हात्ती भगाउन रातभर जाग्राम

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ बडुवाल टोलका बासिन्दा हात्ती भगाउन रातभर जाग्राम बस्ने गरेका छन् । भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ पसेर धानबाली र मकैमा नोक्सान गर्न थालेपछि भगाउनका लागि त्यहाँका बासिन्दा रातभर जाग्राम बस्न थालेका हुन् ।

साँझपख आउने हात्तीको बथानले अन्नबालीमा नोक्सान पु¥याउने गरेको स्थानीय सीतादेवी बादीले बताउनुभयो । “हात्तीको बथानले धानबाली सबै नोक्सान गरिसक्यो”, उहाँले भन्नुभयो, “यसपाली त खानलाई पनि किन्नुपर्छ घरमा पनि आउँछ कि भन्ने डर छ ।” “उक्त निकुञ्जबाट ३०÷३५ वटा हात्तीको बथान बच्चासहित दिनहुँ बडुवाल टोलमा पस्ने गरेकाले भगाउनका लागि रातभर जाग्राम बस्नुपर्छ हामी नसुतेको एक साता भइसक्यो”, उहाँले भन्नुभयो, “साइरन बजाएर होहल्ला गर्दा पनि हात्तीको बथान भाग्दैन ।”

स्थानीय लक्ष्मी रानाले हरेक वर्ष यहाँ घरखेतमा हात्तीले नोक्सान गर्ने गरेको बताउनुभयो । “धान र मकै सबै सखाप पारिसक्यो घरमा पस्ने डरले रातभर जाग्राम बस्छौँ”, उहाँले भन्नुभयो, “रातभर गाउँका सबै भेला हुन्छौँ सशस्त्र प्रहरीले पनि सहयोग गरेको छ ।” लक्ष्मीका अनुसार गाउँमा विद्युत् नुहुँदा झन समस्या हुने गरेको छ ।

दोधारा चाँदनी नगरपालिका–५ का वडाध्यक्ष हरिसिंह धनाडीले गाउँमा हात्तीको आतङ्कले स्थानीयवासी त्रस्त भएको बताउनुभयो । “यो बस्तीमा भारतीय सीमापर्ने भएकाले भारतले तारबार गर्न दिँदैन”, उहाँले भन्नुभयो, “हरेक वर्ष यहाँ भारतीय जङ्गलबाट हात्ती आइ नोक्सान गरेर

जान्छन् ।” अहिले जङ्गल पनि घना भइसकेकाले यहाँ हात्ती बढी आउन थालेको वडाध्यक्ष धनाडीले बताउनुभयो । “यसको रोकथाम कसरी गर्न सकिन्छ भनेर भारतीय जनप्रतिनिधिसँग समन्वय गर्दैछौँ”, उहाँले भन्नुभयो, “क्षतिबारे वडा कार्यालयले तथ्याङ्क सङ्कलन गर्दै छ ।” यसैगरी हात्तीले बेदकोट नगरपालिका, लालझाडी गाउँपालिकामा समेत किसानकोे धानबालीमा नोक्सान पु¥याउने गरेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *