सौराहा,भदौ १-
शैक्षिक क्षेत्रमा अग्रणी संस्था सेन्ट्रल ग्रुपले अव हस्पिटालिटी क्षेत्रमा पनि लगानी गर्ने भएको छ । चितवनको सौराहामा १० तलाको रिसोर्ट निर्माणका लागि ग्रुपले आइतबार एसवन होम्ससंग निर्माण सम्झौता गरेको छ । सेन्ट्रल ग्रुपका अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेल र एसवन होम्सका निर्देशक सुरज न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
रत्ननगर नगरपालिका १ सौराहा चोकदेखि सौराहा जाने सडकमा सो रिसोर्ट निर्माण गर्न लागिएको पत्रकार सम्मेलन मार्फत पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार २५ करोडको लागतमा निर्माण हुने रिसोर्ट ३ वर्षभित्र निर्माण सम्पन्न हुनेछ ।
अन्तर्राष्ट्रिय मापदण्डमा निर्माण हुने रिसोर्टमा अन्डरग्राउण्ड पार्किङ सहित स्वीमिङ पुल लगायतका संरचना हुनेछन । दुई कट्ठा जमिनमा तीन वटा सेमिनार हल सहितको रिसोर्ट निर्माण हुनेछ ।
सेन्ट्रल ग्रुपले भरतपुर ओरालोमा उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा अध्ययन गर्न जाने विद्यार्थीका लागि सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा.ली सञ्चालन गरिरहेको छ भने सोही ठाउँमै नेपालमै अध्ययन गर्न चाहाने विद्यार्थीका लागि विएचएम र विआइएम अध्ययन गर्न त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सेन्ट्रल मोडल कलेज सञ्चालन गरिरहेको छ ।
ग्रुप मार्फत कावासोतीमा सेन्ट्रल ह्युमन रिसोर्स, भरतपुरमा सेन्ट्रल ट्राभल एण्ड टुर्स र सेन्ट्रल रियल स्टेट एण्ड हाउजिङ कम्पनी सञ्चालनको अन्तिम तयारी छ । नेपालमै केही गर्नुपर्छ भन्ने उदेश्यका साथ सेन्ट्रल ग्रुपले लगानी बिस्तार गरिरहेको पौडेलले बताउनुभयो ।
एसवन होम्सका निर्देशक न्यौपानेले आकर्षक रिसोर्ट तोकिएको समयमै निर्माण सम्पन्न गरिने बताउनुभयो । एसवन होम्सले ६ वर्षदेखि चितवनमा निर्माणका काम गरिरहेको छ ।

Leave a Reply