवाबाट पनि निरास हुने अवस्था छैन ,आम्दानी राम्रो नै छ ।”

सिंगापुर र साउदी अरेबियामा ७ वर्ष बिताएका महतो अहिले कृषिमा रमाउनु भएको छ । महतो भन्नुहुन्छ, “मलाई काम गर्न अप्ठ्यारो लाग्दैन। विदेशमा त दुःख गरियो, अब आफ्नै देशमा मिहिनेत गर्दैछु। आम्दानी राम्रो छ, सहज छैन तर सम्भावना छ।”

वडा सदस्य समेत रहनु भएका महतो कृषि पेशामा युवाहरूका लागि प्रेरणादायी पात्र बन्नु भएको छ । उहाँको प्रयासले विदेश जानु मात्र विकल्प होइन, स्वदेशमै पनि सपना साकार गर्न सकिन्छ भन्ने देखाउँछ ।