नवौँ राष्ट्रिय खेलकुद : खेलस्थल अझै टुङ्गो लागेन

कास्की, २७ भदौ (रासस): गण्डकी प्रदेशमा दोस्रो पटक ३९ वर्षपछि आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउन अब एक महिना समय बाँकी छ ।

प्रदेशको राजधानी पोखरासहित प्रदेशका ११ वटै जिल्लामा असोज २८ देखि कात्तिक ३ गतेसम्मको नवौँअन्तर्गतका खेल खेलाउने योजना यसअघि राष्ट्रिय खेलकुद परिषद्(राखेप)को थियो । सबै जिल्लालाई राष्ट्रिय खेलकुदको अपनत्वका लागि प्रत्येक जिल्लामा कम्तिमा एक खेल खेलाउने योजना रहे पनि खेल पूर्वाधार अभावका कारण सबै जिल्लामा खेलाउन सम्भव देखिएको छैन ।

राखेपले यही भदौ १५ गतेभित्रमा प्रतियोगिताअन्तर्गतका सबै खेलका खेलस्थल टुङ्गो लगाउने जनाएको थियो । प्रतियोगिताको मिति नजिकिँदै जाँदा समेत प्रतियोगितास्थल तय नहुँदा खेलाडी, प्रशिक्षक तथा खेल सङ्घमा अन्योलता छ । कास्की जिल्ला फेन्सिङ सङ्घका अध्यक्ष विजय शाहीले प्रतियोगिताका लागि तयारी सुरु गरे पनि खेलस्थलको टुङ्गो नलाग्दा अन्योल बनाएको बताउनुभयो । आफ्नै तरिकाले हरेक दिन साँझ पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा अभ्यास गरिए पनि प्रतियोगिता कहाँ हुन्छ भन्ने चिन्ता रहेकाले छिटो यकिन गर्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “चार/पाँच महिना पहिला फेन्सिङ खेल पर्वतमा गर्ने भन्ने थियो, ठूलो हलका लागि पार्टी प्यालेससम्म खोजी भयो, पछि पोखरा बाहिर अन्यत्र सम्भव छैन भन्ने आयो, तर अझैसम्म पनि कहाँ खेल हुन्छ भन्ने निधो नहुँदा अन्योल बनाएको छ ।” राखेपले प्रतियोगिता तयारीका लागि खेलस्थल व्यवस्थापन उपसमिति गठन गरेको छ । सो समितिले एक महिनाअघिदेखि प्रदेशका अधिकांश जिल्ला पुगेर खेल पूर्वाधारको निरीक्षण गरेको थियो । समितिले निर्धारित समयअगावै खेलस्थलको सिफारिस गरी राखेपमा पठाइसकिएको जनाएको छ ।

प्रतियोगिताको खेलस्थल टुङ्गो लागेपछि मात्र सोको स्तरोन्नति, साजसजावट, मर्मतसम्भारलगायतका काम गर्नुपर्ने हुन्छ । कतिपय पूर्वाधारका लागि मर्मतसम्भारका काम बाँकी छन् भने अन्यमा पनि सानोतिनो मर्मतका काम गर्नुपर्ने हुन्छ । राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिताको तयारीका लागि गठन गरेको खेलस्थल व्यवस्थापन समितिले ३६ वटै खेलको खेलस्थल यकिन गरी राखेप सचिवालयमा पठाइसकिएको जनाएको छ । एक/दुई दिनभित्रमै सबै खेलको आयोजनास्थल सार्वजनिक गरिने खेलस्थल व्यवस्थापन उपसमितिका सचिव कृष्ण तिमिल्सिनाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले भदौ १३ गते नै ३६ वटै खेलस्थल निश्चित गरेर पठाइसकेका थियौँ, केन्द्रबाट रोकिएको अवस्था हो, अब केही दिनमै सार्वजनिक गर्ने तयारी छ, कतिपय ठाउँमा पूर्वाधारको स्तरोन्नतिको काम पनि सुरु भएको, खेलस्थल छिटै घोषणा गछौँ ।” प्रतियोगिताका अधिकांश ‘इन्डोर’ र ‘आउटडोर’ खेल पोखरामा केन्द्रित हुने भएपछि इन्डोर खेलका लागि समय मिलाउनुपर्ने हुन्छ । धेरै खेल पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्डहलमा हुनेछन् । कभर्डहलमा पनि बत्ती, उकरण जडान, शौचालयलगायतका मर्मतका काम अहिलेदेखि नै सुरु गर्नुपर्ने हुन्छ । खेलस्थल निश्चित नहुँदा तयारीका काममा समेत ढिलाइ भएको छ ।

समितिले भने पूर्वाधार भएकै ठाउँमा मात्र सिफारिस गरिएकाले नयाँ पूर्वाधार निर्माणको आवश्यकता नरहेको र कतिपयमा मर्मत सम्भारको काम गर्नुपर्ने रहेको जनाइएको छ । प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल खेलाउने गरी यसअघि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले सिफारिस गरे पनि मनाङ, मुस्ताङ, लमजुङ र तनहुँमा खेल सञ्चालन नहुने भएको छ ।

ती जिल्लामा खेलकुद पूर्वाधार नभएको र मनाङ, मुस्ताङमा चिसो हुने भएकाले प्रतियोगिता सञ्चालन गर्न कठिनाइ हुने बताइए पनि अन्तिम निर्णय हुन बाँकी छ । लमजुङमा कराँते, तनहुँमा महिला तथा पुरुषको बास्केटबल, मनाङमा बुद्धिचाल र टेबल टेनिस मुस्ताङमा खेलाउने योजना थियो ।

पूर्वाधारकै समस्या

देशका अन्य प्रदेशको तुलनामा गण्डकीलाई खेलकुद पूर्वाधारका लागि राम्रो मानिन्छ । पोखरा रङ्गशालाभित्र धेरै खेलका पूर्वाधार रहेकाले यसलाई ‘स्पोर्टस् कम्प्लेक्स’ समेत भन्ने गरिएको छ । नवौँअन्तर्गतका कतिपय खेल खेल पूर्वाधार यहाँ नहुँदा राजधानी काठमाडौँ लैजानुपर्ने बाध्यता छ ।

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गतको पुरुष क्रिकेट अहिले राजधानी काठमाडौँमा जारी छ । नेपाल क्रिकेट सङ्घले आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म पहिलो संस्करणको ‘नेपाल टी–२० लिग’ आयोजना गरेपछि राष्ट्रिय खेलकुदको एक महिनाअगावै क्रिकेट सुरु भएको हो । विसं २०४० मा गण्डकीमा पहिलो पटक राष्ट्रिय खेलकुद हुँदासमेत क्रिकेट पोखरामै आयोजना गरिएको थियो तर अहिले पूर्वाधार नभएकै कारण प्रतियोगिता काठमाडौँमा गर्नुपर्ने बाध्यता छ ।

क्रिकेटका लागि पोखरामा अभ्यासस्थल भए पनि दुई ‘म्याच ग्राउण्ड’को अभावकै कारण बाहिर गर्नुपर्ने बाध्यता भएको बताइन्छ । पोखरा रङ्गशालाभित्र प्रतियोगिता सञ्चालनका लागि एकमात्र क्रिकेट मैदान भए पनि अर्को वैकिल्पक मैदान छैन ।

बर्सेनि बजेट छुटिन्छ, काम हुँदैन

पोखरामा नवौँका लागि भनेर क्रिकेट मैदान, स्वीमिङ पुल र सुटिङका लागि सरकारबाट बजेट विनियोजन नभएको पनि होइन । बर्सेनि ती शीर्षकमा बजेट छुटिन्छ तर कार्यान्वयन नहुँदा फ्रिज हुने गरेको छ । पोखरा रङ्गशालाभित्र पौडी पोखरी, सुटिङ र क्रिकेटका लागि पूर्वाधार बनाउन जमिनसमेत व्यवस्था गरिएको छ तर कार्यान्वयनको चरणमा जान सकेन । बजेट व्यवस्था हुँदासमेत काम नहुनुमा खेल सङ्घ तथा खेल पदाधिकारीसमेत जिम्मेवार रहेको बताइन्छ ।

सरकारले बजेट विनियोजन गरेपछि सम्बन्धित खेल सङ्घले कामलाई अघि बढाउन अग्रसरता लिनुपर्ने पोखराका अग्रज खेलपत्रकार सुदर्शन रञ्जित बताउनुहुन्छ । नवौँका लागि भनेर अहिलेसम्म पोखरामा कुनै पनि खेल पूर्वाधार थप नभएको जनाउँदै उहाँले खेल पूर्वाधारको बजेट बर्सेनि फिर्ता जानु चिन्ताजनक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पोखरामा तय भएका खेल पूर्वाधार नभएकै कारण बाहिर जानुले खेलकुदलाई माया गर्नेलाई चिन्तित बनाएको छ । बजेट विनियोजित भएका खेलका समेत पूर्वाधार नबन्नुमा सरकारलाई मात्र दोष दिएर हुँदैन, खेल सङ्घ र खेलकुद पदाधिकारीले जिम्मेवारी लिनुपर्दछ, विनियोजित बजेटबाट काम सुरुनै नगरीकन कसरी थप बजेट आउँछ ?”

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, प्रदेश खेलकुद परिषद्लगायतका खेलकुदका सरकारी निकायले पनि अग्रसरता लिनुपर्ने खेलकर्मीको भनाइ छ । नवौँमा पूर्वाधार नभएकाले सुटिङ खेल राजधानीमा खेलाउने तयारी गरिएको छ । यसैगरी स्वीमिङ भने पोखरामै होटलमा सञ्चालनको योजना छ ।

आठौँ राष्ट्रिय खेलकुदमा पनि होटलको पौडी पोखरीमा प्रतियोगिता सञ्चालन गरिएको थियो । पोखरामा पूर्वाधार नभएका खेल काठमाडौँमा खेलाउने योजना रहे पनि यहाँका खेल पदाधिकारी तथा खेलाडी सबै खेल गण्डकीमै हुनुपर्ने पक्षमा छन् । “राष्ट्रिय खेलकुदका लागि मुख्य गरी स्वीमिङ र सुटिङको पूर्वाधार हामीसँग छैन, पूर्वाधार नभएका खेल कहाँ खेलाउने भन्ने अन्योल भए पनि यसलाई हामी व्यवस्थापन गर्छौं”, खेलस्थल व्यवस्थापन उपसमिति संयोजक राजेश गुरुङले भन्नुभयो ।

स्वीमिङलगायतका खेल पूर्वाधार निर्माणका लागि यसअघि समय रहे पनि आवश्यक बजेटको सुनिश्तिता नहुँदा काम सुरु नभएको प्रदेश खेलकुद विकास समितिले जनाएको छ । पोखरा रङ्गशालाभित्र स्वीमिङ र सुटिङका लागि यसअघिका दुई आर्थिक वर्षमा लगातार बजेट विनियोजन गरिए पनि सो पर्याप्त नभएको र थप बजेटका लागि स्रोत सुनिश्चित नहुँदा बोलपत्र आह्वानलगायतका काम नभएको समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताउनुभयो ।

‘हिटिङ स्वीमिङ पुल’का निर्माण गर्न रु ३५ करोड हाराहारीमा लागत अनुमान तयार गरिएको छ । यसका लागि सरकारले अघिल्लो वर्ष रु पाँच करोड छुट्टाएको थियो । योगीले भन्नुभयो, “विनियोजित बजेट अपर्याप्त रह्यो र थप स्रोतको सुनिश्तिता नहुँदा बोलपत्र आह्वानलगायतका काम अघि बढाउन सकिएन ।”

खेल सामग्रीको अभाव

नवौँका लागि जिल्लास्तरीय छनोटबाट प्रदेश प्रतियोगिताका लागि खेलाडी छनोट भए । गण्डकी प्रदेश खेलकुद परिषदले यही भदौ १६ देखि १८ गतेसम्म प्रादेशिक खेलकुद प्रतियोगिता आयोजना गरी खेलाडी छनोट गरेको छ ।

यद्यपि अझै पनि प्याराग्लाइडिङ, ट्रायथोलनलगायतका खेलका खेलाडी छनोट बाँकी छ । राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको समय तालिका अनुसार भदौ २५ भित्रमा सम्बन्धित टोलीले खेलाडी दर्ता गर्नुपर्ने हुन्छ तर गण्डकीमा अझै खेलाडी छनोट बाँकी छ । प्रदेश खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगितामा समेत खेलाडी आधारभूत खेल सामग्रीबाट नै बञ्चित हुनुपर्ने अवस्था आएको थियो । ह्याण्डबललगायतका केही खेलको प्रतिस्पर्धामा एउटै टिमका खेलाडीसमेत फरक/फरक रङ्गको जर्सी लगाएर मैदानमा उत्रिनुपर्ने बाध्यतामा थिए ।

ह्याण्डबलका खेलाडी विशाल नेपालीले खेलाडीलाई आधारभूततस्तरको पनि खेल सामग्री नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “प्रादेशिक छनोटजस्तो महत्वपूर्ण खेल खेल्दासमेत एउटा जर्सी पनि पाइएन, पुरानो लगाएर खेल्न बाध्य बन्यौँ, यसरी हाम्रो मनोबल कसरी बढ्छ ?” खेल सामग्री अभावकै कारण एथलेटिक्सका छ इभेण्टको भने प्रतिस्पर्धा भएन । सुटिङमा समेत प्रतियोगिताबिना नै खेलाडी छनोट गरिएका छ ।

आवश्यक सामानको अभाव नहँुदा एथलेटिक्सको ‘हर्डल्स’ तर्फको प्रतिस्पर्धा बिनै खेलाडी छनोट गर्नुपरेको एथलेटिक्स सङ्घका केन्द्रीय सदस्य एवं प्रशिक्षक गज गुरुङले बताउनुभयो । उहाँका अनुसार सुरुआतमा सीमित खेलाडी कोटाका कारण समस्या आए पनि त्यसलाई समाधान गरिएको छ । नवौँका लागि एथलेटिक्सका पुरुष २० र महिला १८ खेलाडी छनोट भएका छन् । उहाँले भन्नुभयो, “खेल सामग्री अभावमै पूरै इभेन्ट गर्न पनि सकिएन, म्याराथनको इभेण्ट समेत खेल सामग्री नभएकाले म्याराथन १० किमी हेरेर खेलाडी छान्नुपर्ने अवस्था आयो ।”

फेन्सिङका लागि पनि खेल सामग्री अभाव छ । फेन्सिङ ठूलो हलमा खेलिन्छ । यसमा इलेक्ट्रिक स्कोरिङ हुने भएकाले खेल अवधिभर ठूलो बत्तीको प्रबन्ध हुनुपर्दछ तर अहिले अभ्यास गरेको हलमा बत्तीको समेत प्रबन्ध नभएको फेन्सिङ सङ्घका अध्यक्ष शाहीको गुनासो छ । उहाँका अनुसार फेन्सिङको खेल सामग्री नेपालमा पाइँदैन । विदेशबाट मगाउनुपर्ने हुन्छ तर अहिलेसम्म बजेटको उपलब्ध नभएको शाहीले गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “अभ्यासका लागि हलबाहेक अहिले हामीले सुविधाका नाममा केही पनि पाएका छैनौँ, खेलाडी खेल्दै गर्दा घाइते हुँदासमेत रङगशालाभित्र प्राथमिक उपचार नपाउने अवस्था छ, आधारभूत आवश्यकताका लागि एक जना खेलाडीलाई रु ३० हजारको खेल सामग्री चाहिन्छ, फेन्सिङका सामग्री नेपालमा किन्न पनि पाइँदैन ।”

विगतमा ठूला प्रतियोगिता हुँदा राखेपले विदेशबाट किनेर ल्याएर खेल सङ्घलाई दिने गरे पनि अहिले प्राप्त भएको छैन । तरबार(सोड), इलेक्ट्रिक डिभाइस जडित ज्याकेट, पञ्जा, हेलमेट, चेस प्रोटेक्टरलगायतका खेल सामग्रीका लागि रु सात लाख बजेट माग गरिए पनि रु ६० हजार मात्र उपलब्ध हुने जवाफ पाएपछि निरास बन्नुपरेको शाहीले गुनासो गर्नुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *