पाँच विधामा आठ सम्मानित – News Nepal Media
Trend

कला, सङ्गीत, साहित्य, अपाङ्गता र सामाजिक क्षेत्रका आठ व्यक्तित्व शनिबार सम्मानित भएका छन् । एक सय ५७औँ मोती जयन्तीका अवसरमा उनीहरूलाई सम्मान समर्पण गरिएको हो ।

सार्थक प्रकाशन बागलुङले विसं २०७८ को ‘सार्थक मोती सम्मान’ बलेवाका कमलकुमार जिसी र विसं २०७९ को सुदर्शनकुमार श्रेष्ठलाई प्रदान गरेको हो । जिसी अपाङ्गता भएका व्यक्तिको शिक्षा र अधिकारका पक्षमा वकालत गर्दै आउनुभएको छ । म्याग्दीका श्रेष्ठ सामाजिक सेवाका क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

यस्तै धवल कला मन्दिरका तर्फबाट चार कलाकार सम्मानित हुनुभएको छ । विसं २०७८ को ‘धवल मोती सम्मान’बाट कलाकार नारायणप्रसाद श्रेष्ठ मृत्युपर्यन्त र मुकुन्द शाक्य सम्मानित हुनुभएको हो । यस वर्षको उक्त सम्मान कलाकारद्वय बेदविक्रम शाक्य र मधुसुदन श्रेष्ठलाई प्रदान गरिएको हो ।

उहाँहरु कला र सङ्गीत विधातर्फबाट सम्मानित हुनुभएको हो । सोही समारोहमा स्मृति प्रकाशन बागलुङले बर्सेनि प्रदान गर्ने ‘स्मृति युवा सम्मान’ यस वर्ष दुई युवा स्रष्टालाई प्रदान गरिएको प्रकाशनका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो ।

विसं २०७८ को सम्मान पर्वत पाङका स्रष्टा गुणराज पौडेल ‘गुराँस’ र यस वर्षको सम्मान बागलुङको जैमिनी नगरपालिका निवासी स्रष्टा निर्मला सुवेदीलाई प्रदान गरिएको हो । पौडेलको मुक्तक कृति प्रकाशित छ भने सुवेदी जैमिनी साहित्य मञ्चका अध्यक्ष हुनुहुन्छ ।

समाजसेवी देवबहादुर श्रेष्ठ र प्रकाशनका अध्यक्ष रोशनले सम्मानित व्यक्तित्वलाई खादासहित सम्मानप्रत्र प्रदान गर्नुभएको थियो । गत वर्ष कोभिड–१९ का कारण कार्यक्रम स्थगन भएपछि दुई वर्षको सम्मान एकैसाथ प्रदान गरिएको हो ।

समाजका विभिन्न क्षेत्रमा क्रियाशील रही योगदान दिएका व्यक्तिलाई सम्मान गरिएको प्रकाशनका अध्यक्ष रोशनले बताउनुभयो । मोती जयन्तीमा कला, सङ्गीत र साहित्य क्षेत्रमा क्रियाशील व्यक्तित्व सम्मानित हुँदै आएका छन् ।

सार्थक प्रकाशन, धवल कला मन्दिर र स्मृति प्रकाशनले संयुक्तरूपमा मोती जयन्ती मनाउँदै आएका छन् । सो समारोहमा कलाकार र सर्जकले आफ्नो प्रस्तुति राखेका थिए । “समाजका विविध क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई बर्सेनि मोती जयन्तीमा सम्मान गर्दै आइरहेका छौँ”, प्रकाशनका अध्यक्ष काजी रोशनले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP