लिम्बूभाषाको मोह घट्दै – News Nepal Media
Trend

दमक, २१ भदौ (रासस)ः लिम्बू जातिमा आफनो मातृ भाषाको मोह घट्दै गए पनि अन्य जातिमा जातिमा उक्त भाषाको मोह बढ्दै गएको देखिएको छ । दमक नगरपालिका– वडा न. ७ स्थित पृथ्वी माध्यमिक विद्यालयमा पठनपाठन हुदैआएको ऐच्छिक विषय लिम्बू भाषा अध्ययन गर्ने छात्र छात्राहरुको एक तथ्याङ्कले यस्तो अवस्था देखाएको हो ।

उक्त विद्यालयलाई दमक नगरपालिकाले शैक्षिक सत्र २०७८÷२०७९ देखि लागू हुने गरी लिम्बू भाषा प्रबद्र्धन गर्न एक लिम्बू भाषा शिक्षकका लागि अनुदान दिँदैआएकामा विद्यालयले भाषा शिक्षक नियुक्त गरी १०० पूर्णाङ्कको उक्त विषयको भाषा पढाउँदै आएको छ । विद्यालयमा कक्षा ४ र ५ मा सरकारबाट स्वीकृत लिम्बू भाषाको ‘आनीपान ’ पाठ्यपुस्तक पढाइ हँुदै आएको छ । लिम्बू भाषा शिक्षक दिपेन्द्र सेलिङका अनुसार विद्यालयमा ९०विद्यार्थीमध्ये लिम्बू विद्यार्थी जना २२ जना मात्र छन् । अन्य ६८ विद्यार्थीमा राई, क्षेत्री, बाहुन, साह, मगर, तामाङलगायत समुदायका बालबालिकाले पनि लिम्बू भाषाको अध्ययन गरिआएका छन् । उहाँले भन्नुभयो,“लिम्बूभन्दा गैर लिम्बूका विद्यार्थी लिम्बू भाषा पढ्न उत्साहित देखिएका छन् ।” शिक्षक सेलिङले लिम्बू विद्यार्थीले लिम्बू भाषा पढ्न चाहे पनि अभिभावकले लिम्बू भाषा किन पढ्ने भन्दै पढ्न नै नदिएको तितो अनुभव बताउनुभयो ।

दमक नगरपालिका वडा नं ७ का वडाध्यक्ष भीमप्रसाद पौडेलले लिम्बू भाषा पढ्ने लिम्बु जातिका छोराछोरी कम भए पनि अन्य जातिका छोराछोरीले रुचिका साथ पढ्दै आएको देखेर खुसी व्यक्त गर्नुभयो । कुनै समुदायको भाषा ती जातिको मात्र पेवा नभएको चर्चा गर्दै उहाँले भन्नुभयो, “भाषाको माध्यमबाट अरुको शिक्षामा भएको हरेक मानवीय उत्प्रेरक ज्ञान, गुण र व्यवहार सिक्न सकिन्छ जो जीवन पद्धतिमा अत्यन्तै उपयोगी हुन सक्छ ।”

विद्यालयका प्रधानाध्यापक विष्णुकुमार राईले लिम्बू विद्यार्थी केही कम भए पनि अन्य जातिले राम्ररी लिम्बू भाषा पढ्दै आएकाले लिम्बू भाषासँग सम्बन्धित सङ्घ–संस्था, भाषा अभियन्ता र स्थानीय सरकारले यस कार्यक्रमलाई सहयोग पु¥याँउँदै जान सके मात्र भाषा प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । मातृ भाषा पठनपाठनमा जोड दिँदै आएको संस्था किरात याक्थुङ चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष धीरेन लावतीले लिम्बू भाषा पढ्न लिम्बू जातिमा केही अरुचि भएजस्तो देखिए पनि विस्तारै विस्तारै मोह बढ्दै आएको जिकिर गर्नुभयो ।

उक्त भाषा प्रवद्र्धनमा स्थानीय सरकारले टेवा पु¥याउन चासो दिनुपर्ने आवश्यकता आँल्याउँदै उहाँले मातृभाषाको संरक्षणमा सबैको योगदान हुन सकेमात्र भाषा जीवित हुने बताउनुभयो । याक्थुङ् लेखक सङ्घका कोषाध्यक्ष साङ्सेन पन्धाकले पृथ्वी माविमा अध्ययन गर्ने लिम्बू विद्यार्थीको आँकडा देखेर लिम्बू भाषाको मोह बढाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर अभिभावकमाझ जानुपर्ने सुझाव
दिनुभयो । विस २०५८ देखि उक्त विद्यालयमा अनौपचारिकरुपले लिम्बू भाषाको आनीपान पाठ्यपुस्तक पठनपाठन हुँदैआएको छ । एक दशकभन्दा बढी समयसम्म स्थानीय नन्दा लिम्बूले भाषा प्रवद्र्धनमा टेवा पु¥याउन पारिश्रमिक बिना नै ऐच्छिक लिम्बू भाषाको कक्षा सञ्चालन गर्दै आउनुभएको थियो । पाठ्यपुस्तक भने दमकस्थित किरात याक्थुङ चुम्लुङले उपलव्ध गराउँदैआएको थियो ।

लिम्बू समुदायको बाहुल्य रहेको सो विद्यालयमा अहिले नौ ससभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । अंग्रेजी माध्यमबाट पठनपाठन हुँदैआएको उक्त विद्यालयमा ऐच्छिक भाषाको पढाइ थप प्रभावकारी बनाउन चासो दिनुपर्नेमा सरोकारभएका व्यक्तिले जोड दिएका छन् ।
शैक्षिक सामग्री हस्तान्तरण

किरात याक्थुङ चुम्लुङले आफनो ३४औँ स्थापना दिवसको अवसरमा दमक ७ मा रहेको पृथ्वी माध्यमिक विद्यालयमा ऐच्छिक लिम्बू भाषा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका ती विद्यार्थीको मनोवल उच्च बनाउन प्रोत्साहनस्वरुप ९० छात्रछात्रालाई कापि, कलम तथा भाषिक पाठ्यपुस्तकलगायत सामग्री वितरण गरिएको चुम्लुङ् जिल्ला अध्यक्ष सेसेहाङ् फियाकले जानकारी दिनुभयो । ती सामग्री चुम्लुङ झापा , चुम्लुङ दमक नगर शाखा र लिम्बु भाषा साहित्य प्रतिष्ठानको संयोजनमा वितरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP