अन्तर संस्था कप फुटबलको उपाधि नेर्पा स्पोर्टस क्लबलाई

दिक्तेलस्थित माटीकोरे खेलमैदानमा सम्पन्न ‘प्रथम अन्तरसंस्था कप फुटबल प्रतियोगिता २०७९’ को उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले उचालेको छ । खोटाङ फुटबल एकेडेमी (केएफए)ले आयोजना गरेको सो प्रतियोगितामा आयोजक केएफएलाई शून्यका विरुद्ध एक गोल गर्दै नेर्पाले प्रथम उपाधि हासिल गरेको हो ।

प्रतियोगिताको पहिलो हाफको ३०औँ मिनेटमा नेर्पाका खेलाडी युवराज राईले गर्नुभएको गोल नै निर्णायक भएको थियो । जिल्लाका २२ संस्थाले सहभागिता जनाएको प्रतियोगितामा साकेला गाउँपालिका तेस्रो भएको छ । प्रतियोगितामा प्रथम हुने क्लबले नगद रु ४४ हजार चार सय ४४, दोस्रो हुनेले रु २२ हजार दुई सय २२ तथा तेस्रो हुनेले रु ११ हजार एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । विजयी खेलाडीलाई साकेला गाउँपालिका प्रमुख रविप्रकाश राई र जिल्ला फुटबल सङ्घ खोटाङका अध्यक्ष ध्रुवविक्रम राईले संयुक्तरूपमा नगद पुरस्कार तथा ट्रफी प्रदान गर्नुभएको छ ।

प्रतियोगिता अवधिभरका उत्कृष्ट खेलाडीमा नेर्पाका युवराज राई, उत्कृष्ट गोलरक्षकमा केएफएका सुरेश राई, सर्वाधिक गोलकर्तामा जिल्ला फुटबल सङ्घका सोनित राई, उत्कृष्ट प्रशिक्षकमा नेर्पाका सरोज गुरुङ र उत्कृष्ट मिडफिल्डरमा नेर्पाका अविरल राई र उत्कृष्ट डिफेन्डरमा केएफएका भीषण राई घोषित भएका छन् । उनीहरूलाई नगद रु दुई हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक केएफएका महासचिवमा शैलेन्द्र बजिमयले बताउनुभयो ।

प्रतियोगिताको प्रथम पुरस्कार मनोज स्मृति प्रतिष्ठान दिक्तेलले प्रायोजन गरेको थियो । समापन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङलाई प्रदान गर्ने भनिएको रु पाँच हजार राशिको ‘केएफए पत्रकारिता पुरस्कार’ भने अर्को कार्यक्रमका अवसरमा प्रदान गर्ने जनाइएको छ ।

प्रतियोगिताबाट आठ संस्था छनोट गरेर सुपर लिग फुटबल प्रतियोगिता सञ्चालन गरिने आयोजक केएफएका अध्यक्ष नूरकाजी सैँजूले जानकारी दिनुभयो । फुटबल खेलको समग्र विकास गर्ने उद्देश्यले स्थापना भएको केएफएले जिल्लाका खेलाडीलाई निःशुल्क प्रशिक्षण तथा विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको छ । विगत तीन वर्षदेखि निरन्तर तालिम गराउँदै आएको एकेडेमीबाट गत वर्षमात्रै एन्फामा सात जना खेलाडी पठाइएको प्रशिक्षक रोशेष श्रेष्ठले बताउनुभयो । “एकेडेमीमा बिनाशुल्क तालिम दिने गरिएको छ”, उहाँले भन्नुभयो, “हामीले तालिम दिएका खेलाडी अहिले विभिन्न क्लब तथा ठाउँमा गएर स्थापित भएका छन् ।”

यसअघि एकेडेमीमा तालिम लिएका याम्खाका एवन बस्नेत हाल नेपाल पुलिस क्लबमा आवद्ध छन् । जिल्लामा फुटबल खेलको व्यावसायिक विकासमा लागेको एकेडेमीलाई गोल नेपाल र लिभरपुल फ्यान्स् नेपालले खेल सामग्री उपलब्ध गराउँदै आएको छ ।

एकेडेमीले उत्पादन गरेको खेलाडीलाई छात्रवृत्तिमा थप अध्ययन तथा तालिमका लागि राजधानी काठमाडौँ पठाउने गरिएको छ । गत वर्ष सात खेलाडीलाई कक्षा ११ र १२ अध्ययन तथा तालिमको सम्पूर्ण खर्च सम्बन्धित क्याम्पसले व्यहोर्ने गरी काठमाडौँको नयाँ बानेश्वरस्थित प्रिमियर कलेजले लगेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *