थारू समुदायद्वारा अटवारी पर्व मनाइँदै

पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । सो पर्व उनीहरुका लागि तीजजस्तै हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने र आज बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा रहेको छ ।

थारू अगुवा सीता चौधरीका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि ‘अग्रासन’ (दिदी–बहिनीका लागि छुट्याइने परिकार) छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ । “अटवारी पर्व तीजजस्तै हो, हाम्रो तीज फरक छ हाम्रो समुदायमा दाजुभाइले दिदीबहिनीको सौभाग्यका लागि पानीसमेत नखाई ब्रत बस्छन्”, उहाँले भन्नुभयो, “थारू समुदायमा यो पर्वको विशेष महत्व छ ।”

व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याई अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ । आफ्ना दिदीबहिनीलाई फलफूल र रोटीमात्र खाने र दोस्रो दिन बिहान भात, तरकारी पकाई भात तरकारीको अग्रासन दिने गरेको बेदकोट नगरपालिकाका सेटसिंह चौधरीले बताउनुभयो । “यो पर्वमा विशेषगरी हामी दाजुभाइले दिदीबहिनीको सौभाग्यका लागि व्रत बस्छौँ”, उहाँले भन्नुभयो, “यो पर्व तीन दिनसम्म मनाउँछाँै ।”

उहाँका अनुसार आफ्ना दिदीबहिनीका घरमा पुगेपछि अटवारी पर्व समाप्त हुन्छ । यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धसमेत प्रगाढ हुने विश्वास थारू समुदायमा छ ।

थारू अगुवाका अनुसार अटवारी पर्व ऐतिहासिक घटनासँग जोडिएको छ । दाङका थारूराजा दङ्गीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङका थारूराजा दङ्गीशरणबीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो । पाँच पाण्डव र द्रोपदी सबै सुर्खेतको काँक्रेविहारमा घुम्ने बेला दाङका थारूराजा दङ्गीशरणको राज्यमा शत्रुहरूलाई आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छाडेर पाँच पाण्डवमध्ये भीम भोकैपेटमा पानीसमेत नखाई राजा दङ्गीशरणको पक्षमा लडेका थिए ।

भीमले राजा दङ्गीशरणको पक्षमा लडेर शत्रुलाई हराउन सफल भएका थिए । त्यही विजयोत्सवका अवसरमा थारू समुदायले अटवारी मनाउँदै आएका छन् । “भीमजस्तै बलियो हुनका लागि पानीसमेत नखाई थारू समुदायका दाजुभाइले व्रत बस्ने गरेका छन्”, थारू अगुवा हरिलाल चौधरीले भन्नुभयो, “यो पर्व दिदीबहिनीहरूसँग जोडिएको छ ।” थारू समुदायको यो पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *