कृषि सामग्रीद्वारा १९ करोडको रासायनिक मल बिक्री

कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामले आर्थिक वर्ष २०७८÷७९ मा रु १९ करोड १२ लाख मूल्य बराबरको रासायनिक मलखाद बिक्री गरेको छ ।

यस आवमा रु १२ करोड १३ लाखको डिएपी, रु छ करोड ५२ लाखको युरिया र रु ४६ लाखको पोटास बिक्री गरेको कार्यालय प्रमुख बेचन साहले जानकारी दिनुभयो । आव २०७८÷७९ मा पाँच हजार मेट्रिक टन युरिया, चार हजार पाँच सय मेट्रिक टन डिएपी र एक सय टन पोटास मल बिक्री गर्ने वार्षिक लक्ष्य रहेकामा तीन हजार आठ सय तीन मेट्रिक टन युरिया, दुई हजार पाँच सय ९१ मेट्रिक टन डिएपी र ३० टन पोटास मात्र आपूर्ति भएको उहाँले बताउनुभयो ।

आव २०७८÷७९ मा आपूर्ति भएको र अघिल्लो आवको समेतबाट युरिया चार हजार ६७ मेट्रिक टन, डिएपी दुई हजार छ सय ९६ मेट्रिक टन र पोटास एक सय ३९ दशमलव चार सय ५० टन बिक्री भएको प्रमुख साहले बताउनुभयो । आव २०७७÷७८ मा कृषि सामग्री कम्पनी जनकपुरधामले रु २५ करोड ३९ लाख बराबरको रासायनिक मल बिक्री गरेको थियो । अघिल्लो आवको भन्दा आव २०७८÷७९ मा लक्ष्यभन्दा कम मल आपूर्ति भएकाले बिक्री घटेको हो ।

आव २०७७÷७८ मा छ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डिएपी मल माग गरेकामा युरिया तीन हजार दुई सय मेट्रिक टन र डिएपी चार हजार पाँच सय मेट्रिक टन आपूर्ति भएको थियो । आव २०७७÷७८ मा भन्दा आव २०७८÷७९ मा रासायनिक मल कोटा बमोजिम आपूर्ति नभएको साहको भनाइ छ । चालु आव २०७९÷८० को साउनको अन्तिम साता आइपुगेको युरिया तीन सय ६० मेट्रिक टन र अघिल्लो आवको ४७ दशमलव तीन सयसमेत गरी चार सय पाँच दशमलव नौ सय ५० मेट्रिक टन युरिया वितरण भइरहेको छ । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल आएपछि कोटा निर्धारण गरी स्थानीय तहमा रहेका सहकारी संस्थाका डिलरमार्फत किसानलाई मल वितरण गर्दै आएको जनाएको छ ।

“हामीलाई जति मल मात्र प्राप्त भएको छ, त्यसलाई कोटाबमोजिम स्थानीय तहको सिफारिसमा वितरण गर्दै आएका छौँ”, साहले भन्नुभयो, “मल आएलगत्तैबाट बिक्री–वितरण सुरु गरेका छौँ, तर मागबमोजिम मल उपलब्ध गराउन नसकिएकाले सबै किसानले पाउने अवस्था छैन ।” बाली सघनता र खेतीयोग्य क्षेत्रफलका आधारमा स्थानीय तहलाई मलखादको कोटा निर्धारण गरी स्थानीय तहको सिफारिसको आधारमा सहकारी संस्थाका डिलरलाई वितरण गर्दै आएको साह बताउनुहुन्छ ।

डिएपी र युरिया बर्सेनि आपूर्ति कम भएपछि कृषि सामग्री कम्पनी जनकपुरधाले झण्डै आधा मूल्य बराबरको रासायनिक मल मात्र बिक्री गरेको छ । धानबालीको बेला भएकाले युरिया र डिएपीको माग बढे पनि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, ढुवानी आपूर्तिको समस्या, मलको अनियन्त्रित प्रयोग र भारतीय सीमानाकामा भएको कडाइलगायतका कारण धनुषा र महोत्तरीमा युरिया र डिएपीको आभाव हुने गरेको उहाँले बताउनुभयो ।

डिएपी र युरियाको माग बढेकाले आपूर्तिका लागि केन्द्रमा पटक–पटक पत्राचार गरे पनि बर्सेनि आपूर्ति घट्दै गएकाले समस्यामा परेको उहाँको भनाइ छ । यसरी डिएपी र युरियाको आपूर्ति कम भएपछि किसानलाई मलखादको समस्या भइरहेको नेपाल कृषक महासङ्घ मधेस प्रदेशका अध्यक्ष मुक्ति यादवले बताउनुभयो । मागअनुसार मलको आपूर्ति नहुँदा बर्सेनि किसानले मलका लागि डिलर चहार्ने गरे पनि सहजरूपमा पाउने अवस्था नरहेको उहाँको भनाइ छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *