रामपुरका बाख्रा पाल्ने कृषकलाई अनुदान

रामपुर (पाल्पा), २७ भदौ (रासस) ः हुमीकुमारी पाँडे मगरले गत आर्थिक वर्षमा आफूले उत्पादन गरेका खसी बोका बिक्री गरेबापत रु १९ हजार दुई सय पाँच अनुदान रकम बुझ्नुभयो । सो रकम पाउँदा उहाँलाई व्यवसायमा हौसला बढेको छ ।

पाल्पाको रम्भा गाउँपालिका–२ स्थित फोक्सिङकोट बस्ने हुमीकुमारीलाई सो अनुदान रकम उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाले प्रदान गरेको हो । उहाँले सात सय ६५ किलो खसी बोका गएको एक वर्षमा बजारमा बिक्री गर्नुभएको छ । सोबापत प्रतिकिलो रु २५ रकम अनुदान बुझ्दा उहाँ दङ्ग हुनुहुन्छ । सहकारीमा आबद्ध कृषकलाई पालिकाको सहयोगमा धेरै खसी बोका तथा स्थानीय जातका कुखुरा उत्पादन गरेर जिउँदो बिक्री गर्नेलाई उपलब्ध गराइएको छ । व्यावसायिकरुपमा लागेका कृषकलाई अनुदान रकमले राम्रो गर्छु भन्ने ऊर्जा थपिदिएको उहाँको भनाइ छ ।

“घरमा पालेका साना खसी बोकालाई हुर्काएर ठूलो बनाएर बेच्दा राम्रो मूल्य पाइने, बजारमा माग बढ्दो र मूल्य राम्रो छ, अर्कोतर्फ धेरै उत्पादन गरेबापत अनुदान रकम पाउँदा व्यवसाय बढाउने सोचमा छु, दोहोरै पैसा बुझ्न पाइने भएपछि गाउँमा घाँसपातको सुविधा राम्रै छ, माउ बाख्रा थपेर बाख्राबाट अझ धेरै कमाइ गर्नेछु”, उहाँले भन्नुभयो ।

उहाँको घरमा हाल ३० माउँ बाख्रासहित हाल ६५ बाख्रा छन् । कोही बिक्री गर्ने खालका, कोही साना–साना पाठापाठी छन् । उहाँले दसैँ तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर उत्पादन गर्नुभएको छ । हुमीकुमारीजस्ता यहाँ धेरै महिलाले आफूले उत्पादन गरेका खसी बोका, स्थानीय जातका कुखुरा उत्पादनका आधारमा अनुदान रकम पाउँदा खुसी छन् । अहिले गाउँमा कसले धेरै कुखुरा बाख्रा उत्पादन गर्ने एकापसमा प्रतिस्पर्धा छ ।

उत्पादनमा आधारित अनुदान रकम दिन थालेपछि महिलाको बाख्रा तथा कुखुरापालनमा आकर्षण बढ्दै गएको उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष गङ्गीसरा सिञ्जाली बताउनुहुन्छ । गत वर्ष दुई सय तीन कृषकमध्ये खसी बोका बिक्री गर्ने एक सय ६० र स्थानीय जातका कुखुरा बिक्री गर्ने ४३ जनालाई अनुदान वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँ भन्नुहुन्छ, “खसी बोकाका हकमा एक सय किलोभन्दा बढी र स्थानीय कुखुरा २५ किलोभन्दा माथि वर्षभरिमा जिउँदै तौलेर बिक्री गर्ने कृषकलाई अनुदान दिइएको छ, यो कार्यक्रम लागू भएपश्चात् साना साना बाख्रा तथा कुखुरा बेच्ने महिला अहिले ठूलो बनाएर मात्रै बेच्ने गर्नुहुन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार रु सात लाख २६ हजार चार सय ७५ बराबरको अनुदान रकम सहकारीले कृषकलाई उपलब्ध गराएको छ । फोक्सिङकोट गाउँबाट एक वर्षको अवधिमा २७ हजार एक सय ४१ किलो जिउँदो खसी बोका र एक हजार नौ सय १८ किलो कुखुरा बिक्री गरिएको छ ।

उत्पादनमा आधारित अनुदान वितरण कार्यविधि निर्माण गरेर तीन वर्षदेखि अनुदान दिन थालेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । उहाँका अनुसार अनुदान कार्यक्रममा सहभागी हुन इच्छुक छवटा संस्थाले पालिकासँग सम्झौता गरेको छ । जिउँदो खसी बोका तौलेर बेच्नेलाई मात्रै उत्पादनका आधारमा पालिकाबाट अनुदान दिने गरिएको छ ।

प्रतिकिलो रु ५० कृषकले पाउने र खसी बोका बिक्री गरेबापत सम्बन्धित संस्थालाई रु दुई रकम उपलब्ध गराइँदै आएको अध्यक्ष भण्डारी बताउनुहुन्छ । हाललाई तीनवटा संस्थालाई मसलन्द खर्चबापत वार्षिक रु १५÷१५ हजार रकम दिने गरिएको छ । “उत्पादनका आधारमा दुई वर्षसम्म प्रतिकिलो रु ५० अनुदान रकम कृषकलाई वितरण गरियो भने पालिकाको आन्तरिक आम्दानी कम भएकाले गत वर्षको प्रतिकिलो रु २५ उपलब्ध गराइएको छ, बाँकी रहेको रु २५ रकम तत्काल स्रोत व्यवस्थापन गरेर पालिकाले सम्बन्धित कृषकलाई उपलब्ध गराउने तयारी गरिरहेको छ”, अध्यक्ष भण्डारीले भन्नुभयो ।

बाख्रापालनमा पालिकाले उत्पादन वृद्धि गर्न र कृषकलाई व्यावसायमा निरन्तरता दिन प्रोत्साहनस्वरुप अनुदान दिने कार्यक्रम ल्याएको हो । यस्ता कार्यक्रमबाट कृषक प्रत्यक्ष लाभान्वित हुने हुदा निरन्तररुपमा पालिकाले अगाडि बढाउनुपर्ने फोक्सिङकोटका स्थानीयवासी तथा शिक्षक एवत सारुले बताउनुभयो ।

यहाँका महिलाको दैनिकी हिजोआज बाख्रापालनमा बितेको छ । सहकारीले गाउँबाटै खसी बोका, कुखुरा जिउँदो तौलेर बिक्री गरिदिने व्यवस्थाले कृषकलाई बिक्रीको झण्झट छैन । बर्सेनि ठूलो सङ्ख्यामा खसी बोका विभिन्न बजारमा निर्यात हुने गरेको छ । फोक्सिङकोट क्षेत्र बाख्रा उत्पादनका क्षेत्रका रुपमा चिनिएको छ । दुई चार पैसाका लागि अरुको निर्भर रहने महिला अहिले बाख्रापालन गरेर आफैँ स्वावलम्बी बनेका छन् ।

हेफर परियोजना नेपालले गाउँ–गाउँमा बाख्रापालनमा सहयोग गर्न थालेपछि करिब सात वर्षयता ग्रामीण भेगका महिलाले व्यवसायीकर्तालाई जोड दिँदै गएका छन् । यहाँका महिलाले व्यवसाय विस्तार गर्दै जाँदा अहिले परिवारको दरिलो आम्दानीको स्रोत नै बाख्रापालन व्यवसाय बनेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *