टान निर्वाचनमा नयाँ समीकरण

पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशेसिएशन अफ नेपाल (टान)को निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी निलहरि बाँस्तोलाका नेतृत्वमा नयाँ समीकरण बनेको छ ।

निर्वाचनमा नेपाली कांग्रेस समर्थित पर्यटन व्यवसायी बाँस्तोलाको नेतृत्वमा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) समर्थित पर्यटन व्यवसायी सहकार्य गर्न तयार भएका हुन् । कांग्रेस निकट व्यवसायीहरूको सङ्गठन नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) र एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनबीच सहकार्य गरेर निर्वाचनमा जाने सहमति भएको हो ।

टानको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा दुवै सङ्गठन सहकार्य गरेर जाने सहमति भएको निटका अध्यक्ष दीपक महतले जानकारी दिनुभयो । यस्तै बाँस्तोला नेतृत्वमा एकीकृत समाजवादी निकट पर्यटन व्यवसायी सङ्गठनले पनि सहकार्य गर्ने जनाइएको छ ।

अध्यक्ष महतले टान नेतृत्व चयनका लागि तीन सङ्गठनबीच सहकार्य गरेर जाने समझदारी बनेको जनाउँदै नेकपा (माओवादी केन्द्र) निकट पर्यटन व्यवसायी सङ्गठनलाई पनि राष्ट्रिय सहमतिका साथ सहकार्य गरेर जान आह्वान गरिएको बताउनुभयो । उहाँले निर्वाचनमा सहकार्य गर्ने निर्णय भए पनि अध्यक्षबाहेकका अन्य पदाधिकारी र सदस्यमा पद बाँडफाँटको पहल भइरहेको उल्लेख गर्नुभयो ।

टान निर्वाचनमा अध्यक्षका प्रत्यासी बाँस्तोलाले उम्मेदवारी घोषणा गरेर आफ्ना चुनावी एजेण्डासहित प्रचार–प्रसारलाई तीव्रता दिनुभएको छ । टानको अध्यक्ष पदका लागि बाँस्तोला, राजेन्द्रप्रसाद सापकोटा, कमल सापकोटा र बोधराज भण्डारीले उम्मेदवारी घोषणा गर्नुभएको छ । यही साउन ३० गते हुने टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । टानमा करिब एक हजार आठ सय व्यवसायी आवद्ध छन् ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *